+
+

को हुन् जर्मनीको चान्सलर बन्न लागेका ओलाफ सोल्स ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते ८:१२

२१ मंसिर, काठमाडौं । जर्मनीको सोसल डेमोक्रेटिक पार्टीले ग्रिन्स र फ्रि डेमोक्रेट पार्टीसँग गठबन्धन सरकार गठनका लागि सहमति गरेको छ ।

मंगलबार गठबन्धन सरकारका लागि तीन दलबीच भएको सहमतिसँगै सोसल डेमोक्रेटिक पार्टीका नेता ओलाफ सोल्स जर्मनीको नयाँ चान्सलर बन्ने छन् । सहमतिअनुसार सोल्सको पार्टीले रक्षा, गृह र स्वास्थ्यसहितका मन्त्रालय पाउने भएको छ ।

त्यस्तै, चुनावमा चान्सलरको उम्मेदवार बनेकी ग्रिन्स पार्टीकी आनालेना बायरबोक जर्मनीको नयाँ विदेशमन्त्री बन्ने छिन् भने फ्रि डेमोक्रेटिक पार्टीका क्रिश्चियन लिन्डनरले अर्थमन्त्रीको कार्यभार सम्हाल्ने छन् ।

सन् १९५० को दशकपछि पहिलो पटक ३ दलीय गठबन्धन बनेसँगै चान्सलर पद छोड्न लागेकी एंगेला मर्केलको पार्टी क्रिश्चियन डमोक्रेटिक युनियन र उनको सत्ता साझेदार दल क्रिश्चियन सोसल युनियन प्रतिपक्षको भूमिकामा रहने छन् ।

को हुन् सोल्स ?

सन् १९५८ मा लोअर स्याक्सोनीमा सोल्सको जन्म भएको थियो । १७ वर्षको उमेरदेखि नै सोसल डेमोक्रेटिक पार्टीमा लागेका उनी दोस्रो विश्वयुद्धपछि सो पार्टीबाट चान्सलर बन्ने चौथो व्यक्ति समेत हुन् ।

सेप्टेम्बरमा सम्पन्न संघीय निर्वाचनमा सोल्सको पार्टी झण्डै १९ वर्षपछि ठूलो दलको रुपमा उदाएको थियो । उक्त पार्टीले चुनावी अभियानमा समेत ६३ वर्षीय सोल्सलाई नै बढी केन्द्रमा राखेको थियो । सुरुदेखि नै मर्केलको उत्तराधिकारीको रुपमा अघि सारिएका सोल्सले २०१८ देखि अर्थमन्त्रीको जिम्मेवारी बहन गर्दै आएका थिए ।

सोल्ससँग सन् २००७ देखि  २००९ सम्म श्रम तथा सामाजिक मामिला मन्त्रीको अनुभव समेत छ । ‘सेकुलर’ विचार राख्ने उन जर्मनीले नयाँ ऋण लिन नहुने र सार्वजनिक खर्च सीमित पार्नुपर्ने आर्थिक नीतिको पक्षमा देखिन्छन् । उनले चुनावी अभियानका क्रममा समेत जर्मनीसँग ऋण व्यवस्थापन गर्ने क्षमता रहेको बताएका थिए ।

‘यस(ऋण) बाट कोही पनि डराउनु पर्दैन किनभने २००८/२००८ को आर्थिक संकटपछि हामीले यसको व्यवस्थापन गरिसकेका छौं’, उनले भनेका थिए, ‘हामीले १० वर्षभित्रै यसलाई पुन: व्यवस्थापन गर्ने छौं ।’

विदेश नीतिको कुरा गर्ने हो भने सोल्स ‘प्रो-युरोपियन’ देखिन्छन् । एउटै अडान राख्ने सशक्त एवं  स्वतन्त्र युरोपको पक्षमा उभिँदै आएका उनले नेटो र अमेरिकासँगको सहकार्यलाई आधारभूत सिद्धान्तका रुपमा हेर्छन् ।

सोल्सलाई पार्टीको नरमपन्थी धारसँग नजिक भएको ठानिन्छ । उनले कोभिड-१९ महामारी सुरु भएदेखि नै जर्मनीले नयाँ स्वास्थ्य संकटसँग जुध्ने गरी कदम चालेका थिए । महामारीसँग जुध्न भन्दै उनले अप्रत्यासित रुपमा विभिन्न खाले आर्थिक प्याकेज ल्याएका थिए । गत वर्ष जुनमा १३० मिलियन युरो बराबरको ‘स्टिमुलस प्याकेज’का कारण इटली र फ्रान्सको तुलनामा जर्मनीको अर्थतन्त्र गतिशील बनाएको थियो ।

जुनमा सम्पन्न जी-७ राष्ट्रको सम्मेलनमा बहुराष्ट्रिय कम्पनीमाथि कम्तिमा १५ प्रतिशत कर लगाउनु पर्ने भन्दै सोल्सले पेश गरेको प्रस्ताव पारित भएको थियो । सोल्सले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई मनाउन सकेका कारण नै जी-७ राष्ट्रहरु न्यूनतम करसम्बन्धी उनको पक्षमा उभिएका थिए ।

सोल्सकी श्रीमती ब्रिट्टा अर्स्ट समेत सोसल डेमोक्रेटिक पार्टीकी नेता हुन् ।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?