
२५ मंसिर, काठमाडौं । २०६२/६३ को जनआन्दोलनपछि जातीय पहिचानसहितको संघीयताको मुद्दा जोडतोडले उठ्यो । २०७२ सालमा संविधान जारी हुँदा त्यस्तो व्यवस्था नभएपनि समुदाय स्तरसम्म जातीय पहिचानबारे अभूतपूर्व जागरण आयो ।
त्यही चेतका कारण नेपालका विभिन्न जातीय समुदायले आफ्नो पहिचानसँग जोडिएका सांस्कृतिक पक्षबारे बहस चलाए । परम्परागत सामग्री, जातीय भेषभूषाको खोजी र प्रयोग बढ्यो । चाडबाड, सभा-सम्मेलन र सार्वजनिक कार्यक्रमहरुमा जातीय पहिचान झल्काउने पहिरन लगाउन थालियो । त्यसबाट परम्परागत सामग्रीहरुको प्रवद्र्घन र प्रयोग बढ्यो ।
अहिले मुलुकका मुख्य शहरहरुमा विभिन्न जातीय पहिरन, गरगहना र अन्य सामग्रीहरुको व्यापार-व्यवसाय पनि फस्टाएको छ । यस्तै व्यवसायीमध्ये एक हुन् सुशीला राई । उनले कोटेश्वरमा ‘जून शिला कलेक्सन’ खोलेर जातीय पहिरन, परम्परागत सामग्री, गरगहना लगायत बिक्री गर्न थालेको १० वर्ष भइसकेको छ ।
‘यस्ता सामग्रीहरुको महत्व थाहा भएपनि व्यवसायको रुपमा अगाडि बढाउन सकिन्छ भन्ने लागेको थिएन,’ त्यसअघि कस्मेटिक्स व्यापार गरिरहेकी उनी भन्छिन्, ‘तर, मानिसहरु खोजीखोजी हिँडेको थाहा भएपछि व्यापार थालेको, राम्रै भइरहेको छ ।’
सुशीलाले शुरुमा राई जातिको परम्परागत पहिरन बेचिन् । त्यो राम्ररी चलेपछि मागअनुसार क्रमशः अरु जातिका पनि कपडा लगायत सांस्कृतिक सामग्री संकलन गरेर बेच्न थालेको उनी बताउँछिन् । अहिले ‘जून शिला कलेक्सन’मा राई, लिम्बू, सुनुवार, मगर, गुरुङ, तामाङ लगायत समुदायका पहिरन र सांस्कृतिक सामग्री पाइन्छन् ।
आफ्नै समुदायको मुन्धुमबारे थप जान्ने र अरु समुदायको संस्कृति बुझ्ने मौका यो व्यवसायले जुटाएको सुशीला बताउँछिन् । उनले मागअनुसार कतिपय सामग्री काठमाडौंबाट गाउँ–गाउँ पठाउने त कतिपय सामग्री गाउँहरुबाट ल्याउने गरेकी छन् । आफ्नो व्यवसायले गाउँमा तान बुन्न जान्ने महिलाहरुलाई स्वरोजगार बनाएको उनी बताउँछिन् ।
‘हातमा सिप भएका दिदीबहिनीहरु गाउँमा घाँस–दाउरा गर्न छाडेर तान बुन्न थाल्नुभएको छ,’ उनी भन्छिन्, ‘कपडा बुन्न शारीरिक रुपमा सहज हुन्छ, कमाइ पनि राम्रो हुन्छ । जति बुन्नु हुन्छ, हामी किनिहाल्छौं ।’
सुशीलाले कठुवा (राई–लिम्बू समुदायले जाँडरक्सी राख्ने काठको भाँडा), ढोल, वाबु (चिन्डो), फिपी (सेलरोटी राख्ने चोयाको डाली प्रयोग हुन्छ), थुन्से, डोका, डालो, बिनायो लगायत सामग्री गाउँबाट ल्याउँछिन् । यसले गाउँमा हस्तकलाको प्रवद्र्धन पनि गरिरहेको उनी बताउँछिन् । यो व्यवसायबाट गाउँहरुमा हस्तकलाको प्रवद्र्घन गरिरहेको उनले बताइन् ।
‘जून शिलामा’ विभिन्न जातिका महिलाले लगाउने गरगहना, हारी (सिक्काको माला), धजुरी, पेचुरी (वनस्पति वा धागोबाट बनेका) फूलहरु पनि पाइन्छन् । यस्ता सामग्री बनाउन सुशीला आफैंले महिलाहरुलाई सिकाउने समेत गरेकी छन् ।
अहिले जातीय भेषभूषा, सामग्री र बाजागाजा पसल धेरै खुलेका छन् । यसले प्रतिस्पर्धा पनि बढाएको छ । ‘प्रतिस्पर्धासँगै विकृति बढेको छ,’ सुशीला भन्छिन्, ‘कतिपयले आधुनिक शैलीमा ढाल्ने भन्दै पहिरनको दुरुपयोग गरिरहेका छन् ।’
पछिल्लो समय जातीय भेषभूषा र सामग्रीको महत्व बुझेर खोजी गर्नेहरु बढिरहेको सुशीलाको अनुभव छ । ‘मैले जातीय पहिचानसँग जोडिएका भेषभूषा र सामग्रीको व्यापार थाल्दा युवा ग्राहक थिएनन् भन्दा पनि हुन्छ,’ उनी भन्छिन्, ‘पछिल्लो केही वर्षयता पाका उमेरका भन्दा बढी किशोरकिशोरी र युवा बढी आउँछन् ।’
नेपालका जातीय पहिरनहरुलाई बालबालिकाबीच चिनाउन संस्थागत विद्यालय तथा मन्टेश्वरीहरुको पनि महत्वपूर्ण भूमिका भएको उनी बताउँछिन् । उनका अनुसार विद्यालय र मन्टेश्वरीले बालबालिकालाई विभिन्न चाडपर्वअनुसार जातीय भेषभूषा लगाउन भन्छन् ।
सुशीला गायिका पनि हुन् । उनी किरात राई साँस्कृतिक कलाकार संघकी केन्द्रीय उपाध्यक्ष हुन् । उनको व्यावसायिक नारा छ, ‘मौलिक भेषभूषा हाम्रो शान, समृद्घ नेपाल हाम्रो अभियान ।’
‘मेरो लागि यो व्यवसाय मात्र नभएर आफ्नो पहिचान र संस्कृति जोगाउने माध्यम पनि हो,’ सुशीला भन्छिन्, ‘यसबाट मेरो गुजारा त चलेको छ नै, राई समुदायको एक कलाकारको जिम्मेवारी पनि पूरा गरेको छु भन्ने लाग्छ ।’
तस्वीर/भिडियो : शंकर गिरी
प्रतिक्रिया 4