+
+
कथा: :

बतहैनी 

रोगीलाई औषधिभन्दा विश्वास, साथी, साहारा, स्नेह, मनोबल बलियो बनाउने र साहारा दिने साथीको आवश्यकता हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते १७:०३

उज्यालो खोज्न निस्केको जिन्दगी अँध्यारोमा अल्झिएपछि ओहो ! विवशतावश कसैलाई आँखा चिम्लेर विश्वास गर्दा विना तर्क उसैको हुन खोज्नु र सपनाको राजकुमार बनाउन खोज्नु उज्यालो जीवनको कल्पना गर्नु त हो तर इच्छाएको सबै कुरा पूरा हुँदैन भन्ने भ्रम मनबाट कतै पर ओरालो लागेको अनुमान हुँदैन ।

किनकि ऊ त विनाभ्रम सुन्दर जीवनको सपना देखेको हुन्छ । सबै चाहना पूरा गर्ने इच्छा राखेको हुन्छ । फेरि हठात् ! किन जीवन समस्याको भूमरीमा फस्छ  ?  अस्पतालमा मेरो टेबल अगाडि बिरामीलाई बस्नका लागि लगाइएको मेचमा ऊ बसी । उसलाई केही सोध्नुभन्दा अगाडि मेरो अगाडि राखिएको परिचय कार्डमा नाम पढेँ, बिरामीको नाम लेखिएको थियो पचिया देवी थारु । ऊ तिर हेरेँ । उसको कपाल जिङरिङ्ग, अनुहार सुख्खा थियो । उसको जिउबाट धेरै दिनदेखि ननुहाएको अमिलो, टर्रो गन्ध आइरहेको थियो । सबै कुरालाई सामान्य मान्दै मैले उसलाई सोधेँ, के भएर आउनु भाको ? उसले मतिर नहेर्दै ढोकातिर हेरी । त्यसपछि झ्यालतिर हेरी । ढोका बन्द थियो । उसले छटपटाउँदै भनी, ढोका खोल् । हम निस्सासै चियै । ढोका बन्द देखके हमरा सास फेरैले तकलिफ हैये । (ढोका खोल । म निस्सासिरहेकी छु । ढोका बन्द गर्दा मलाई सास लिन गाह्रो हुन्छ ।) उसले थारु भाषमा कुरा गर्दै थिई । म थारु भाषा बुझ्ने भएकीले उसको कुरा राम्ररी बुझेँ । मैले पनि उसकै भाषामा कुरा गर्न थालेँ ।

उसको भनेअनुसार मैले सिस्टरलाई ढोका खोल्न अराएँ । ऊ झ्यालतिर हेरी । झ्याल खुल्ला थियो । झ्याल खुल्ला देखेर ऊ ढुक्क भई । मैले उसलाई फेरि अघिकै प्रश्न दोयोर्‍याएँ ।  उसले म तिर यसरी हेरिरहेकी थिई मानौं म पागल हुँ । उसलाई अनावश्यक प्रश्न सोधिरहेकी छु । उसले जवाफ नदिएको देखेर मैले उसलाई अर्को प्रश्न सोझ्याएँ, तिम्रा घरमा को-को छन् ? दोस्रो प्रश्न सुनेर उसले डराउँदै भनी, उसले मलाई मार्छ । मेरो घरमा पुलिस पठाइदेऊ ।

मलाई जुन वेला पनि मार्न सक्छ । म घर जान्नँ । मैले उसको कुरा सुनेर लाग्यो ऊ कुनै भयङ्कर त्रासमा फसेकी छे । उसको दिमागमा यस्तो त्रासको चित्र बनेको छ जुन चित्रले ऊ यथार्थ जीवन बिर्सिएकी छे । यो एक साइक्याट्रिक केस थियो । ऊ कुनै मनोविकारबाट ग्रस्त थिई । उसको मनको दैलो बन्द थियो । बन्द मनको राजले ग्रस्त ऊ कसैलाई  केही बताउन सकेकी थिइन । उसको बन्द मनमा घाउ जमेको थियो र उसलाई भित्रभित्रै खाइरहेको थियो । पीडा दिइरहेको थियो । उसको दिमागमा विचारको  धुँवा पुतपुताइरहेको थियो । त्यो धुँवाले उसलाई कहिले पिरोल्थ्यो त कहिले आगो बनेर उसको दिमागलाई जलाउथ्यो ।

