
२८ मंसिर, काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले अहिलेको सरकार मन्त्री र उनीहरुको परिवारका लागि मात्र भएको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नागरिकले सरकार छ र भन्न थालेको टिप्पणी गरे ।
‘देश सरकारविहीनताको अवस्थामा रहेको छ अहिले जनताले सरकार छ र भन्न थालिसकेका छन् । सरकार मन्त्रीहरु र उनीहरुको परिवारको लागि मात्रै भएको छ’ उनले भने ।
राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय भएको पनि उनले बताए ।
‘हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय बनेको छ, देश संघीयता, लोकतन्त्रको व्यवस्थाअनुरुप चल्न सकेको छैन’ भट्टराईले भने, ‘देश सरकारको अकर्मण्यता र सभामुखको अकर्मण्यताका कारण देशको राजनीति गलत दिशामा अघि बढिरहेको छ ।’
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सामाजिक सुरक्षा ऐनसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेश गरिन् ।
राष्ट्रियसभाको अर्को बैठक आगामी पुस ५ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया 4