+
+

अनुवाद साहित्य : आवरण छ, आत्मा छैन

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ मंसिर १८ गते ७:५८
अनुवाद गरिएका केही साहित्यिक कृतिहरू ।

१८ मंसिर, काठमाडौं । आफ्नो पुस्तक पुनः प्रकाशन भएकोमा खुसी साटिरहेका छन् खगेन्द्र संग्रौला । वर्षमा दुईदेखि तीनवटा पुस्तक प्रकाशित हुने अति व्यस्त यी लेखक पुनः प्रकाशनमै रमाउने मानिस होइनन्, तर यसपटक सन्दर्भ फरक छ ।

अनुवाद कर्म थालेको ५० वर्ष पुगेको अवसरमा संग्रौलाको ‘अजम्मरी गाउँ’ पुनः प्रकाशन भएको छ । पचास वर्षअघि साथीको रोलेक्स घडी बेचेर यो पुस्तक छपाएयता संग्रौलाको अनुवादमा कथा, उपन्यास, मार्क्सवादी दर्शनका तीन दर्जन नामी पुस्तक प्रकाशन भइसकेको छ ।

‘सबै अनुवाद पैसाको लागि गरेको होइन’ ७६ वर्षीय संग्रौला भन्छन् ‘आफ्नो चित्तले खाएको, विचार मिलेको पुस्तक अरूलाई पनि पठनीय हुन्छ भन्ने विश्वासले अनुवाद गर्ने गर्छु । त्यसैको पारिश्रमिकले दालभात पनि जोहो गर्छु ।’

रिप्रिन्ट भएको ‘अजम्मरी गाउँ’ सार्वजनिक गर्दै खगेन्द्र संग्रौला र उनका साथीहरू ।

संग्रौलाको अजम्मरी गाउँमात्र होइन अहिले बजारमा प्रत्येक दिनजसो नयाँनयाँ अनुवाद–पुस्तक प्रकाशन भइरहेका हुन्छन् । यो महिना नेपाली बजारमा बौद्धगुरु योङ्गे मिङ्ग्युर रिन्पोछेको ‘जिउनुको मज्जा’, चर्चित चिनियाँ उपन्यास ‘सिनचियाङ बुढो’देखि पाउलो कोहेलोको ‘हिप्पी’ चर्चामा छ ।

एकपछि अर्को अनुवाद पुस्तक आइरहे पनि नेपाली अनुवाद सपाट र एकैखालको रहेको बताउँछन्, लेखक÷प्रकाशक अजित बराल । गत साता अन्तरवार्ताका क्रममा ‘पेसेवर भनिएका अनुवादकै कलम टिठलाग्दो’ रहेको टिप्पणी गरेका बराल आफैंले दार्जिलिङे लेखक छुदेन काविमोको उपन्यास ‘फातसुङ’को अंग्रेजी अनुवाद गरेका छन् ।

उनको अनुभव अनुसार स्तरीय अनुवादका लागि एकजनाले अनुवाद गर्ने र दोस्रो व्यक्तिले सम्पादन गर्ने काम गर्नुपर्छ । साथै दुवै भाषामा दखल भएको तेस्रो व्यक्तिले त्यसलाई रुजु गर्नुपर्छ  ।

‘एकै अनुवादमा तीन व्यक्तिलाई खटाउँदा निकै ठूलो आर्थिक लगानी हुन्छ’ बराल भन्छन्, ‘नेपाली प्रकाशकले अनुवादकै लागि त्यति लगानी गर्न सक्छन्–सक्दैनन् भन्ने कुरा उठ्छ । गहकिलो अनुवाद प्रकाशन गर्न नसक्नुको मुख्य कारण यो पनि हो ।’

जनता प्रकाशनका अशेष घिमिरे पनि नेपाली बजारमा प्रकाशित हुने अनुवाद स्तरहीन रहेको बताउँछन् । मार्क्सवादी साहित्य र दर्शनका अनुवाद पुस्तकलाई जनताले बढी प्राथमिकता राखेको छ ।

घिमिरे भन्छन्, ‘विदेशमा चर्चित भएका पुस्तकको नेपाली अनुवाद एकै व्यक्तिको नाममा रातारात छापिन्छ । एकै व्यक्तिले सयौं पुस्तकको अनुवाद कसरी गर्न सक्छ ? यो पाठक र साहित्यमाथि आपराधिक आक्रमण हो ।’

आत्मा मरेको अनुवाद

अनुभवी अनुवादकका रुपमा चिनिएका ‘हिमाल बुक्स’का वसन्त थापा नेपाली साहित्यको अनुवाद पर्याप्त संख्यामा हुन नसकेको बताउँछन् । एकाध कृतिको अनुवाद गर्दैमा नेपाली साहित्य विश्वस्तरमा पुग्न नसक्ने उनको धारणा छ ।

