+
+

जनकपुरधाममा विवाह पञ्चमीको सम्धी मिलन

जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास र जनकपुरधामकै राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै सम्धी मिलन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १८:५२

२० मंसिर, जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत सोमबार तिलकोत्सव गरिएको छ ।

तिलकोत्सवमा भगवान रामका पिता दशरथ र माता जानकीका पिता जनकले सम्धी मिलन गरेको स्मरण गर्दै यस दिन सम्धी मिलन गर्ने गरिन्छ । यस पटक जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास र जनकपुरधामकै राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै सम्धी मिलन गरेका छन् । रामरोशनले बेहुलीको र गिरीले बेहुलाको प्रतिनिधित्व गरेका छन् ।

दुबैले अंकमाल गरेपछि सम्धी मिलन भएको मानिन्छ ।

राम मन्दिरमा तिलकोत्सव विधि गर्नुअघि जानकी मन्दिरबाट बाजागाजासहित एक टोली राम मन्दिर पुगेको छ । जानकी मन्दिरबाट फलफूल, मिष्ठानसहितका भार बनाएर राम मन्दिर पुग्ने प्रचलन रही आएको छ ।

जानकी मन्दिरबाट भार लिएर राम मन्दिर जाने क्रममा श्रद्धालुहरुको भीड लागेको थियो ।

तिलकोत्सवमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुद्यन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह पनि सहभागी थिए ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शनमा भगवान रामलाई नगर घुमाउने विधि पूरा गरिएको छ । दोस्रो दिन फूलबारी लीला अन्तर्गत रामजानकीको भेट फूलबारीमा गराइएको छ भने तेस्रो दिन धनुष यज्ञमा भगवान रामले धनुष तोडेको लीला देखाइन्छ ।

मंगलबार मटकोर विधि तथा बुधबार स्वयंवर र वैवाहिक कार्यक्रम निर्धारण गरिएको छ । बिहीबार रामकलेवा विधि पूरा गरेपछि यस पटकको विवाहपञ्चमी समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?