
२१ मंसिर, काठमाडौं । नायिका स्वस्तिमा खड्का केही दिनयता निक्कै व्यस्त छिन् । उनी अभिनित चलचित्र ‘चपली हाइट ३’ पुस २ गते रिलिज हुँदैछ । स्वस्तिमा अहिले यसै चलचित्रको प्रचारप्रसारमा जुटिरहेकी छन् ।
यसैबीच उनी अभिनित केही चलचित्रहरु युट्युबमा रिलिज भएका छन् । आठ दिनअघि युट्युबमा रिलिज भएको चलचित्र ‘हजार जुनीसम्म’लाई ५० लाख पटक हेरिएको छ । चलचित्रले नेपालको युट्युब ट्रेन्डिङको नम्बर १ स्थानमा कब्जा जमाएको छ ।
स्वस्तिमाले अभिनय गरेको चलचित्र ‘घामड शेरे’ पनि सोमबार युट्युबमा सार्वजनिक भयो । यो चलचित्रले नयाँ रेकर्ड राख्दै १९ घन्टामा करिब १० लाख भ्युज मात्र बटुलेर युट्युबको दोस्रो स्थानमा आफूलाई उभ्याइसकेको छ ।
आफू अभिनित दुई चलचित्रले युट्युबको पहिलो र दोस्रो स्थान कब्जा गर्दा स्वस्तिमा दंग छिन् । स्वस्तिमाले यो खुशीलाई सामाजिक सञ्जालमा शेयर गरेकी छन्, ‘केही दिनदेखि मेरो चलचित्र ‘हजार जुनीसम्म’ अपार भीडका साथ युट्युबमा प्रदर्शन भइरहेको छ । यो खुशीले मन रमाइरहेकै थियो । फेरि, ‘घामड शेरे’ पनि युट्युबमा प्रदर्शन शुरु भएको छ । हेरेर प्रतिक्रिया दिनुहोला है । तपाईंहरुको सुझाव हामी कलाकारका लागि अमूल्य सम्पत्ति हुन् ।’
युट्युबमा यी दुवै चलचित्रले दर्शकको राम्रो साथ पाउँदा हलमा भने दर्शक बटुल्न सकेका थिएनन् । दुवै चलचित्रबाट निर्माता नराम्रोसँग डुबेका थिए ।
प्रतिक्रिया 4