
१३ मंसिर, काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका अध्यक्ष इच्छाराज तामाङविरुद्ध एक हजार ४९९ जना पीडितले किटानी जाहेरी दिएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेर तामाङबाट ठगिएको भन्दै ठूलो संख्यामा निक्षेपकर्ताले उजुरी दिएका हुन् ।
ब्यूरोले शुक्रबार ठगीमार्फत संगठित अपराध गरेको भन्दै सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाइसकेपछि पनि थप केहीको जाहेरी आउँदा जाहेरवालाको संख्या एक हजार ४९९ पुगेको हो ।
ब्यूरोका निर्देशक धिरजप्रताप सिंह भन्छन्, ‘शुक्रबार रायसहितको प्रतिवेदन बुझाइसकेपछि पनि जोहरी आउने क्रम जारी छ, थप व्यक्तिहरुको पनि जाहेरी आउनसक्छ । हामी त्यसैमा थप गरिदिन्छौं ।’
पूर्वसांसद समेत रहेका तामाङसहित १३ जनालाई बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा सीआईबीले १८ असोजमा पक्राउ गरेको थियो ।
प्रहरीले ५७ दिन लामो अनुसन्धान गरेर ५ अर्ब ६७ करोड बिगो माग दाबीसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाएको थियो । अनुसन्धानपछि प्रहरीले तामाङलाई ठगी गरेर संगठित अपराध गरेको कसूरमा मुद्दा चलाउन माग गरेको छ ।
यदि अभियोग पुष्टि भए तामाङलाई ठगी र संगठित अपराधमा साढे ४ देखि १० वर्षसम्म जेल सजाय हुनसक्छ । साथै, ३० देखि ७० हजार रुपैयाँसम्म जरिवाना र विगो बराबर असूल गर्ने व्यवस्था छ ।
प्रतिक्रिया 4