+
+
कृष्णप्रसाद सिटौला :

सधैंभरि सत्ताकै सारथि

१४औं महाधिवेशनमा उपसभापतिको बलियो उम्मेदवार बन्ने र कार्यवाहक सभापति भएर कांग्रेस चलाउने सिटौलाको चाहना पूरा हुन सकेन, तर कहिले आफैं र कहिले आफ्नो टीमका लागि शक्ति र सत्ताकै नजिक रहने पुरानो बानी भने सिटौलाले यसपटक पनि दोहोर्‍याए ।

बिनु सुवेदी बिनु सुवेदी
२०७८ मंसिर २६ गते २१:३२

२६ मंसीर, काठमाडौं । २०३३ सालतिरको कुरा हो, कृष्णप्रसाद सिटौला झापा बिर्तामोडको एक सरकारी स्कूलमा विज्ञान विषय पढाउँथे । शिक्षण पेशामा आबद्ध हुँदा नै उनी पञ्चायतविरोधी गतिविधिमा पनि संलग्न भइसकेका थिए ।

स्कूलमा भेदभाव गरेको महसूस भएपछि सिटौलाले एकदिन प्रधानाध्यापकलाई कार्यकक्षमै थुने, त्यसपछि उनी झापाबाट काठमाडौं आए र बीएस्सी र बीएल पढ्न थाले । त्यसबेला सिटौलाको काठमाडौं बसाइ त्यति लामो भएन ।

२०३५ सालको अन्त्यतिर फेरि झापामै फर्किएर वकालत गर्न थाले । त्यसपछि झापामा उनको चर्चा चुलियो । त्यतिखेरका नेपाली कांग्रेस झापा जिल्ला सभापति सीके प्रसाईंको नजरमा परेपछि सिटौला पार्टीको झापा जिल्ला सदस्यमा मनोनीत भए, प्रवक्ताको जिम्मेवारी समेत पाए ।

समाजवादी चिन्तक प्रसाईं बीपी कोइरालाका निकटस्थ पनि थिए । २०३६ सालको जनमत संग्रहमा सिटौलाले खेलेको भूमिकाको सम्मान गर्दै प्रसाईंले उनलाई २०३७ सालमा झापा जिल्ला समितिको उपसभापति मनोनीत गरे । जिल्लाको राजनीतिमा सिटौलाको छलाङ अस्वाभाविक रुपमा भयो, २०३९ सालमा प्रसाईं अशक्त भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी सिटौलालाई सुम्पिए, उनी झन् बलियो बने ।

नेपाली कांग्रेसले ३० वर्षपछि २०४८ सालमा झापामा महाधिवेशन आयोजना गर्दा सिटौलाले कार्यवाहक सभापतिका रुपमा  सम्पूर्ण जिम्मेवारी लिए । उनको त्यो कौशलता नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको नजरमा पनि पर्‍यो । त्यही महाधिवेशन सिटौलालाई थप बलियो बन्ने र संस्थापनसँग नजिक हुने अवसर बन्यो ।

२०४८ सालको संसदीय निर्वाचनमा सिटौलाले झापाको तत्कालीन क्षेत्र नम्बर १ बाट टिकट पाएका थिए, तर उनी नेकपा एमालेका उम्मेदवार द्रोणप्रसाद आचार्यसँग पराजित भए । झापामा सिटौला पराजित हुँदा काठमाडौंमा भट्टराईले एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँग हार व्यहोरे ।

तर सिटौलाप्रतिको भट्टराई मोह भने कम भएन । २०५० सालमा एमाले सांसद आचार्यको निधन भएपछिको उपनिर्वाचनमा भट्टराईले झापामा सिटौलालाई उठाउनुपर्छ भनेर जोडबल गरे ।  काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव जितेका एमाले महासचिव मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भएकाले झापा र काठमाडौंमा सँगै उपनिर्वाचन भएको थियो । झापामा सिटौलाले त जिते तर भट्टराई भने विद्या भण्डारीसँग पराजित भए ।

