+
+

कांग्रेसको चाल पनि राम्रो छैन : नरहरि आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते २०:३१

२३ मंसिर, काठमाडौं । पार्टीको सक्रिय राजनीतिबाट अलग भएका पूर्वमन्त्री नरहरि आचार्यले नेपाली कांग्रेसको पनि चाला गतिलो नभएको टिप्पणी गरेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन शुरु हुनु अघिल्लो दिन आचार्यको पुस्तक जीवनको पाठशाला: सम्झना र सम्बन्ध सार्वजनिक गरेका छन् । प्रज्ञा भवनमा आयोजित पुस्तक विमोचन कार्यक्रममा राजनीतिक कुरा नगरौं कि भन्दाभन्दै केही बोले ।

‘संविधानलाई वकालत गर्ने तिमी मात्र देखेँ, जुन राजनीतिज्ञ गएपनि सबैले अरुलाई मात्र दोष दिन्छन् । तिमीले मात्र बोकेको जस्तो लाग्छ भन्नुभयो सिके लालजीले’, आचार्यले भने, ‘त्यो हो पनि । मलाई चाहिँ त्यो बेलामा आफैंले बोकेको हो कि जस्तो लाग्थ्यो । अरु कसैले बोकेको होइन, संविधान बनाउनुपर्ने आफैंले, बोक्ने आफैंले जस्तो भएको थियो ।’

संविधान बनेको ५ वर्ष भइसक्दा पनि जिम्मा लिन कोही तयार नभएको उनले बताए । पूर्व कानुनमन्त्री समेत रहेका आचार्यले भने, ‘नेपाली कांग्रेसले पनि संविधानको जिम्मेवारी लिँदैन, अरु त आआफ्नो कुरा गर्ने भए । जिम्मेवारी लिने भएनन् ।’

आफूले संविधानको जिम्मा लिने भन्दै उनले भने, ‘यस्तो संविधान भनेर कसलाई गाली गर्ने त भन्दा नरहरि आचार्यलाई गाली गर्ने ।’

आफूले त्यो जिम्मा लिएको, तर चाला हेर्दा ठीक ढंगले चलेन कि जस्तो लाग्ने गरेको उनले सुनाए । प्रदेश भूमिकाविहीन भएको आवाज आएको, संघले बनाइदिनुपर्ने कानुनसमेत अहिलेसम्म बनाइदिएको भन्दै उनले के ले रोक्यो भनेर प्रश्न गरे ।

संविधानले व्यवस्थित गरेका अधिकार प्राप्तिका लागि कानुन बनाइदिनुपर्नेमा उनको जोड छ । आचार्यले अघि भने,’जे भए पनि म अझै पनि कांग्रेसको सदस्य भएको हुनाले कि कांग्रेसले यो जिम्मेवारी दिनुपर्छ कि भन्न सक्नुपर्‍यो यो संविधान मादैनौं ।’

उनले संविधानको जिम्मेवारी लिएर अगाडि बढ्न कांग्रेसको नयाँ पुस्ताका नेताहरुलाई आग्रह गरे । उनले अघि भने, ‘एक हात त मेरो पनि, म पनि एक हात उचाल्छु, अरु हात तिमीहरुले उचाल्नुपर्छ । संविधानभित्र भएर कानुनहरु त बनाऔं । त्यसले पुगेन भने पुनरावलोकन गर्न सकिन्छ, त्यो व्यवस्था संविधानमै छ ।’

कांग्रेसको चाल पनि राम्रो छैन

लोकतन्त्रमा पार्टी पद्धति महत्वपूर्ण भएको, तर पार्टीको सञ्चालन मितव्ययी हुनैपर्ने बताए । आचार्यले अघि भने, ‘अहिले मितव्ययी भएको छैन । सबैका अधिवेशन देखियो, अब कांग्रेसको हुँदैछ भोलिदेखि । कांग्रेसको चाल पनि त्यति राम्रो छैन ।’

‘म अरुलाई त गाली गर्न सक्दिनँ, तर सदस्य भएकाले कांग्रेसलाई त गाली गर्न सक्छु नि ! म कांग्रेसलाई आधिकारिक रुपमा गाली गर्न सक्छु, त्यसो भएको हुनाले कांग्रेसको चाल पनि राम्रो छैन ।’

आन्तरिक चुनावमा पनि धेरै खर्च हुन लागे योग्य र उपयुक्त व्यक्ति पार्टीबाट पन्छिने डर हुने उनले बताए । पूर्वमन्त्री आचार्य भन्छन्, ‘लोकतन्त्रका लागि पनि खतराका रुपमा लिनुपर्छ । यो सामान्य कुरा होइन, हामी आफैं आफैं अग्रसर भएर रोक्न सक्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?