
२९ मंसिर, काठमाडौं। जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेले चीनले कुनै सैन्य दुस्साहस गरे आत्मघाती हुने बताएका छन्।
मंगलबार एक सुरक्षा मञ्चमा भिडियो सन्देश पठाउँदै आबेले चीनले कुनै सैन्य दुस्साहस गरे आत्मघाती हुने बताएका हुन् । उनले चीनलाई आफ्ना छिमेकी नउक्साउन र भौगोलिक विस्तार नखोज्न पनि अपिल गरेका हुन् ।
‘सैन्य मामिलामा चीन जस्ता भीमकाय अर्थतन्त्रले गर्ने दुस्साहस आत्मघाती हुन सक्छ’, आबेले भने, ‘हामीले उनीहरूलाई भौगोलिक विस्तारमा नलाग्न र धम्कीमार्फत् आफ्ना छिमेकीलाई नउक्साउन भन्नुपर्छ किनभने यस्तो कार्यले उनीहरूको हितमाथि हानि पुग्छ ।’
आवेले आफ्नो सन्देशमा क्षेत्रीय व्यापार सम्झौता सीपीटीपीपी र विश्व स्वास्थ्य संगठनमा ताइवानको सहभागिताप्रति समेत समर्थन जनाएका थिए । ‘अमेरिका, जापान र यस्तै धारणा राख्ने अन्य मुलुकले विश्वव्यापी महत्वका अन्तर्राष्ट्रिय संगठनमा ताइवानलाई ल्याउन कसरत गर्नुपर्छ’, उनले भने, ‘डब्ल्यूएचओ यस्तो सूचीको शीर्ष स्थानमा आउँछ ।’
आबेले यसै महिनाको सुरुमा ताइवानमा आइपर्ने आतपकाल जापानको पनि आपतकाल भएको टिप्पणी गर्दै चिनियाँ राष्ट्रपति सी जिनफिङले यो कुरा बुझ्नु पर्ने बताएका थिए ।
अबेले डिसेम्बर १ मा गरेको उक्त टिप्पणीलाई चिनियाँ उप-विदेश मन्त्री हुआ चुनिङ ‘त्रुटिपूर्ण’ भन्दै द्धपक्षीय सम्बन्धका आधारभूत मान्यता उल्लंघन भएको बताएकी थिइन् । अबेको टिप्पणीलगत्तै चीनले जापानी राजदूतलाई बोलाएको थियो । अलजजिराबाट
प्रतिक्रिया 4