+
+

कांग्रेस महाधिवेशन : टीम नयाँ, प्रतिस्पर्धा पुरानै

महाधिवेशनमा सभापतिका उम्मेदवार धेरै भएपनि प्रतिस्पर्धा भने पुरानै समूहबीच हुने देखिएको छ । संस्थापन समूहको नेतृत्व गरेका देउवा र पौडेल समूहबाट सभापतिको उम्मेदवार बनेका कोइरालाको समूहबीच नै महाधिवेशनमा मुख्य प्रतिस्पर्धा हुने कांग्रेसका नेताहरु बताउँछन् ।

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ मंसिर २५ गते २२:५९

२५ मंसिर, काठमाडौं । स्थापना कालदेखि दुई गुटमा विभक्त नेपाली कांग्रेसमा १४ औं महाधिवेशनले थप गुटहरु जन्माएको छ । १३ औं महाधिवेशनमा तेस्रो समूह बनाएका कृष्णप्रसाद सिटौलाले संस्थापन समूहसँग सहकार्य गर्दा देउवा र रामचन्द्र पौडेल समूहबाट छुट्टिएर थप दुई समूह बनेको छ ।

त्यही कारण कांग्रेस महाधिवेशनको इतिहासमा सभापति पदमा सबै भन्दा धेरै ६ जना उम्मेदवार बनेका छन् । शनिबार भएको उम्मेदवारी मनोनयनमा सभापति पदका लागि शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

देउवा र कोइरालाले पदाधिकारीसहित सबै पदमा प्यालनसहित उम्मेदवारी दिएका छन् भने सिंहले पदाधिकारीमा एक उपसभापति र एक महामन्त्रीमा उम्मेदवार बनाएका छन् । त्यस्तै विमलेन्द्र निधिले पनि पदाधिकारीमा आफ्नो समूहबाट सभापतिसहित एक उपसभापति र एक महामन्त्रीको उम्मेदवार उठाएका छन् । गुरुङ र न्यौपानेले भने सभापतिमा मात्रै उम्मेदवारी दिएका हुन् । आम निर्वाचनको झल्को दिने गरी नेताहरु दलबलसहित उम्मेदवारी मनोनयन दर्ता गराउन राष्ट्रिय सभागृह पुगेका थिए ।

उम्मेदवारी मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि साँझ पाँच बजेसम्मको समय तोकिएको थियो, नेताहरु समय सकिनु केही घण्टा अघिमात्रै राष्ट्रिय सभा गृह पुगेका थिए । प्रदर्शनीमार्ग क्षेत्रमा दिनभर नाचगान र नाराजुलुससहित आआफ्ना उम्मेदवारको पक्षमा मत माग्नेहरुको भीड थियो भने राष्ट्रिय सभा गृहभित्र उम्मेदवार मनोनयन गर्नेहरुको घुइँचो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यको १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा एक जना सभापतिका लागि ६ जना, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । आइतबार उम्मेदवारको नाममाथि दावी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका निर्वाचन कार्यक्रम छ भने सोमबार मतदान हुनेछ ।

गुट थपिए, प्रतिस्पर्धा पुरानै समूहमा

महाधिवेशनमा सभापतिका उम्मेदवार धेरै भएपनि प्रतिस्पर्धा भने पुरानै समूहबीच हुने देखिएको छ ।

संस्थापन समूहको नेतृत्व गरेका देउवा र पौडेल समूहबाट सभापतिको उम्मेदवार बनेका कोइरालाको समूहबीच नै महाधिवेशनमा मुख्य प्रतिस्पर्धा हुने कांग्रेसका नेताहरु बताउँछन् । दुबै समूहले सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ वटै पदमा उम्मेदवारी दिएका छन् ।

कांग्रेसभित्रको राजनीतिमा एउटै समूहमा रहेर अढाई दशक लामो सहकार्य गरेका निधि १४ औं महाधिवेशनबाट देउवासँग औपचारिक रुपमा अलग भए । निधिले महाधिवेशनमा छुट्टै समूह बनाएर उम्मेदवारी दिए । ‘संस्थापनबाट छुट्टिएर विमलेन्द्रले सभापतिमा उम्मेदवारी दिए, तर उनले प्यानल नै बनाउन सकेनन् । निधिको उपस्थिति कमजोर देखियो,’ कांग्रेसका एक नेताले भने ।