प्रतिनिधिसभाको उपचुनाव जितेर आएपछि सिटौला गिरिजाप्रसाद कोइरालासँग नजिकिन थाले, किनभने कांग्रेसमा हालीमुहाली भट्टराईको होइन, कोइरालाको थियो । कोइराला त्यसबेला प्रधानमन्त्री थिए । २०५० माघमा पहिलोपटक संसदीय चुनाव जितेका सिटौला २०५१ को जेठ अन्त्यतिर मात्रै सांसदका रुपमा संसद भवन छिर्न पाए । तर उनी संसद भवन छिरेको एक महीना नपुग्दै गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गरिदिए ।

१४ औं महाधिवेशनमा उपसभापतिको बलियो उम्मेदवार बन्ने र कार्यवाहक सभापति भएर कांग्रेस चलाउने सिटौलाको चाहना पूरा हुन सकेन, तर कहिले आफैं र कहिले आफ्नो टीमका लागि शक्ति र सत्ताकै नजिक रहने पुरानो बानी भने सिटौलाले यसपटक पनि दोहोर्‍याए ।

सिटौलाका निकटस्थहरुका अनुसार, २०५० सालको उपचुनाव जित्न उनले झापामा चार बिघा  जमीन बेचेका थिए । तर त्यसरी जितेको सांसद पद लामो समय नटिकेपछि उनले आफू आर्थिक संकटमा परेको गुनासो कोइरालासँग गरे ।

‘तिम्रो राजनीतिक भविष्य मैले ग्यारेन्टी गर्छु’ त्यसबखत कोइरालाले सिटौलालाई आश्वासन दिए, साथमा २०५१ को मध्यावधि चुनावमा पनि झापा १ बाट उम्मेदवार बनाए । तर त्यतिखेर पनि सिटौला पराजित भए, संसदीय निर्वाचनमा यो उनको दोस्रो हार थियो ।

संसदीय चुनावमा हारेपछि उनी पार्टीको जिल्ला राजनीतिमा फेरि सक्रिय भए, २०५३ सालको नवौं महाधिवेशनमा झापा क्षेत्र नम्बर ४ मा चक्र बास्तोलालाई महाधिवेशन प्रतिनिधिमा हराउन सिटौलाको मुख्य भूमिका थियो । तर गिरिजाप्रसाद कोइरालाले फेरि निर्वाचन गराएर बास्तोलालाई महाधिवेशन प्रतिनिधि बनाएर ल्याए, तर सिटौलाको साथ भने छोडेनन् ।

२०५३ को नवौं महाधिवेशनपछिको महासमिति बैठकमा सिटौला आफ्नै सरकारका मन्त्रीहरुले भ्रष्टाचार गरेको भन्दै कड्किए, त्यसबेला उनको भाषणले शैलजा आचार्यलाई ‘ओभरटेक’ गरेको भनेर निक्कै चर्चा भएको थियो ।

‘मुलुकमा भ्रष्टाचार छ, सरकारले त भ्रष्टाचार गर्ने कुरा भएन, तर मन्त्रीहरु धेरै भ्रष्टाचारी भए । भ्रष्टाचार गर्ने एकेजीबी को हुन् ? यिनीहरुले सभापति र प्रधानमन्त्रीलाई छलेर भ्रष्टाचार गरेका छन्’ सिटौलाले महासमिति बैठकमा प्रश्न उठाएका एकेजीबी भनेर कांग्रेसमा अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार  चिनिन्थे । कांग्रेस राजनीतिमा यिनीहरुको वर्चश्व लामो समयसम्म रह्यो । त्यसबेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

आफ्ना प्रतिस्पर्धी देउवा र उनको सरकारमाथि प्रश्न उठाएका सिटौलाले गिरिजाप्रसाद कोइरालाबाट तुरुन्तै पुरस्कार पाए, उनी केन्द्रीय सदस्यमा मनोनीत भए । कोइरालासँगको निकटताले सिटौला पार्टी राजनीतिमा झन् झन् मजबूत बन्दै गए, २०५६ सालको आमनिर्वाचन जिते ।

