+
+
फ्ल्यासब्याक :

गुड बाई साथी !

विवेक विवश रेग्मी विवेक विवश रेग्मी
२०७८ मंसिर १८ गते ११:२९

दुई वर्षअघि । ओखलढुङ्गा हुँदै सोलुखुम्बुको सल्लेरी, त्यहाँबाट खोटाङको हलेसीसम्मको यात्रा तय भइसकेको थियो । तर, दिक्तेल जानेचाहिँ योजना बनिसकेको थिएन ।

यात्राको सारथी थियो– को २० प ३५८५ । सँगै थिए भरत दहाल पनि । उदयपुरको घुर्मीमा भेट्ने योजना थियो, सुरेश सुवेदी र सन्तोष ढुंगेलसँग । एक साताको यात्राका लागि तयार भइसकेको थिएँ, घरबाट निस्किन । मनमा उमङ्गको बहार थियो । यता मोटरसाइकलमै यात्रा गर्ने भइसकेपछि त्यसको मर्मतसम्भारमा केही दिनअघि नै जुटेँ ।

इटहरीबाट हिँडियो । छ घण्टाभन्दा लामो यात्रापछि उदयपुरको घुर्मी पुगियो । उदयपुर र ओखलढुङ्गाको सीमाना हर्कपुरमा चिया पियौं । घरबाट दुईजना निस्किएका हामी त्यहाँ पुग्दा चारजना भइसकेका थियौं । हामीलाई सुरेश दाइ र सन्तोष दाइले पर्खिरहनुभएको थियो ।

हर्कपुरमा पहिलोपटक चियामात्र पिइएन । जीवनमा पहिलोपटक ओखलढुङ्गा पनि टेकियो र सेल्फी खिचियो ।

घाँटीमा प्यास छ, माथितिर भीर छ, तल बगिरहेको छ, सुनकोसी । फोनमा ‘टावर’ आउने कुरै भएन, मान्छेहरूको आवाज सुन्ने सुरै थिएन ।

त्यस साँझ ओखलढुङ्गा बजारमै बास बस्ने योजनाअनुरूप हामी यात्रामा थियौँ । बाटाका यात्रामा कति–कतिखेर सम्झिन्थेँ, सपनाको गाउँ, सपनाको संसार पनि । राति अबेला ओखलढुङ्गामा बास बस्न पुगेका थियौँ । थकित ज्यान कतिबेला निदायो, पत्तै भएन ।

भोलिपल्ट । रुम्जाटार, ज्यामिरे लगायतका स्थानमा मोटरसाइकलले घुमायो, एकफेर । यो नाथे मोटरसाइकल आफैं नघुमेको ठाउँमा पनि मलाई घुमाइरहेको थियो । म थाक्थें तर ऊ मलाई बोकेर हिँड्दा पनि थाक्दैनथ्यो ।

त्यसो त ओखलढुङ्गा निकै सृजनात्मक भूमि हो । सिद्धिचरण श्रेष्ठदेखि ब्याकुल माइलासम्मलाई जन्म दिने यो ठाउँ अति प्रिय छ, मेरा लागि ।

दुई रात ओखलढुङ्गामा बास बसिसकेपछि अर्कोदिन सोलुको सल्लेरीसम्मको यात्रा थियो । सल्लेरीमा दिनभरको घुमफिरपछि साँझ ओखलढुङ्गा नै झर्ने योजना थियो । एकटक हिमाललाई आँखामा कैद गरेपछि त्यहाँबाट फिर्ने योजना थियो ।

साँझमा सल्लेरीबाट हिड्यौं । मोटरसाइकलको हेडलाइट बिग्रिएका कारण बत्ती आकाशतिर बलिरहेको थियो । धन्न सुरेश दाइले ‘ड्राइभ’ गर्नुभएका कारण मन विचलित बनेको थिएन । ‘इन्डिकेटर’को भरमा मोटरसाइकल कुदिरहेको थियो, २० को स्पीडमा । बाक्लो हुस्सु र ठूला गाडीहरू छेउबाटै कुदेको बेला मन झसङ्ग हुन्थ्यो । निकैबेरको यात्रापछि हामी ओखलढुङ्गा आइपुग्यौं ।

तेस्रो रात पनि उही ठाउँ, उही परिवेशमा बितेपछि हाम्रो अर्कोदिनको यात्रा थियो, खोटाङको हलेसीतर्फ । नेपालकै प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित यस ठाउँमा पुग्नका लागि दूधकोशीको शिर हुँदै जानुपथ्र्यो ।

