+
+

इच्छाराज तामाङको वयान : बचतकर्ताको ७ अर्ब फिर्ता गर्ने दायित्व मेरो होइन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १७:२१

२२ मंसिर, काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङले वचतकर्ताले वचत गरेको रकम फिर्ता गर्ने दायित्व आफ्नो नभएको जिकिर गरेका छन् ।

सरकारी वकिलको उपस्थितिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लिएको बयानमा तामाङले सहकारीले वचतकर्तालाई सात अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने स्वीकारेका छन् । तर रकम फिर्ता गर्ने दायित्व आफ्नो नभई संस्थाको भएको जिकिर गरेका छन् ।

‘२०७२ सालको विनाशकारी भूकम्पको कारण कम्पनीहरुले निर्माण गरेका अपार्टमेन्टहरुमा ठूलो क्षति पुगेकाले पुनः निर्माण गर्न समय लागेकाले ठूलो नोक्सानी व्यहोर्नुपर्‍यो’ उनले भनेका छन्, ‘कोरोना महामारीको कारण घर/अपार्टमेन्ट बिक्री वितरणमा कमी आएकाले भने जति साँवा रकम चुक्ता गर्न नसकेको हो ।’

तामाङसहित १३ जनालाई प्रहरीले वचतकर्ताको उजुरीका आधारमा १८ असोजमा पक्राउ गरेको थियो ।

तामाङले वयानमा के भने :

२०५७ सालतिर हरिहर लामिछाने, प्रकाशकुमार बर्मा, जीवनराज बज्राचार्य, डा. दुर्गाप्रसाद संग्रौला, सूर्यप्रसाद संग्रौला समेतका ब्यक्तिहरु आपसमा छलफल गरी व्यवस्थित बसोबासको लागि हाउजिङ व्यवसाय गर्ने उद्देश्यले २०५७ सालमा सहकारी स्थापना गर्ने काम भएको हो ।

स्थापना भए पश्चात तत्कालै मैले एक लाख कित्ता शेयर लगानी गरी शेयर सदस्यको रुपमा आबद्ध भइ आएको हुँ । मैले संचालक समितिले निर्णय गरे अनुसार पटक पटक थप शेयर पनि लगानी गरेको हुँ ।

म संस्थाको स्थापना कालदेखि २०६७ सालसम्म सञ्चालक समितको अध्यक्ष भएको हो । त्यसपछि २०७३ सालसम्म संस्थाको सल्लाहकारको रुपमा काम गरेको हो । २०६७ सालदेखि हालसम्म सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ छन् ।

संस्थाको विनियममा देशको चौतर्फी विकास गर्न संस्थाको क्षमताले भ्याएसम्म जलविद्युत, यातयात, संचारलगायतका उपयुक्त देखिने आयोजनाहरु निर्माण तथा सञ्चालन गर्ने भन्ने उल्लेख भए बमोजिम २०६० सालमा सिभिल सेभिङ एण्ड क्रेडिट संस्थाले पहिलो चरणमा आफ्नै नाममा हाउजिङ परियोजनाको लागि ललितपुर भैसेपाटीमा जग्गा खरीद गरी घर निर्माण गरी बेचबिखन गरेको हो ।

त्यसैगरी २०६२ सालमा, २०६३ सालमा हाउजिङ परियोजनाको रुपमा विभिन्न स्थानहरुमा जग्गा खरीद गरी हाउजिङ बनाइ बिक्री गरी आएको हो । २०६३ सालतिर हाउजिङ व्यवसाय गर्नलाई सहकारी संस्थाबाट नगर्नु र छुट्टै कम्पनी खडा गरी कारोबार गर्नू भनी आन्तरिक राजस्व विभागको Full Audit बाट कार्यान्वयन गर्नू भनी निर्देशन अनुसार ब्यवस्थित बसोबासको लागि घरजग्गा निर्माण गरी बेचबिखन गर्ने गरी सिभिल होम्स प्रालि नामक कम्पनी दर्ता गरी हाउजिङ परियोजना शुरु गरेको हो ।