२०५७ मा भएको पार्टीको दशौं महाधिवेशनबाट निर्वाचित १६ केन्द्रीय सदस्य मध्ये १२ औं नम्बरमा आए । यही महाधिवेशनपछि गिरिजाप्रसाद कोइरालाले उनलाई संगठन विभाग प्रमुख र प्रवक्ताको जिम्मेवारी दिए ।

सिटौलाले कांग्रेस राजनीतिमा एक पछि अर्काे छलाङ मार्दै जाँदा उनलाई अघि बढाउन भूमिका खेलेका कृष्णप्रसाद भट्टराईको ओरालो यात्रा शुरु भइसकेको थियो । २०५६ साल चैत ३ गते सन्त नेता कृष्णप्रसाद भट्टराईको सरकार ढाल्न कोइरालाले सिटौलालाई नै प्रयोग गरे ।

भट्टराईको सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउने ‘क्याम्पेन’मा प्रमुख भूमिका खेलेवापत सिटौलाको कदर २०५७ मा भयो । भट्टराईको सरकार ढालेर प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले उनलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाए । तर सिटौलाले स्वीकार गरेनन्, क्याबिनेट मन्त्री नबनाएसम्म सरकारमा जान्न भनेपछि, उनी क्याबिनेट मन्त्री नै बने ।

कोइरालाको विश्वास जित्दै गएका सिटौलाले राजाविरोधी आन्दोलन र  तत्कालीन विद्रोही  नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि विशेष भूमिका खेले । २०६२/६३ को आन्दोलनमा उनी नेतृत्वदायी भूमिकामा नै थिए । कोइरालाले सिटौलालाई दरबारसँग बदला लिन र भारतमा रहेको माओवादीसँग संवाद गर्न एकैचोटी प्रयोग गरेका थिए, यसमा सिटौला कामयाबी भए । सिटौलाको भारतसँगको निकट सम्बन्धलाई पनि कोइरालाले प्रयोग गरे ।

गणतन्त्रकै पक्षपाती नरहरि आचार्य र सिटौलाले तत्कालीन माओवादी नेता बाबुराम भट्टराई र कृष्णबहादुर महरा लगायत नेताहरुलाई भारतको देहरादुनमा भेटेर शान्ति प्रक्रियामा आउन आग्रह गरेका थिए ।

२०६० मा प्रतिगमनविरोधी आन्दोलन थाल्दा सिटौला उक्त आन्दोलनको संयोजक थिए । २०६२ साल मंसिर ७ गते मुख्य राजनीतिक दलहरुका बीचमा १२ बुँदे समझदारी हुँदा सिटौलाको भूमिका प्रमुख थियो । त्यही जगमा भएको जनआन्दोलन, संविधानसभा चुनाव र संविधान निर्माण प्रक्रियामा सिटौलाको भूमिका इतिहासको कसीमा बिर्सिन नहुने घटनाक्रमहरु हुन् ।

तर पार्टीको राजनीतिमा भने सिटौलाले जहिले पनि स्वार्थ साधे, आफैंलाई केन्द्रमा राखे । पार्टीको १२ औं महाधिवेशनमा सुशील कोइरालालाई समर्थन गरेका सिटौला, कोइरालाले नै मनोनीत गरेर पार्टीको महामन्त्री बने । सुशील कोइरालाको निधनपछि त्यसको विरासत आफैंले बोक्ने चाहना सिटौलाले पालेका थिए । तर १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका रामचन्द्र पौडेलले कुनै पदाधिकारीको टीममा नराखेपछि उनले गगन थापासहितका नेताहरुको आडमा सभापतिमा उम्मेदवारी दिए ।

दोस्रो चरणमा सिटौला र उनको समर्थन पाएपछि देउवा कांग्रेसको सभापति बने । ‘मैले देउवालाई सपोर्ट गरेको होइन, बहुमत भएन भन्ने प्राविधिक विषयमा अल्झिनुभन्दा यसलाई राजनीतिक जनादेशको रुपमा बुझेर पहिलो मत आउनेलाई स्वीकार गर्नुपर्छ भन्ने आधारमा मैले पहिलो मत ल्याउनेलाई समर्थन गर्छु’ १३औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुँदै गर्दा सिटौलाले भनेका थिए ।