केहीबेरको यात्रापछि दूधकोशीमा डुबुल्की मार्यौं, भरतजी र मैले । हलेसी दर्शन गर्न जाने भनेपछि त्यसैपनि मन प्रफुल्लित थियो । हामी एकफेर दूधकोशीमा डुबुल्की मारेपछि हलेसीतर्फ लागिसकेका थियौं ।

बाटामा भेटिएका बुढा घरहरूले हामीलाई भनिरहेका हुँदा हुन्– ‘कहाँकहाँ पुग्छन् होला यही बाटो भएर जानेहरू ? हामी त सधैंसधैं यहीँ छौं, जहाँको तहीँ ।’ यी अनुत्तरित प्रश्नको प्रवाह नगरी हामी निरन्तर यात्रामै थियौँ ।

हलेसी पुगेपछि केहीबेरको मन्दिर दर्शन, घुमघामपछि हामी दिक्तेलतर्फ जाने तयारीमा थियौँ । हलेसी भन्नेबित्तिकै मुखले बदाम माग्छ । सानो छँदै आमा मावल जाँदा हलेसीबाट ल्याएको भनेर कोसेलीस्वरूप घर ल्याउनुहुन्थ्यो । लुकाईलुकाई मलाई दिनुहुन्थ्यो, मैले नै धेरै खान पाउँथे । अहो ! एकफेर बाल्यकाल पनि सम्झिएर वातानुकूलित भएँ ।

केहीबेरमा किबी र बदामको स्वाद चाखेपछि हामी दिक्तेलतर्फ लाग्यौँ ।

दिक्तेल जाँदा बाटामा रमाइला दृश्यहरू आँखा र क्यामेरामा कैद गर्यौं । नूनथला भन्ने ठाउँमा पुगेपछि त्यहाँको मीठो दूधचिउरा खायौँ । नूनथला पुगेपछि त्यहाँको दूधचिउरा र पोलेको आलु नचाख्ने बिरलै होलान् ।

साँझमा दिक्तेलको बसाई रोचक भयो । यहीँबाट मावल खोटाङ बजार देखिन्थ्यो ।

भोलिपल्ट । प्रख्यात कवि जसराज किराँतीको गाउँ बुईपा हुँदै खोटाङ बजारको यात्रा तय गरेका थियौँ । अब हाम्रो यात्राबाट सुरेश र सन्तोष दाइ छुटिसक्नुभएको थियो ।

बुईपामा आएर एकफेर कवि देवान किराँतीलाई फोन गरेँ । देवान उनै जसराज किराँतीका सुपुत्र पनि हुन् । हामीले इटहरीतिर वंशज कविका रूपमा पनि चिन्ने गर्दै आएका छौँ ।

बुईपामा खाजा खाएपछि रेग्मीटार, रसुवा हुँदै खोटाङ बजारको यात्रा सुरूआत भइसकेको थियो । बीचमा धूलोले स्वागत गरिरहन्थ्यो, बेलाबेला । निकैबेरको यात्रापछि रसुवा पुगिसकेका थियौँ । रसुवामा केहीबेरको थकान मेटेपछि हामी आफ्नो गन्तव्यतिर मोडियौँ ।

करीब एक किलोमिटर यात्रा नगर्दै, मोटरसाइकल गुड्न छाड्यो । मलाई लाग्यो–पक्का पनि ‘क्लोज प्लेट’ उड्यो । न फोनमा ‘टावर’ छ । अहो ! कहिलेकाहीँ कस्तो संकटमा परिन्छ । दूरबाट एउटा बस आउँदै गरेको देखेँ । भरत जी लाई मोटरसाइकल यहीँ राखेर बसको यात्रा गरौँ भनेँ, उनले सहजै स्वीकार गरे । एउटा बूढो घरमा हेल्मेट राखेर हामी मावलतर्फका लागि बस चढ्यौँ ।

भोलिपल्ट ।

मावलबाट सोही बसमा रसुवासम्म आउने कार्यक्रम थियो । बस ड्राइभर भरत नै नाम गरेका दाइले धन्न ‘स्टार्ट’ गरिदिएका कारण ओरालो बाटो गुडाउँदै रसुवासम्म झारेँ । रसुवामा बनाइसकेपछि हामी गाइघाटतर्फ हिड्यौँ ।

