
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि लड्दै गर्दा डा. शेखर कोइरालाको एक मात्र रणनीति थियो– शेरबहादुर देउवालाई पहिलो चरणमा रोक्ने । सभापतिका अरु उम्मेदवारको पनि एजेण्डा नेतृत्व परिर्वतन भएकाले दोस्रो चरणमा उनीहरुको साथ लिएर देउवालाई हराउन सकिने उनको बुझाइ थियो ।
शेखर त्यसमा सफल देखिए । कृष्णप्रसाद सिटौलाको समूहले समर्थन गर्दा पनि देउवाले पहिलो चरणमा बहुमत जुटाउन सकेनन् । सभापतिमा निर्वाचित हुन खसेको मत ४ हजार ६७९ को बहुमत अर्थात २३४० चाहिन्थ्यो, तर देउवाले २ हजार २५८ मात्र पाए । दोस्रो स्थानमा रहेका शेखरले १७०२ मत पाए ।
देउवा इतरका चार उम्मेदवारले पाएको मत बहुमत भएकाले उत्साहित शेखर र उनको टीमले संस्थापन इतरका सबैको साथ खोजे, तर परिणाम उल्टो आयो । सबैले देउवालाई साथ दिए । त्यसको सुरुवात प्रकाशमान सिंहले गरे ।
मतदान सकिँदा नसकिँदै देउवाको सन्देश बोकेर गृहमन्त्री बालकृष्ण खाँण, सिंहको निवास चाक्सीबारी पुगेका थिए । त्यसको केहीबेरमा प्रधानमन्त्री एवं काग्रेस सभापति देउवा आफैं चाक्सीबारी पुगे । भेटवार्तापछि देउवाको छेउमा उभिएर सिंहले पत्रकारहरुसँग भने, ‘दोस्रो चरणमा हामी उहाँलाई नै समर्थन गर्ने निर्णयमा पुगेका छौं ।’
आफूहरुले नेतृत्व परिर्वतन गर्नुपर्छ भनेर निर्वाचनमा भाग लिएपनि महाधिवेशन प्रतिनिधिको बहुमतले वर्तमान सभापतिलाई स्वीकार गरेको देखिएको र देउवाले विधान संशोधनदेखि अन्य कमीकमजोरी सुधारसम्मको प्रतिवद्धता जनाएको उनले सुनाए ।
दोस्रो चरणमा समर्थन गर्ने सिंहको बचन भुइँमा खस्न नपाउँदै देउवाले मुस्कुराउँदै हात जोडेर धन्यवाद ज्ञापन गरे ।
सिंहको यो निर्णय देउवाका निम्ति पार्टी सभापतिमा दोहोरिने सञ्जिवनी बुटी थियो भने शेखरका लागि सरप्राइज । ‘प्रकाश दाइले पछिल्ला ३–४ वर्ष ‘एन्टी देउवा’ राजनीति गर्नु भयो’, शेखरनिकट एक नेता भन्छन्, ‘अहिले उहाँले नै समर्थन गर्नु हाम्रा लागि सरप्राइज हो ।’
हुन पनि, ११ फागुन २०७४ मा संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गरेका सिंहले त्यसयता उनको नेतृत्वमाथि लगातार प्रश्न गर्दै आएका छन् । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिँदा पनि नेतृत्व परिर्वतन नै एजेण्डा बनाएका थिए ।
देउवालाई समर्थन गर्ने सिंहको निर्णयको प्रभाव सभापतिका अर्का उम्मेदवार निधिमा पनि पर्यो । दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी गर्ने आफ्नो अडानमा उनी ४८ घण्टा पनि टिक्न सकेनन् ।
२६ मंसिरमा मतदान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निधिले पहिलो चरणमा कसैको बहुमत नआउने, दोस्रो चरणमा तीन उम्मेदवार मिलेर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका थिए ।
तर, दोस्रो चरणको मतदानअघि देउवा आफ्नै निवासमा आएपछि निधिले आफैंले विद्रोह गरेको संस्थापन समूहका नेतालाई समर्थन गर्ने वचनका साथ विदा गरे ।
सिंह र निधिले गरेको राजनीति
२०७२ फागुनको १३ औं महाधिवेशनमा पनि देउवा पहिलो चरणमा ८ मतले बहुमतबाट चुकेका थिए । दोस्रो चरणमा तत्कालीन संस्थापन समूहबाट विद्रोह गरेका कृष्णप्रसाद सिटौलाको साथ पाएर कांग्रेस सभापति चुनिएका थिए ।
यो पटक सिटौलाले सुरुमै देउवालाई साथ दिए । तथापि, पहिलो चरणमा बहुमत पुगेन । यो पटक दोस्रो चरणमा प्रकाशमान सिंह र विमलेन्द्र निधिहरु १३ औं महाधिवेशनको सिटौलाको भूमिकामा देखिए । जसको नेतृत्व स्वीकार्य छैन भनेर सभापतिमा चुनाव लडे, उनलाई नै समर्थन गर्ने निर्णयमा किन पुगे प्रकाशमान र विमलेन्द्र निधि ?
सिंहको समूहमा शेखरलाई समर्थन गरौं भन्ने मत पनि थियो । ‘हिजो नेतृत्व परिर्वतन हुनुपर्छ भन्यौं । आफू नभएपनि अर्को नेतृत्व परिर्वतनको पक्षमा उभिनुपर्ने मत पनि आएको थियो,’ एक नेता भन्छन्, ‘कोइरालाहरुले मेरो नेतृत्व स्वीकार गरेनन् भनेर मान्नु भएन ।यो आवेगमा पनि उहाँले देउवालाई समर्थन गर्ने निर्णय गर्नुभयो ।’
अर्थात उनी शेखरलाई जसरी पनि रोक्न चाहन्थे । निधिले पनि शेखरलाई रोक्दा नै भोलिका दिनमा सहज हुने देखे । कोइराला टिमका एक नेताका अनुसार, दोस्रो चरणको मतदानमा समर्थन गरेर शेखरलाई जिताए आफ्नो भोलिको राजनीति खतरामा पर्ने महसुस सिंह र निधिले गरेको हुनुपर्छ ।
देउवाले पूर्वमहामन्त्री सिंहलाई उपप्राधनमन्त्री र सुजाता कोइरालालाई विधान संशोधन गरेर महिला उपसभापति बनाउने आश्वास समेत दिएको दाबी छ । एक नेता भन्छन्, ‘अरु ‘फ्याक्टर’हरु पनि छन्, जुन क्रमशः खुल्दै जाला ।’
प्रतिक्रिया 4