त्यसरी नै एउटा कम्पनीमा ३५ (पैतिस) रोपनी भन्दा बढी जग्गा खरीद गर्न नपाइने हदबन्दीको कारणले २०६५ साल तिर सिभिल अपार्टमेण्ट प्रालि समेतका अन्य २१/२२ वटा जति कम्पनीहरु दर्ता गरी संचालनमा आए पनि कतिपय बन्द भैसकेको छ । सिभिल होम्स समेतका कम्पनीहरुले फेजवाइज हाउजिङ परियोजनाहरु सञ्चालन गरेको हो । सम्पूर्ण कम्पनीहरुमा सञ्चालक समितिको अध्यक्ष म इच्छाराज तामाङ, सदस्य केशवलाल श्रेष्ठ समेत सदस्य छन् ।

विभिन्न बैंकहरुमा आफ्नो, आफ्नो परिवार तथा सिभिल होम्स समेतका कम्पनीहरुको खाता रहेको छ । सिभिल बैकमा संस्थापक शेयर संख्या ४,४८,६०० रहेको छ । सोबाहेक अन्य बै‌ंक, वित्तीय संस्था समेतमा शेयर रहेको छ । श्रीमती सिर्जना शाक्य, छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा समेत विभिन्न बैंक, वित्तीय संस्था, कम्पनीहरुमा शेयर, काठमाडौं कीर्तिपुरमा जग्गा जमिन छ ।

करिव २,१०० जना जति संस्थाका सदस्य बचतकर्ता सदस्यहरु भएको थाहा पाएको हुँ । उक्त संस्थाका बचतकर्ता सदस्यहरुलाई करिब ७ (सात) अर्ब जति रकम फिर्ता गर्नुपर्ने हुनु पर्दछ । सिभिल होम्स समेतका सबै कम्पनीहरुबाट करिब ५ (पाँच) अर्ब जति कर्जा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई तिर्न बाँकी छ ।

२०७२ सालको बिनाशकारी भूकम्पको कारण कम्पनीहरुले निर्माण गरेका अपार्टमेन्टहरुमा ठूलो क्षति पुर्‍याएकाले पुनः निर्माण गर्न समय लागेकाले ठूलो नोक्सानी, क्षति ब्यहोर्नुपरेको र कोरोना महामारीको कारण घर/अपार्टमेन्ट बिक्री वितरणमा कमी आएकाले भने जति साँवा रकम कम्पनीको तर्फबाट सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीलाई चुक्ता गर्न नसकेको हो ।

बिभिन्न पत्र पत्रिकामा नकरात्मक समाचार सम्प्रेषण भए पछि सदस्यहरुलाई कर्जा रकम तुरुन्त फिर्ता गर्नुपर्ने बाध्यताले सम्पूर्ण रकम तिर्न नसकेको हो । म संस्थाको अध्यक्ष हुँदा संस्था नियम बिनियम बमोजिम संस्थाको नाममा प्रायः जसो जग्गाहरु रजिष्ट्रेसन पारित गरी सो जग्गामा संस्था र कम्पनीको संयुक्त लगानी भएकोले धितो राखी राख्नुपर्ने आवश्यक नभएकाले धितो नराखिएको हो । कतिपय लगानीमा धितोसमेत राखिएको थियो ।

कर्जा वापतको रकम चुक्ता गर्न वचतकर्ताको नाममा समेत घरजग्गा रजिष्ट्रेसन पारित गरी कम्पनीहरुको नाममा रहेको साँवा ब्याज रकम तिर्दै आएको र नगद रकम साँवा ब्याज रकम घटाइ आएको छ । संस्थामा सदस्य वचतकर्ताहरुले वचत गरेको रकम बचतकर्ता सदस्यहरुलाई फिर्ता गर्ने मेरो व्यक्तिगत दायित्व होइन, संस्थाको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?