ऊ थरथर काम्दै मेरो टेबलमा मूर्छा परी । कति दिनदेखि ननुहाएर उसको कपाल लट्ठा परेको थियो । उसको जीउको गन्ध नमिठो लाग्यो तर मैले यो सबै पचाएँ । ऊ मेरो बिरामी थियो । मैले उदेखि घिनाउनु हुँदैनथ्यो । म सहायकलाई बोलाएर उसलाई बेड नम्बर १३६ मा सुताउन अह्राएँ ।

उसलाई अस्पताल लिएर आएका उसका दाजुभाउजूलाई मैले आफ्नो कक्षमा बोलाएँ ।

उसको दाले भने, ऊ केही महिनादेखि मुर्झाएकी थिई । कसैले केही भने भन्ने चिरचिराहट उत्पन्न हुन्थ्यो उसलाई ।  मध्य रातमा पसिनाले लतपत हुन्थी ।

पुरुष मान्छेहरु उसको छेउछाउ परे भने ऊ बेहोस् भइदिन्थी । कसैले खानेकुरा खान दियो भने खाना खान मान्दिन । खाइहाले भने बरबराउँदै भन्थी, खानामा विष हालेर मलाई खान दिएका हौं । मलाई मार्न खोज्दै छौ । बर्बराउँदै ऊ मूर्छा पर्थी । एक दिन ऊ खेत घाँस काट्न गई । घाँस काटेर फर्किँदा उसको घरको ढोका खुल्ला थियो । त्यो दिन उसले बिहान पकाएको दिउँसोको दाल, भात, तरकारी र घरमा भएका चामल, दाल आलु सबै घर अगाडिको डगहर (गोरेटो बाटो)मा मिल्काई । उसलाई लाग्यो ऊ घरमा नभएको बेलामा उसको घरमा कोही पसेर सबै खानेकुरामा विष मिसाइदिएको छ ।

उसको घर छेउको डगहरमा कसैले राति दिसा गरेको थियो । भोलि बिहान त्यही दिसा दुवै हातले प्यातप्यात गिजोलीरेहेकी थिइन् । उसलाई कसैले केही सम्झाउन खोजे गिजोलीरहेको त्यही दिसा छ्याप्न जान्थी । यो देखेर छिमेकीहरुले हामीलाई जानकारी गराए । योभन्दा अगाडि ऊ कहिल्यै पनि अस्पताल भर्ना भएकी थिइनन् ।

उसको दाइ भाउजुको कुरा सुनेर लाग्यो, उसलाई केही दिन अस्पतालमा राख्नुपर्छ । उसको दिमागमा कुनै कुराको गहिरो चोट लागेको छ, जुन चोटलाई ऊ बिर्सन सकेकी छैनन् । त्यो चोटले उसको मनमा डरको घर बनाएर बसेको छ । विचरी त्यो डरलाई आफ्नो मनमा पालेर यस्तो कार्य गरिरहेकी छे । उसको जीवनमा यस्तो घटना घटेको छ, जुन घटनाले उसलाई मानसिक रुपमा कमजोर बनाइदिएको छ ।

ऊ चाहन्नथी कि उसको इच्छाविपरीतको त्यस्तो घटना घटोस् तर त्यस्तो घटना भएरै छोड्यो होला ।

जब उसले आँखा खोली । ऊ डराई । ऊ डराएको देखेर मैले उसको दुवै हात मित्रवत् तरिकाले समातेँ । उसलाई आश्वासन दिँदै भनें, तिमीलाई यहाँ कसैले केही गर्न सक्दैन । म छु  । तिम्रो रक्षा गर्छु ।  म पनि तिमीजस्तै एक साधारण महिला हुँ । मेरो कुरा सुनेर उसले भनी, के तपाईं पुलिस हो ? मेरो पेशा र  नैतिकताले मलाई ढाँट्न दिएन । मैले उसलाई सत्य कुरा बताउनु थियो ।