त्यसपछि नेविसंघ र महिला संघको निर्वाचनमा पनि देउवा र सिटौलाका बीचमा गठबन्धन बन्यो । सिटौला कांग्रेस राजनीतिमा भयंकर मत बोकेका नेता त होइनन् र तर संख्याको चलखेल गरेर आफ्नो हात माथि पार्न भने सधैं नै अग्रपंक्तिमा देखिए । ‘जसले मलाई स्वीकार गर्छ त्यसैसँग सहमति गर्छु’ भन्ने सिटौलाको सिद्धान्त स्पष्ट छ ।

जिल्ला राजनीतिमा छँदैमा सभापति कृष्णप्रसाद भट्टराईसित सम्बन्ध विस्तार गरेका सिटौला त्यसपछि लामो समय गिरिजाप्रसाद कोइरालाको साथमा रहे । १२औं महाधिवेशनमा सुशील कोइरालाको सारथि बनेका उनी १३औं र १४औं महाधिवेशनको निर्णायक मोडमा शेरबहादुर देउवाको साथमा उभिए ।

यसपालि प्रदेश अधिवेशनहरुमा पनि सिटौलाले यही विधि लगाए । सिटौलाले १ र वागमती प्रदेशमा देउवा नै बलियो भएकाले उनीसित सहमति गरे, गण्डकी र लुम्बिनीमा पौडेल पक्षलाई साथ दिए । प्रदेश अधिवेशहरुमा सिटौलाले जसलाई साथ दिए, त्यही समूह हावी भयो । कर्णाली र सुदूरपश्चिममा भने अस्तित्व जोगाउने भन्दै उनी कतै लागेनन् देउवा पक्ष बलियो भएर आयो ।

केन्द्रीय महाधिवेशनमा पनि सिटौलाले सुरुमा रामचन्द्र पौडेलसँग नै मिलेर अघि बढ्न खोजेका थिए । सिटौला र पौडेलका बीचमा बारम्बार संवाद पनि भयो । सिटौलाले पौडेलसँग ४० प्रतिशत हिस्सा मागे, पौडेलले ३३ प्रतिशतसम्म दिन सक्छु भने ।

शशांक कोइराला पनि सिटौलासहित मिलेर देउवाको विकल्प खोज्न अघि बढ्नुपर्छ भन्ने विचारमा थिए । तर प्रकाशमान सिंह र शेखर कोइरालाले सिटौलासँग संवाद पनि गरेनन् । इतर समूहको नालीबेली नियालिरहेको सस्थापन समूह सिटौलालाई फकाउन कस्सियो । देउवाको दूत बनेर नेता रमेश लेखक बारम्बार सिटौला निवास चण्डोल धाइरहे ।

लेखकले सिटौलासँग ‘तपाईंहरुलाई उपसभापति, महामन्त्री, सहमहामन्त्री दिन्छौं’ भनेर प्रस्ताव गरे । सिटौला सकारात्मक देखिए र उपसभापतिबारे देउवासँग आफूले छुट्टै संवाद गर्ने जनाउ दिए । ‘उहाँको एउटा चाहना थियो उपसभापति भएर शेरबहादुरको कार्यवाहक सभापति खाने । तर कोइराला परिवारले यस्तो षड्यन्त्र गरे २५ गते बिहानसम्म शशांक कोइराला उपसभापति भने’ सिटौला निकट एक नेताले भने, ‘शशांकसित कृष्ण दाइ उपसभापतिको प्रतिस्पर्धा गर्न रुचाउनुभएन । प्रदीप पौडेललाई अघि सार्नुभयो ।’

जब सिटौलाले मेरो नेतृत्व प्रदीप पौडेलले लिन्छ भने शशांक उपसभापतिमा उठेनन्, उम्मेदवारी दिन सिटौलालाई पनि ढिलो भइसकेको थियो । तर कहिले आफ्ना लागि र कहिले आफ्नो टीमका लागि शक्ति र सत्ताकै नजिक रहने पुरानो नजीर भने सिटौलाले यसपटक पनि दोहोर्‍याए ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?