त्यही साँझ घर पुग्ने योजना सफल हुँदैथियो । तर, योजना क्षणभरमै रित्तियो, आँखैअगाडि । केहीबेरको यात्रामै पुनः मोटरसाइकल बिग्रियो ।

मध्यदिउँसोको समय ।

घाँटीमा प्यास छ, माथितिर भीर छ, तल बगिरहेको छ, सुनकोसी । फोनमा ‘टावर’ आउने कुरै भएन, मान्छेहरूको आवाज सुन्ने सुरै थिएन । घरीघरी चराहरू चीरबीर गर्दै उडिरहेपछि बाँचेको अनुभूत हुन्थ्यो । कुनै उपाय नलागेपछि बसको हुटमा मोटरसाइकल चढाएर गाइघाट जानका लागि पनि बस कुरेको पाँच घण्टा बितिसक्यो । एकैठाउँमा पाँच घण्टाको पर्खाइ साह्रै अत्यासलाग्दो थियो ।

कहिलेकाहीँ आफैँलाई थाहा नभएजसरी पनि बाँचेको अभिनय गर्नुपर्ने रहेछ । म अहिले यसैगरी बाँचेको अभिनय गरिरहेको थिएँ र बाँच्ने अभ्यास गरिरहेको थिएँ । आँखैअगाडि नदी बग्दा पनि प्यास मेट्न सकिरहेको छैन । यसरी बाँच्नुको जिन्दगी पनि बेतमासको हुने । यसैबेला त हो, मोबाइलको मेमोमा ‘बाटो’ कवितालाई उनेको पनि ।

आँखाको डिल हुँदै सुनकोसी बगिरहेको छ

घाँटीमा प्यास पनि

यो भीरले प्यास मेटुन्जेल

पानी पिउन दिएको छैन

यदि म त्यही भीरजस्तै बनिदिएको भए

तिमी आज कुन बाटो हिड्थ्यौ ?

(बाटो)

साँझमा उनै बस ड्राइभर भरत दाइ गाइघाट हिँडेका रहेछन्, हामी पर्खिरहेको ठाउँमा भेट भयो । त्यसबेलासम्म गाडी नपाएपछि उनले नेपाल टेलिकमको नम्बरबाट फोन गरे र गाडीबारे बुझे । पाँच बजे रसुवाबाट गाडी आउनेरहेछ । उनैले गाडी भनिदिए र गाडीले हुटमा मोटरसाइकल चढाउन मान्ने भयो ।

हजारौँ पटक मलाई बोकेर हिँडेको साथीलाई मैले यसपटक पहिलोचोटी बोक्दैथिएँ । सबैभन्दा बेस्सरी दुख्यो मन, मन दुखेपछि आँसुहरू बेतमास बगिहाल्ने रहेछ । आँसु बग्नका लागि त मन दुख्नुपर्नेरहेछ । नजानेझैँ, मैले यसरी मन दुखेको सम्झिएँ । साथी भरतका पनि आँखा बिझाएको देखेँ, झन् सम्हाल्न नसक्नु भयो । सोचेँ – मन दुखेको त अभियन गर्न नजानिने रहेछ ।

त्यस साँझ मोटरसाइकल बसको हुटमा राखेर हामी बसको यात्रामा गाइघाटतर्फ मोडियौँ । र, पछाडि फर्किएर एकफेर धीत मरून्जेल हेरेँ, भीरलाई । जसले प्यास मेट्ने पानी समेत दिन सकेन ।

सबै यात्रालाई शब्दमा कहाँ उन्न सकिन्छ र ? सबै यात्रा विशेष कहाँ हुन्छन् र ? तर, धेरै यात्रा भन्दा, यो यात्रा मेरा लागि खास थियो । बसबाहिर उदास थियो, साँझ । एउटा उदास साँझसँगैको यात्रामा उडिरहेको थियो हुरी, कहाँकहाँ पुगौँजसरी ।

मोटरसाइकलसँगको सेन्टिमेन्ट भुलिनसक्नुको छ, मेरा लागि ।

आज अन्तिम पटक मोटरसाइकल धोएँ, अन्तिमपटक सुम्सुम्याएँ र मोबाइलमा एउटा फोटो खिचेर, सम्झनाका लागि राखेँ । अब त सधैंसधैंका लागि साथी मबाट बिदा भएको छ ।

धन्न ! आज मेरो साथी बेचेँ र लेख्न पाएँ छुटिगएको एउटा समय । गुड बाइ प्रिय साथी ।

(इटहरी, २०२१)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?