सत्य कुरा बताउँदै भनेँ, म डाक्टर हुँ । मेरो नाम सुनयना हो । म मनोचिकित्सक हुँ । तिम्रो मनमा धेरै कुरा खेलेर तिमी मानसिक रोगले ग्रस्त छ्यौ । मलाई विश्वास गर तिमीलाई चाँडै सञ्चो पार्छु ।  आजदेखि तिम्रो साथी पनि हुँ । उसले मेरो कुरामा असहमति जनाउँदै भनिन्, मलाई किन कसैले प्रहरीकोमा लग्दैन । म बिरामी छैन । सबैले मलाई बतहैनी (पागल) भन्छ । म बतहैनी होइन ।

भोलिपल्ट, जब म अस्पताल पुगेँ । उसले औषधि खान मानिरहेकी थिइनन् । उसको छेउमा बसेर खाऊ केही हुन्न इसारा गरेँ । तैपनि उसले मानिनन् । उसलाई खुवाउन ल्याएको पानी मैले एक घुट पिएँ । मैले त्यो पानी पिएको देखेर उसले औषधि खान राजी भइन् ।

उसलाई खानेकुरादेखि डर लागिरहेको थियो । कसैले उसलाई त्यस्तो खानेकुरा खान दिएको होला जुन खाना खाएर उसको जिउमा नराम्रो असर गरेको होला शायद त्यही कारणले ऊ खाना खान डराइररहेकी थिइन् । सबै कुरा उसको मुखबाट सुन्न म सबैभन्दा पहिला उसको साथी बन्नु थियो । उसलाई आफ्नोपन र मबाट सुरक्षा अनुभूत गराउनु थियो । उसको विश्वास जित्नलाई म अस्पताल जाँदा प्रत्येक दिन उसलाई भेट्न थालेँ । १०-१५ मिनेट उसको छेउमा बसेर साथीको अनुभूति दिलाउन थालेँ । ऊ आफ्नो छोरोसँग भेट्न जिद्दी गरिरहेकी थिई । यस्तो अवस्थामा उसलाई छोरोसँग भेट्न दिनु उचित थिएन । उसलाई मैले विश्वास दिँदै भनेँ, तिम्रो जीवमा घटेको सबै कुरा मलाई बताऊ । म तिमीलाई तिम्रो छोरोसँग भेटाउन मद्दत गर्नेछु ।

यस्तो रोगीलाई औषधिभन्दा विश्वास, साथी, साहारा, स्नेह, मनोबल बलियो बनाउने र साहारा दिने साथीको आवश्यकता हुन्छ । उसँग छोरोको सहारा थियो ।

छोरोको मायाले ऊ वास्तविक जीवनमा फर्किन चाहन्थी । मनोरोगको यो अँध्यारो र निस्सिासिँदो घरबाट उसलाई औषधिसँगै काउन्सिलिङ, साहारा, स्नेह, सौहार्द र मित्रवत् व्यवहारको आवश्यकता थियो । उसको दिमागमा धेरै कुराहरु गाँठो परेर बसेको थियो । त्यो गाँठो जसरी पनि फुकाउनु आवश्यक थियो । ऊ नकारात्मक विचारहरुको गहिरो भूमरीमा फसेकी थिइन् ।

अरु रोग जस्तै रगत परीक्षण र भिडियो एक्सरे गरेर मनोरोगको उपचार गर्ने विधि वा मनलाई नाप्न सक्ने उपकरणको विकास भइदिएको भए परीक्षणको परिणाम हेरेर र म उसको मनको कुनाकुना डुलेर हेर्थेँ । उसको मनमा उब्जिरहेको दूषित विचारको ज्वारभाटाबाट उसलाई चाँडै मुक्त गर्थेँ । प्रत्येक दिन काउन्सिलिङ्सँगै उसलाई औषधि सेवन गराउन थालेँ ।

