
१ पुस, काठमाडौं । आफू नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)लाई नेपाली कांग्रेसमा विलय गराएर ‘सुरक्षाको राजनीति’ थालेका विजयकुमार गच्छदारका लागि पछिल्ला वर्ष सहज रहेनन् । ललिता निवास सरकारी जग्गा व्यक्तिको नाममा सारिएको प्रकरणमा मुछिएसँगै शुरु भएको उनको ओरालो यात्रालाई कांग्रेसको १४ औं महाधिवेशनले अझ भिरतर्फ लगेको छ ।
उपसभापतिमा उम्मेदवारी दिएका गच्छदार आफूभन्दा एक दशक पछाडि राजनीतिमा आएका धनराज गुरुङसँग २ मतान्तरले पराजित भए । पूर्णबहादुर खड्का २,१२१ मतसहित उपसभापतिमा चुनिँदा देउवा प्यानलबाटै उम्मेदवार बनेका गच्छदारले १,९०६ मत पाए । शेखर कोइराला प्यानका धनराज १,९०८ मतका साथ उपसभापतिमा निर्वाचित भएका छन् ।
झण्डै काटिएको थियो नाम
गच्छदारले २०७४ सालको आम निर्वाचनअघि (२८ कात्तिकमा) फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएर क्षेत्रीय राजनीतिको भारी बिसाएका थिए । लगत्तै मंसिरमा भएको चुनावमा गच्छदार मुश्किलले विजयी हुँदा रामजनम चौधरी, गोपाल दलितलगायत उनको समूहका नेताहरु पराजित भए । योगेन्द्र चौधरी लगायतले कांग्रेसबाट टिकटै पाएनन् । प्रदेशसभामा टिकट पाएकाहरु पनि पराजित भए ।
पार्टी सभापति शेरबहादुर देउवाले छहारी खोजिरहेका गच्छदारलाई उपसभापति मनोनित गरे । ललिता निवास प्रकरणमा मुद्दा पर्दा पनि ‘राजनीतिक पूर्वाग्रह प्रेरित’ भन्दै कांग्रेसले गच्छदारको बचाउ गर्यो । लामै समय ‘फरार’ रहेका गच्छदार, देउवा प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट ३० असार २०७८ मा विशेष अदालतमा उपस्थित भएर १० लाख रुपैयाँ धरौटीमा छुटे ।
गत ६ असोजमा पत्रकार सम्मेलन गरेर पार्टी नेतृत्वमा दाबी छैन भनेका गच्छदारले देउवाको टिममा उपसभापतिका लागि लविङ गरे । करिव १८ हजार क्रियाशील सदस्य पाएको गच्छदार समूहले आफ्नो २५० देखि २६० जनासम्म महाधिवेशन प्रतिनिधि आएको दाबी गरेको थियो । त्यसअनुसार आफूलाई उपसभापति र रामजनम चौधरीलाई थारुतर्फबाट सहमहामन्त्री बनाउन गच्छदारले प्रस्ताव गरेका थिए ।
तर उनी स्वयंलाई नै देउवाको टिममा पर्न सकस भयो । देउवा प्यानलबाट उपसभापतिका पहिलो उम्मेदवार पूर्णबहादुर खड्का भए । पहिलो चरणमै सभापतिमा दोहोरिन चाहेका देउवाले कृष्णप्रसाद सिटौलालाई आफ्नो उपसभापति बन्न आग्रह गरेका थिए । सिटौलाले त्यो प्रस्ताव स्वीकार गरेको भए गच्छदारको नाम काटिने थियो ।
सिटौलाले भने आफूलाई उपसभापति होइन, प्रदीप पौडेललाई महामन्त्री बनाउन भने । प्रदीपले महामन्त्री पाउने भएपछि ज्ञानेन्द्रबहादुर कार्कीले उपसभापतिमा दाबी गरे । अन्ततः देउवा प्यानलमा रामजनमलाई सहमहामन्त्रीको दाबीबाट ‘ब्याक’ गराएर गच्छदारले उपसभापतिको टिकट हात पारे ।
अबको यात्रा झन् कठिन
२०२७ सालबाट कांग्रेसको राजनीतिमा सक्रिय विजयकुमार गच्छदार २०५२ मा केन्द्रीय सदस्य भएका थिए । देउवाले पार्टी फुटाएर काग्रेस (प्रजातान्त्रिक) बनाउँदा उनी महामन्त्री पाए । देउवासँगै कांग्रेसमा फर्किएका उनले पहिलो संविधानसभा चुनावअघि कांग्रेस छाडेर मधेस केन्द्रित राजनीति थाले ।
२०६४ सालमा मधेसी जनअधिकार फोरममा गएका उनले फोरम फुटाएर फोरम (लोकतान्त्रिक) बनाए । लामो समय सत्ता वरिपरि रहेका उनी २०७४ सालमा फेरि कांग्रेसमा फर्किए । २०४८, २०५१, २०५६ मा प्रतिनिधिसभा सदस्य, २०६४ र २०७० को संविधासभा र २०७४ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका उनी पाँचपटक उपप्रधानमन्त्री समेत भइसकेका छन् ।
कांग्रेस फर्किएपछि सत्ताबाट टाढा पुगेका गच्छदार १४ औं महाधिवेशनबाट पार्टी पदाधिकारी पनि रहेनन् । उनको राजनीतिक जीवन ओरालो यात्रामा देखिन्छ, भलै उनी निकट नेताहरु एउटा हारले राजनीति नसकिने बताइरहेका छन् ।
गच्छदार निकट रामजनम चौधरी भन्छन्, ‘अबको यात्रा अझ कठिन हुनसक्छ, तर एउटा हारले राजनीति सकिँदैन । मैले (प्रतिनिधिसभा) चुनाव हारेँ, तर फेरि जितेर आउँछु भन्ने छ । किनभने, राजनीनामा सम्भावना सँधै रहन्छ ।’
अर्का नेता योगेन्द्र चौधरी, गच्छदारलाई थारु, मधेसी, आदिवासीको प्रतिनिधि मान्छन् । त्यसैले उनीसहित सभापतिमा पराजित प्रकाशमान सिंह, विमलेन्द्र निधिहरुलाई पार्टीमा भूमिका दिनु आवश्यक देख्छन् । उनी भन्छन्, ‘उहाँलाई पाखा लगाउँदा त पार्टीले पनि क्षति व्यहोनु पर्ला नि !’
प्रतिक्रिया 4