संस्थापनइतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू महाधिवेशनको निर्वाचन प्रक्रियाबाटै बाहिरिएको घोषणा गरे । तर उनको समूह पनि एक ढिक्का रहेन । पौडेल समूहबाट नेता सिंह बाहिरिए । सिंहकै अडानका कारण साझा उम्मेदवार दिन नसक्दा नेता पौडेल महाधिवेशन प्रक्रियाबाटै बाहिरिएका थिए । तर पौडेलको समर्थन भने नेता डा. शेखर कोइरालालाई छ । समूहको नेताहरुले पनि शेखरलाई साथ दिएका छन् र, त्यसरी नै टीम बनेको छ ।

पौडेल समूहबाट अलग भएर सभापतिमा उम्मेदवारी दिएका सिंह भने गुटगत अंकगणितमा कमजोर देखिएका छन् । उनले पौडेल समूहबाटै सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवार बनाएका छन् । यससँगै कांग्रेसभित्र एक ठाउँमा रहँदै आएको कोइराला परिवारलाई विभाजित गराउन उनी सफल भएका छन् ।

उनले संस्थापन समूहमा रहेका विश्वप्रकाश शर्मालाई आफ्नो प्यानलमा महामन्त्रीको उम्मेदवार बनाएका छन् । तीन महिनाअघि नै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका शर्मा शनिबार दिउँसोसम्म पनि संस्थापन समूहमै महामन्त्रीका लागि लबिङमा थिए, तर देउवाको प्यानलमा महामन्त्री नपाउने निश्चित भएपछि गुट बदले र सभापतिमा उम्मेदवारी दिएका प्रकाशमानको क्याम्पमा पुगे ।

कांग्रेसको यो महाधिवेशनले पार्टीभित्र नयाँ समीकरण बनाएपनि प्रतिस्पर्धा भने पुरानै समूहबीच हुने राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन् । ‘यसपटक परम्परागत समूहहरु विभाजित भएको र नयाँ समीकरण बनेको देखिन्छ,’ उनी भन्छन् ‘तर प्रतिस्पर्धा संस्थापन भनिने देउवा समूह र शेखर नेतृत्वको समूहबीच नै हुनेछ ।’

सिटौला समूहको विलय

१३ औं महाधिवेशनबाट कांग्रेसमा तेस्रो समूहको उदय भयो । कांग्रेसभित्र चल्दै आएको दुई समूहको रस्साकस्सी तोड्दै सभापतिमा उम्मेदवारी दिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव त जितेनन्, तर तेस्रो धार बनाएका थिए । गगन थापा, प्रदीप पौडेलहरु उनीसँग जोडिएका थिए । त्यही गुटका आधारमा पार्टी र सरकारमा निरन्तर लाभ लिएको यो समूह १४ औं महाधिवेशनमा भने संस्थापन समूहमा विलय भयो ।

संस्थापन समूहसँग मिलेर सिटौलाले आफूनिकट प्रदीप पौडेललाई महामन्त्री र उमाकान्त चौधरीलाई थारु क्लस्टरतर्फ सहमहामन्त्री पदमा उम्मेदवार बनाएका छन् । कांग्रेसभित्र अंकगणितमा निकै कमजोर भएपनि निर्वाचनमा हार र जितका लागि निर्णायक शक्ति मानिने यो समूहका नेता सिटौलाले भने सभापतिमा देउवालाई समर्थन गरे र, आफू कुनै पनि पदमा उम्मेदवार बनेनन् ।

सिटौलाको समर्थनले संस्थापन पक्षमा निधि र प्रवक्ता शर्माको विद्रोहबाट हुने क्षतिको पूर्ति हुने विश्लेषण छ, वाग्लेको । ‘सिटौला कांग्रेसभित्र एउटा निर्णायक शक्ति थिए,’ उनले भने, ‘सभापतिमा जित्न सिटौलालाई मिलाउनुपर्ने दबाब दुबै समूहमा थियो । त्यसमा सिटौला समूह देउवा समूहमा विलय हुँदा त्यसले संस्थापन समूहलाई थप शक्ति दिएको छ ।’

जिल्ला अधिवेशन र महाधिवेशन प्रतिनिधिको परिणामले उत्साहित बनेका देउवा, सिटौला समूहको विलयपछि महाधिवेशन परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क छन् । संस्थापन समूहको रणनीति पहिलो चरणमै बहुमत ल्याउने छ भने अन्य प्रतिस्पर्धीहरु पहिलो चरणमा देउवालाई जित्नबाट रोक्ने र आफू दोस्रो भएर दोस्रो चरणमा बाँकी उम्मेदवारहरुको समर्थन खोज्ने पक्षमा छन् ।

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?