अब म पूर्ण रुपमा उसको साथी बनिसकेकी थिएँ । ऊ मानसिक रुपमा विस्तारै बलियो हुँदै थिइन् । मैले उसलाई फेरि उसको जीवनमा घटेका घटनाबारे बताउन भनेँ । मेरो कुरा सुनेर उसले पुरानो कुरा सम्झिन खोजी । बितेका कुरा सम्झिन खोज्दा ऊ नर्भस देखिइ । उसलाई सम्झिन गाह्रो भइरहेको थियो । उसले टाउको समाती । पुरानो कुरा उसको दिमागबाट विस्मृतितिर जान खोज्दै थियो तर काउन्सिलिङ र औषधिले विस्मृतितिर जान दिइरहेको थिएन ।

जबरजस्ती  सम्झिँदै भन्न थाली, मेरो बिहे हुनुभन्दा १ वर्ष अगाडि सासू बितिसकेकी थिइन् । ससूराले अर्को बिहे गरेनन् । छोरोको बिहे मसँग गराएर मलाई बुहारीको रुपमा भित्र्याएँ । घरको सम्पूर्ण जिम्मा मेरो काँधमा थियो । एक वर्षपछि छोरो जन्मियो । हामी धेरै खुसी थियौँ । म पढेलेखेकी थिइनँ ।

बिहेको ५ वर्षपछि मेरा श्रीमानलाई पेट दुख्न थाल्यो । उनी जहिले पेट समातेर बसिरहन्थेँ । ससूराले रातभरि पानीमा भिजाएको गुर्जो, पानी पिउन उनलाई दिन्थे । उनी बिहान बिहानै गुर्जो पानी पिउँथे । पेट दुखेको कम हुन्थ्यो तर पुरै सञ्चो भएन । ज्वरोका बिरामी हेर्ने गाउँका सामान्य डाक्टरको सल्लाह अनुसार उनी पेट दुखेको औषधि खान थाले । औषधि खाइरहेका थिए । तर सञ्चो भएन । एक दिन उसको निधन भयो ।

उनको अन्त्येष्टि सकेपछि ससुरा बिरामी परे । हनहनी ज्वरो आउँथ्यो । गाउँमा ज्वारो हेर्ने डोरीलाल डाक्डर थिए । उनी ससुरालाई उपचार गर्न बिहान बेलुकी आउन थाले । ससूरा निको हुँदै गएका थिए । म उनको निधनले धेरै पीडामा थिएँ । दिनहुँ रोइरहन्थेँ । खाना खाने ठिगान हुँदैन्थ्यो । मलाई चिन्ताले भोक लाग्न छोडिसकेको थियो । मेरो अवस्था देखेर डोरीलाल दिनहुँ मलाई सम्झाउन थाले । उनी सासूराललाई हेर्न आएको बेलामा मसँग खाना खाएर फर्किन्थे । उनीसँग कुरा गरेर मेरो पीडा कम हुँदै गयो । उनीसँग मेरो मित्रता बढ्दै गयो ।

त्यो मित्रताले प्रेमको भयानक रुप लिइसकेको थियो । हामीबीच शारिरीक सम्बन्ध भयो । ससूरा सञ्चो भइसकेका थिए । बाबुलाई खेलाउन एक दिन उनी टोलतिर गए । त्यही मौका छोपेर डोरीलाल आए । घरको ढोका बन्द नगरिकन हामी सुतिरहेका थियौँ । सासूरा आएको थाहा भएन । उनले हामीलाई नाङ्गै समाते । धेरै रिसाए । नाति नभइदिएको भए समाजको अगाडि बेइज्जत गरेर निकाल्थेँ तँलाई भने । उनले डोरीलालाई हाम्रो घर आउन निषेध गरे ।