साथै कसैले चाहना गर्दैमा सिपालु अनुवादकको उत्पादन गर्न नसकिने बताउने थापा उत्कृष्ट अनुवादक जन्माउन प्रशस्त लगानी गर्नुपर्ने बताउँछन् ।

‘एउटा उत्कृष्ट अनुवादक जन्माउनको लागि तालिम र लगानी दुवै चाहिन्छ’ चार दशकदेखि अनुवादकर्ममा सक्रिय थापा भन्छन्, ‘निजी क्षेत्रले नाफालाई ध्यानमा राख्ने भएकाले यसो गरिरहन सक्दैन । राज्यले पनि अनुवादको महत्त्व नबुझ्दा लगानी गर्न सकेको छैन । जसले गर्दा नेपाली साहित्यको अनुवाद रुचि हुनेहरूको कर्मले चलेको छ ।’

लेखनभन्दा अनुवादलाई निकै जटिल कर्म मान्ने थापा अनुवाद गर्दा भाषान्तरमात्र नभई भाव र विचारको पनि अनुवाद गरिनुपर्नेमा जोड दिन्छन् ।

कवि विप्लव प्रतीक पनि एक भाषाबाट अर्को भाषामा अनुवाद गर्दा लेखकले अभिव्यक्त गरेको कुराको ‘आत्मा’ मर्नु नहुने बताउँछन् । आफैं पनि अंग्रेजी–नेपाली, नेपाली–अंग्रेजी अनुवादमा सक्रिय प्रतीक भन्छन्, ‘लेखकले भन्न खोजेकै शैलीमा अनुवादकले अनुवाद गर्न सक्नुपर्छ । अनि लेखकले भन्न खाजेकै भाव र लवज अनुवाद गरेको भाषामा पनि प्रष्ट देखिनुपर्छ ।’

प्रतीकका कविता अंग्रेजी, फ्रेन्च, स्पेनिसमा अनुवाद भएका छन् । उनीसँग आफ्नो कविता अंग्रेजी अनुवाद गर्दा टर्कीका अनुवाद एवं सम्पादकसँग तीन महिनासम्म भिडियो कल गरेर कुराकानी गरेपछिमात्रै अनुवाद पूरा भएको अनुभव छ । अनुवादकले मूल लेखकको शैलीसँग परिचित हुनुपर्नेमा प्रतीक जोड दिन्छन् ।

यो त भयो अनुवादक र प्रकाशकको कुरा । तर बजारको अवस्था उनीहरूले भनेभन्दा निकै उराठलाग्दो छ । बागबजार, रत्नपार्क, नयाँसडकको किनारामा विश्वचर्चित व्यक्तिहरूको जीवनी छ्यापछ्याप्ती पाइन्छन् । अब्राहम लिंकन, विस्टन चर्चिलको जीवनी, गान्धीको जीवनकथा, धनी कसरी बन्ने, सेयर बजारका राजा नाम गरेका पुस्तकहरूको बाढी नेपाली बजारमा छ ।

कतिसम्म भने अनुवाद गरिएको पुस्तकको बीसौं पृष्ठ अनुवाद नगरीकन बजारमा  पठाइएको पाइन्छ ।  तीमध्ये अधिकांश पुस्तकमा अनुवादको नाम एउटै पाइन्छ ।

पाँचपोखरी प्रकाशन गृहले अनुवाद गरेका पुस्तकको सूची

सुस्त सरकारी काम

नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यिक कृतिहरूको अनुवादका लागि अलग्गै विभाग खडा गरेको छ । विभागको काम नेपालीबाट अंग्रेजी, अंग्रेजी–नेपाली, हिन्दी–नेपाली, नेपालीबाट हिन्दी, अवधी, मैथिली, भोजपुरी, नेवारीलगायत भाषामा अनुवाद गराउनु हो ।

उषा ठाकुर विभाग प्रमुख रहेपनि यसको काम सरकारी निकायको काम झारा टराई भनेजस्तै भएको छ । एकाध नेपाली–हिन्दी अनुवादबाहेक प्रतिष्ठानले अन्य अनुवाद कर्म गर्न सकेको छैन ।

स्थापनाको पहिलो दशकमा विश्वप्रसिद्ध साहित्य र दर्शनशास्त्रका पुस्तकहरू  अनुवाद गराई प्रतिष्ठानले प्रकाशित गरेको थियो । ती पुस्तकको बाँकी कपि प्रज्ञाकै स्टोरमा थन्किएका छन् वा ती नाशिसकेको छ त्यसको तथ्यांक प्रज्ञासँग छैन ।

