+
+
शेयर शिक्षा :

सर्किट ब्रेक भनेको के हो ? किन रोकिन्छ शेयर कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १८:४८

२८ मंसिर, काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा मंगलबार तीन पटक सकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो । पहिलो पटक ४ प्रतिशत, दोस्रो पटक ५ प्रतिशत र तेस्रो पटक ६ प्रतिशत विन्दुले बजार बढेपछि मंगलबारका लागि पूरा अवधि शेयर कारोबार नगरी बन्द गरियो ।

शेयर कारोबार मापक नेप्से परिसूचक ३२ सयमा पुगेपछि ओरालो लाग्ने क्रम शुरु भई सोमबारसम्म करिब १ हजार अंकले घटिसकेको थियो । शेयर बजारको पुँजीकरण समेत १२ खर्ब रुपैयाँले घटिसकेको थियो । लगातार शेयर बजारमा आएको गिरावटले निराश भएका लगानीकर्ता मंगलबारको कारोबारले हौसिएका छन् ।

मंगलबार बजारमा शेयर किन्न खोज्नेहरु धेरै भए पनि धेरै लगानीकर्ताहरुले बिक्री गरेनन् । शेयर कारोबार गर्नका लागि आवश्यक डिम्याट खाता नेपालमा ४७ लाख वटा खोलिएको छ । तर यी डिम्याट खाता प्रयोगकर्ता धेरैलाई सर्किट ब्रेकका विषयमा जानकारी नहुन सक्छ । मंगलबार बजार धेरै बढेका कारण सर्किट ब्रेक लागेको छ । बजार धेरै घट्दा पनि सर्किट ब्रेक लाग्छ ।

शेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार–चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो ।

अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्जले २०६४ सालदेखि सर्किट ब्रेकको व्यवस्था गरेको छ । २०६४ अघि शेयर बजारमा एकैदिन जति पनि घटबढ हुनसक्ने व्यवस्था थियो । यो व्यवस्थापछि एकै दिनमा नेप्से परिसूचक ६ प्रतिशत भन्दा बढी बढ्न वा घट्न सक्दैन । समग्र बजारमामात्रै होइन सर्किट ब्रेकरको व्यवस्था नेप्सेले कम्पनीहरुमा समेत लगाएको छ । कुनै कम्पनीको शेयर मूल्य १० प्रतिशत घटबढ भएमा सर्किट ब्रेकर लगाइन्छ ।

एकैदिन कुनै पनि कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरै घट्ने वा बढ्ने हुन सक्दैन । मानौं, ‘ए’ भन्ने कम्पनीको शेयर मूल्य १ सय रुपैयाँ छ । यो कम्पनीको शेयर मूल्य ११० रुपैयाँको विन्दुमा पुगेमा सर्किट ब्रेकर लाग्छ । घट्दा पनि सोही किसिमले १० प्रतिशतबाट घटेर ९० मा झर्न सक्छ । तर एकैदिन एक सयबाट घटेर ८९ रुपैयाँमा झर्दैन । कम्पनीको मूल्यमा सर्किट लाग्दा अरु कम्पनीको कारोबार भने रोकिदैन ।

कसरी हुन्छ कारोबार बन्द ?

कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?