ऊ खुलेर बोल्न थालेकी थिइन् । विस्तारै खुलिरहेकी थिइन् । उसले मनको घाउ खोलिरहँदा उसको आँखा आँसुले भिज्यो । क्षणभरमै आँखाबाट आँसु उसको गालामा झर्‍यो । आँसु पुछ्दै भनिन् -घरको काममा व्यस्त भएकीले बाबुलाई समय दिन सकिनँ । बाबुलाई माइती पठाएँ । ऊ अहिले नौ वर्षको भयो । मामाघरमा पढ्दै छ । डोरीसँग भेट्ने ठाउँ थिएन । उनी राति बसघरामा ( पुरुष्हरु छलफल वा सुत्ने घर)  सुत्थे । ससुराले नदेख्ने गरी म उनलाई राति भेट्न जान थालेँ । उनीबिना म बाँच्नै नसक्ने भइसकेकी थिएँ । एक रात उनका बाआमाले हामीले गुनगुन कुरा गरेको सुनेछन् । हामीलाई राति नै समाते । हल्ला गरेनन् तर हामी दुबैजनालाई बसाएर गाली गरे । धम्क्याए । मेरो छोरासँग यस्तो गरिस् भने मारेर तँलाई खाल्डोमा जिउँदै गाडिदिन्छु भने । कसैलाई पत्तो चल्दैन ।

त्यहाँदेखि डोरीलाल मसँग भेट्न छोडे । मलाई उनको बानी लागिसकेको थियो । म जबरजस्ती एक रात उनलाई भेट्न गएँ । उनी रिसाउँदै मलाई पर धकेल्दै भने, मकहाँ आइस् भने विषको सुई लगाएर तँलाई मारिदिन्छु । कसैलाई थाहा पनि हुँदैन ।

डोरीलालका बाआमाले मेरो ससूरालाई मेरो र उनको सम्बन्ध बारे कुरो लगाइसकेका थिए । सासूराले धम्काउँदै भन्न थालेँ, ‘तँ सुध्रिनस् भने कुनै दिन तँलाई भातमा विष मिसाएर खुवाइदिन्छु ।’ एक महिनापछि डोरीलालले बिहे गरे । उनले बिहे गरेदेखि एकान्तमा बसेर म मात्र रुन थालेँ । मेरो जीवनमा अँध्यारो मात्र छ । मेरो भागमा खुसी नै छैन भन्ने लाग्न थाल्यो । मनको पीडा कसैलाई बताउन सकिनँ । म सुतेको बेलामा मध्य रातमा दुई, तीन दिन ढोका ढकढकाउँदै सञ्चो छैन भनेर ससुरा भिक्स माग्न आएँ  । मैले डरले ढोका खोलिनँ । डरले लग लग कामिरहन्थेँ । डरमै रात बित्थ्यो । लाग्यो ससूराले मलाई विष खुवाएर वा घाँटी अठ्याएर मार्ने छन् । ससुराले दिएको धम्कीबारे कसैसँग कुरा गरे मेरो र डोरीलालको सम्बन्धबारे उनले सबैका अगाडि कुरा खोल्ने छन् । म बेज्जत र बदनामको भयले कसैलाई केही बताउन सक्दैनथेँ ।

डोरीलालको बिहे भएपछि म धेरै तनावमा थिएँ । एकान्तमा रुन्थेँ मात्र । मेरो दिमागले विस्तारै काम गर्न छोडे जस्तो लाग्यो । मलाई यस्तो लाग्न थाल्यो घरमा खानामा विष मिसाएर सासूराले मलाई खुवाउछन् । डोरीलालकहाँ गएँ विषको सुई लगाएर उनले मलाई मार्छन् । यो संसारमा मेरा कोही छैनन् ।

एक्लो अनुभव हुन थाल्यो । थरीथरीको कुरा सोच्दा सोच्दै मेरो मुटु डरले ढुकढुक हुन थाल्यो  । हात, खुटा दुख्थ्यो । पछि पुरै जिउ गल्न थाल्यो । जिउमा ऊर्जा नै नभएजस्तो । राति निद्रा लाग्दैनथ्यो । धेरै भोक लाग्थ्यो । पेटभरि टन्न खान्थेँ । खाएको एक, दुई घन्टामै भोक लाग्थ्यो । भोक सह्न निकै गारो हुन्थ्यो । खाइनँ भने दिमाग र हात, खुट्टाका नशाहरु बेजोडले काम्थे ।