केही वर्षअघि एक युवा लेखकले विश्वप्रसिद्ध दार्शनिक जिनज्याक रुसोको ‘कन्फेसन’को नेपाली अनुवाद प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको जानकारी पाएपछि त्यहाँ गएर फोटोकपी गर्न लगाएर लिएका थिए ।

प्रज्ञाले पुराना अनुवाद पुस्तकहरू पुनः प्रकाशित गरेको छैन । यता नेपाली भाषानुवाद परिषद्को उत्तराधिकारी मान्ने साझा प्रकाशनले पनि राणा शासनताका नै अनुवाद गरिएका विश्व साहित्यका पुस्तक रि–प्रिन्ट गरेको छैन ।  तत्कालीन समयमा लक्ष्मीप्रसाद देवकोटा, पुष्करशमशेर, बालकृष्ण सम, नयराज पन्त लगायतले अनुवाद गरेका विश्वसाहित्यका पुस्तक अहिले अप्राप्य छ ।

प्रज्ञाजस्तै साझा प्रकाशन पनि अनुवाद गराउने र पुनः प्रकाशन गर्ने काममा निष्क्रिय छ ।

केके अनुवाद भए नेपालीबाट ?

नेपाली भाषाबाट अंग्रेजी, हिन्दी, रुसी, जापानीमा बढी अनुवाद भएको पाइन्छ । चर्चित उपन्यास ‘शिरिषको फूल’देखि इन्द्रबहादुर राईको उपन्यास ‘आज रमिता छ’ अंग्रेजीमा प्रकाशित भएको छ ।

भर्खरैमात्र २५ जना नेपाली कथाको अंग्रेजी अनुवाद ‘खेम हरिकला लामिछाने प्रतिष्ठान’बाट प्रकाशित छ ।  यसमा गुरुप्रसाद मैनालीदेखि अहिलेका कथाकारको कथा समेटिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको उपन्यास ‘चम्पा’लाई धु्रवलाल सहनीले हिन्दीमा अनुवाद गरेका छन् । यस्तै तुलसी दिवस, विमल निभा, दिनेश अधिकारी, सुमन पोखरेलगायत नेपाली कविका कविता हिन्दीमा अनुवाद भएका छन् ।

भूपी शेरचनको कविता र जीवनी माइकल हटले अंग्रेजीमा अनुवाद गरेका छन् । उनै हटले बुद्धिसागरको चर्चित उपन्यास ‘कर्णाली ब्लुज’ भर्खरै अनुवाद सकेर प्रेसमा पठाएका छन् । रुसी साहित्यलाई नेपालीकरण गर्न महत्त्वपूर्ण योगदान गरेका कृष्णप्रसाद श्रेष्ठले नेपाली प्रगतिवादी कथा, कवितालाई रुसी भाषामा पनि अनुवाद गरेका छन् ।

यता फुटकर कविता, कथा, लेखहरू पुस्तकभन्दा बढी भएको पाइन्छ । विराटनगर निवासी कवि सुमन पोखरेलले नेपाली कविता अनुवादमा सक्रियता देखाएका छन् । हिन्दी र अंग्रजीमा दखल राख्ने पोखरेलले चर्चित वेभपोर्टल ‘कविताकोश’मा दर्जनौं नेपाली कविताको हिन्दी अनुवाद गरेका छन् ।

कति कमाउँछन् अनुवादकले !

सामान्यतया गैरसरकारी संस्थाको अनुवाद शब्दको वा पानाको (पेज) हिसाबले हुने गर्छ । तर साहित्यको अनुवाद सिंगो पुस्तकको हिसाबमा गर्ने चलन छ ।

अग्रज अनुवाद संग्रौलाकै भनाइ सापटी लिने हो भने पछिल्लो एक दशकयता मात्र अनुवाद कर्मबाट आर्थिक उपार्जन हुन सक्ने अवस्था बनेको छ । अहिले एउटा अनुवाद पुस्तकको दुईदेखि पाँचलाख रुपैयाँसम्म लिने गरेको संग्रौलाले बताउँछन् ।

उनको भनाइमा प्रकाशकहरूको पनि मत मिल्छ । गहकिलो अनुवादको लागि नेपाली प्रकाशकहरूले लाखभन्दा बढी नै पारिश्रमिक दिने गरेको पाइन्छ ।

युवा लेखक सुरेस बडाल भने अनुवाद कर्मबाट सामान्य दालभातको जाहो गर्न सकिने बताउँछन् । ‘सक्रियतापूर्वक अनुवाद कर्ममा लाग्दा भान्सा जोहो हुने अवस्था आएको छ’ उनले भने ।

 

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment