+
+

मैले नचाहँदा-नचाहँदै पहिलो पुस्तक छापियो

सरुभक्त सरुभक्त
२०७८ मंसिर २३ गते १३:४०

मेरो पहिलो पुस्तक कविता वा नाटकको होला भन्ने धेरैले ठान्दारहेछन् । किनभने साहित्य सिर्जना शुरु गर्दा कविता र नाटकमा बढी सक्रिय थिएँ । तर मेरो जीवनको पहिलो प्रकाशित पुस्तक मुक्तकसंग्रह हो ।

२०३५ सालमा प्रकाशित ‘बन्द खामभित्र’ मेरो पहिलो पुस्तक हो । जसमा ५४ थान मुक्तक समेटिएको छ ।

त्यतिबेला विद्यार्थी नै रहेको हुँदा पुस्तक प्रकाशित गराइहाल्ने मेरो रहर थिएन । फुटकर रचनामा नै बढी केन्द्रित थिएँ । यता पृथ्वीनारायण क्याम्पसमा पढ्दै गर्दा हामीले युवा नाटक परिवार गठन गरेका थियौं । जसलाई छोटकरीमा ‘युनाप’ पनि भन्ने गथ्र्यौं । युनापका कलाकारहरूमा उषा शेरचन, प्रकट पंगेनी शिव, अर्जुनजंग शाही, राजेन्द्र बजियम लगायत थिए ।

म निर्देशक र कलाकार दुवै भूमिकामा हुन्थें । त्यतिबेला नै मेरो पहिलो पूर्णांकी नाटक ‘एउटा घरको कथा होइन’को अभ्यास पनि चलिरहेको थियो । त्यसैको लागि पोखराकै राजेन्द्र बजियम कलाकारको रुपमा मसँग जोडिएका थिए ।

नाटक अभ्यास गर्दा बेलाबेला साथीहरूलाई मुक्तक, कविता सुनाइन्थ्यो । मैले मुक्तक लेखिरहेको थाहा पाएर हो वा के कारण हो एक दिन राजेन्द्रले भने, ‘दाइ तपाईंको मुक्तक जम्मा पारौं । म छाप्ने व्यवस्था गर्छु ।’

एक्कासी आएको प्रस्तावले मलाई दोधारमा पार्‍यो । मलाई त्यति चाँडै पुस्तक प्रकाशन गराइहाल्ने सोच मनमा आएकै थिएन । आखिर राजेन्द्रकै अग्रसरतामा मैले मुक्तक साफी गरेर पाण्डुलिपि बुझाएँ ।

किताब छापिन प्रेस जाने भएपछि आवरणचित्र बनाउन मेरै माहिलो भाइलाई लगाएँ । प्रकाशनको लागि जेजति खर्च लाग्यो राजेन्द्रले नै व्यहोरे । तर उनलाई सहयोग हुन्छ भनेर पाँच-छ सय रुपैयाँ दिएँ ।

अन्ततः खामको आवरण चित्रसहितको चिटिक्कको ‘बन्द खामभित्र’ पोखरा भैरव टोलको सेन्ट्रल प्रेसबाट छापिएर मेरो हात पर्‍यो । आफ्नो पुस्तक प्राप्त गरेको दिनको त्यो खुशी म कहिले भुल्न सक्दिनँ ।

यसको केही वर्षपछि पहिलो संस्करणको ५४ थान मुक्तकसहित एक सयवटा मुक्तक संग्रहित गरेर ‘बन्द खामभित्र’ पुनः प्रकाशित भयो । पहिलो पुस्तक पोखराकै लेखक र साथीहरूलाई बाँडेर सकियो । जसको एकप्रति पनि मसँग बाँकी छैन बरु दोस्रोपटक प्रकाशित संस्करण चाहिं छ । त्यसमा प्रसिद्ध कलाकार दुर्गा बरालको आवरणचित्र रहेको छ ।

रोचक कुरा के भने, ‘बन्द खामभित्र’ पोखराबाट प्रकाशित पहिलो मुक्तकसंग्रह रहेछ । त्यतिबेला काठमाडौंका कविहरूले पनि कवितासंग्रहमा नै मुक्तक राखेर प्रकाशित गर्ने चलन थियो । मुक्तक मात्रै संग्रह गरर पुस्तक प्रकाशन गर्ने चलन थिएन । अनि यही वर्षपछि पोखरामा हामीले टिकटमा मुक्तक सुनाउने कार्यक्रम गर्न थाल्यौं । जुन नेपाली साहित्यमा बिल्कुलै पृथक कार्यक्रम बन्न गयो ।

राजेन्द्र बजिमयको निधन भइसकेको छ । अन्य कतिपय साथीहरू साहित्य र नाटकमा सक्रिय हुनुहुन्न । मेरो पनि अहिलेसम्म तीन थान मुक्तकसंग्रह प्रकाशित भइसकेको छ । तर राजेन्द्रले गर्दा जीवनको पहिलो पुस्तक प्रकाशित भएको कुरा अविस्मरणीय छ ।

(साहित्यकार सरुभक्तसँग निर्भीकजंग रायमाझीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?