उसको मुटु र दिमागमा यस्तो चोट लाग्यो जसको कारणले उसको मानसिक सन्तुलन बिग्रियो । पीडा, भय, निरासा, क्रोध र तनावको तीव्र आघातको कारण उसको मस्तिष्कमा बन्ने रसायनको सन्तुलन बिग्रियो । नर्भस सिस्टम कमजोर हुँदै गयो । उसलाई यो थाहा भएन कि समयसँगै ऊ भित्रभित्रै असहाय र एक्लो हुन थालेकी थिइन् । उसको नजिकका छिमेकी र साथीहरु ऊभन्दा टाढा गइसकेको उसलाई लाग्न थालेको थियो । सोझी र कोमल मनकी उसलाई लाग्न थाल्यो ससूरा र डोरीलालसँग गाउँलेहरु पनि मिलिसकेका छन् । सबैजना मिलेर उसलाई विष सेवन गराएर मार्नेछन् । विष खुवाउने र सुई लगाएर मार्ने कुराले ऊ विक्षिप्त हुँदै गइन् ।

विस्तारै उसको सोच्ने शक्ति हराउन वा कमजोर हुन थाल्यो । ऊ वास्तविक जीवन भन्दा टाढा हुन थालिन् । दुःख, बिछोड, पीडा, तनावबाट ग्रसित उसको मन विस्तारै मलाई विष खुवाएर सबैले मार्छन् भन्ने डरतिर केन्द्रित हुन थाल्यो । उसलाई विश्वास हुन थाल्यो उसलाई अब कसैले अवश्य मार्ने छन् ।

यही त्रासले ऊ एक्लै विक्षिप्त हुँदै गई । मनमा उत्पन्न भय, हीन भाव, द्ववेश, राग, सन्देह, त्रास, ग्लानी, घृणा, अविश्वासले दिनदिननै ऊ अस्थिर हुँदै गई । स्वयम्मा उसको नियन्त्रण घट्दै गयो । तनाव झेल्दा झेल्दा ऊ नर्भस, डरछेरुवा, असहाय, असन्तुलित र लाचार भइन् । उसलाई अपराधबोध अनुभव हुन थाल्यो । उसको यही मानसिक कमजोरीको फाइदा उठाएर उसलाई मान्छेहरुले बतहैनी अर्थात पागल भन्न थाले । म सोच्छु, उसको कमजोरीको फाइदा उठाएर मान्छेहरुले के पाए ? उसलाई सहयोग र साहारा दिनुको सट्टा झन उसलाई असहाय अनूभूति किन गराए ? पति वियोगको पीडामा अल्झेकी उसलाई उसका ससुरा र डोरीलालले उसलाई प्रेमपूर्वक सम्झाएर उसको वास्तिविक जीवनमा फर्काउन सकिन्थ्यो । उनीहरुले उसको संवेगात्मक फाइदा उठाउनु, तर्साउनु र धम्काउनु जरुरी थियो ? मान्छेले यो कुरा किन सोच्दैन कि मैले केही बोल्दा कसैको दिमागमा नराम्रो असर पर्ने त होइन ? मान्छेहरु सोचेर र विचार गरेर किन बोल्दैनन् ? कसैलाई स्नेहपूर्ण तरिकाले सम्झाए के बिग्रिन्छ ? धन्य उसका दाइभाउजु जसले उसलाई अस्पताल ल्याए ।

उसलाई ६ महिना अस्पतालमा राखेँ । ऊ धेरै खुलिसकेकी थिई । मन खोलेर बोल्थी र हाँस्थी । मैले उसँग गरेको वाचा अनुसार उसलाई लिएर म उसको माइती गएँ ।

