
२५ मंसिर, काठमाडौं । उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
उनले आफू पहिलो चोटी संगठनको राजनीतिमा प्रवेश गरेको बताए । चौधरीले मधेसी क्लस्टरको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
‘मैले मेरा लागि जीवनमा देखेका अधिकांश सपना पुरा हुँदै आएका छन्’, उम्मेदवारी दर्तापछि चौधरीले भने, ‘अब, मेरो बाँकी रहेका सपना भनेको नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्रका रुपमा चिनाउने हो ।’ राष्ट्र निर्माणको आफ्नो सपनालाई पुरा गर्न सबैको सहयोग पाउनेमा आफू विश्वस्त रहेको चौधरीले बताएका छन् ।
‘नेपाली कांग्रेसको नेतृत्वमा राजनीतिक क्रान्तिहरु सफल भए र अब आर्थिक क्रान्तिको जिम्मेवारी पनि कांग्रेसकै हो’, उनले थपे, ‘यसको सबैभन्दा महत्वपूर्ण आधार हाम्रा होनहार युवाहरुको सिर्जनसिल सोच, शिल्प, श्रम र केही गरौ भन्ने उत्साह भएकाले नेपाली कांगेसले सहि नेतृत्व पाउनु पर्छ ।’
चौधरी नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिका संयोजक हुन् ।
उक्त समितिले पार्टीमा आबद्ध युवाहरुलाई उद्यमी बनाउन गरिखाने अभियान सञ्चालन गरिरहेको छ । उनको नेतृत्वमा समितिले सातै प्रदेशमा योजना र उर्जा भएका युवाहरुलाई उनीहरुकै परियोजनामा लगानी र अन्य आवश्यक सीप उपलब्ध गराउन आवश्यक सहजीकरण गरिरहेको छ ।
उनी नवलपुर–१ बाट मधेसी कोटामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका थिए ।
प्रतिक्रिया 4