+
+

प्रदेश २ मा लोसपाको अवरोधकै बीच दुई अध्यादेश पेश

नाम र राजधानीको प्रस्ताव पेश भएन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोधका बाबजुद प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १५:०८

२९ मंसिर, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोधका बाबजुद प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेका हुन् ।

अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक सभाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए । लोसपा सांसदको अवरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित गरेका सभामुख सरोजकुमार यादवले त्यसपछिको बैठकमा भने विरोधकै बीच अध्यादेश पेश गर्न दिए ।

लोसपा सांसद परमेश्वर साहले आफूहरुको विरोधका बाबजुद अध्यादेश पेश गरिएको बताए । चलिरहेको प्रदेश सभालाई बन्द गरी अध्यादेश ल्याएर सरकारले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको भन्दै उनले यसमा आफूहरुको विरोध रहिरहने बताए ।

नाम र राजधानीको प्रस्ताव पेश भएन

बुधबार शुरु भएको प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठकमा प्रदेशको नामाकरण र राजधानी सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो । तर सभामुख सरोजकुमार यादवले यो प्रस्ताव यो बैठकको कार्यसूचबिाट हटाए ।

मंगलबारको बैठकको कार्यसूचीको ४ देखि १० नम्बरसम्म प्रदेशको नामाकरण र स्थायी राजधानीबारे प्रस्ताव पेश गर्ने उल्लेख गरिएको थियो । जसमा सांसद शैलेन्द्रकुमार यादव, भरत साह, प्रमोद यादव, शिवचन्द्र चौधरी, राजेश्वर प्रसाद साह र शारदादेवी थापाले प्रदेशको नामाकरणसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

यस्तै, कार्यसूचीको बुँदा नम्बर १० मा प्रदेशको राजधानी तोक्ने सम्बन्धी प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो ।

सभामुख यादवले अब प्रदेशसभाको बैठक पुस ८ गते बिहीबारका दिन बस्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?