ऊ छोरोलाई अँगालोमा बाँधेर धेरै बेरसम्म रोइरही । २ वर्षपछि, म प्रत्येक दिन बिरामीहरुको कुरा सुन्दा सुन्दा आजित हुन्छु । लाग्छ उनीहरुको कुरा सुन्दा सुन्दा म पनि एक दिन पागल हुन्छु । आफ्नै कपाल भुताल्न मन लाग्छ । रातभरिको विश्रामपछि ममा फेरि उही स्फूर्ति र ऊर्जा जागृत हुन्छ । दिनभरि बिरामीको उपचार गर्न अग्रसर हुन्छु ।

म आफ्नो कक्षको कुर्सीमा बसिरहेकी थिएँ । मेरो ढोका ढकढक्याएको आवाज आयो । आवाज सुनेर, आउनुस् भनेँ । ढोका खोल्दा दुई वर्ष अगाडिकी पचिया देवी मुसुक्क हाँस्दै मेरो अगाडि राखिएको मेचमा बसी । ऊ धेरै खुसी थिई । उसले कपालमा लगाएको तेलको मगमग वास्ना आइरहेको थियो । तनावमुक्त उसको अनुहार खुसीले धपक्क बलेको थियो ।  उसको हातमा एउटा पोको थियो । उसले मेरो हातमा थमाउँदै भनी, डाक्टर दिदी यो हजुरको लागि फरिया । दिदी म निको भए नि ।

उसको उपहारभन्दा उसको कुरा सुनेर मेरा आँखा खुसीको आँसुले भरिएँ । एकजना डाक्टर त्यतिबेला खुसी हुन्छ जतिबेला उसको बिरामी सञ्चो भएर पहिलाको जीवनमा फर्किन्छ । मेरो कक्षको ढोका खुला थियो । उसले मेचबाट उठेर ढोका बन्द गरी । ढोका बन्द गर्दा ऊ डराइन । झ्यालतिर एकपटक पनि हेरिन । उसले सुनाउन थाली, ‘दिदी मेरा ससुरा बिते । छोरालाई आफूसँगै राखेकी छु ।’

सञ्चो भइसकेपछि जब मलाई भान भयो म डोरीलालको कारणले मनोरोगको सिकार हुन पुगेकी थिएँ । म  बडो सहासका साथ छाती चौडा गरेर डोरीलालको घर पुगेँ ।

उनको आँगनमा बस्दै भने, ‘डोरीलाल बाबु, कतिओटा विषको भाइल छ तपाईंसँग हँ ? सबै भाइल ल्याउनुस् । आज म विषको सुई लगाउन आएकी हुँ । विषको सुई लगाएर मार्ने इच्छा थियो होइन ? हिम्मत छ भने विषको सुई लगाउनुस् मलाई ।

तपाईंका बाआमा खोई ? मलाई मारेर खाल्डो खनेर जिउँदै गाड्ने भनेका थिए त ? मलाई गाड्ने खाल्डो कति गहिरो खन्नुभयो त उहँहरुले ? म आफूलाई खाल्डोमा पुर्‍याउन आएकी हुँ । हिम्मत छ भने मलाई मारेर गाड्नुस् । नभए तपाईहरुलाईँ कोदालोले टुक्रा टुक्रा पारेर म आफ्नो हातले अन्त्येष्टिक गर्ने छु ।’

मेरो कुरा सुनेर डोरीलाल डरले मुसाजत्रै भएका थिए । स्वास्नीको पछाडि लुकिरहेका थिए । उनका बाआमाको अनुहार कालो निलो भएको थियो । टोलका मान्छेहरु जम्मा भएर डोरीलाल र उनका बाआमालाई थुकिरहेका थिए । गाउँमा कोही बिरामी पर्दा डोरीलालको भरोसा छैन भनेर बिरामी जाँच्न गाउँलेहरु उनलाई बोलाउन छोडिसकेका छन् । अब बिरामीलाई स्वास्थ्य चौकी वा अस्पताल लिएर जान्छन् ।

डोरीलाल र उनका बाआमा मेरो घर छेउछाउ देखिएका छैनन् । उसको सहास देखेर म खुसीले मन खोलेर हाँसेँ । हाँस्दा मेरा आँखामा टिलपिलाएका एक थोपा आँसु टेबलमा झर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?