+
+

रुसलाई ईयूका नेताहरुको चेतावनी : युक्रेनमा हमला गरे गम्भीर मूल्य चुकाउनु पर्नेछ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १३:३७

२ पुस, काठमाडौं। युरोपेली युनियनका नेताहरूले युक्रेनमाथि हमला गरे रुसले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

ब्रसेल्समा सम्पन्न सम्मेलनपछि बिहीबार एक विज्ञप्ति जारी गर्दै युरोपेली युनियन (ईयू) का नेताहरूले रुसलाई चेतावनी दिँदै युक्रेनमाथि हमला गरे ‘व्यापक परिणाम र गम्भी मूल्य चुकाउनु पर्ने’ बताएका हुन् ।

‘युरोपेली आयोगले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति पुन: समर्थन जाहेर गर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनमाथि हुने थप सैनिक हमलाले प्रतिक्रिया स्वरुप व्यापक परिणाम एवं गम्भीर मूल्य निम्त्याउने छ ।’

त्यस्तै, युक्रेनमाथि हमला भएको खण्डमा अमेरिका र बेलायतसँग मिलेर रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउन समेत युरोपेली नेताहरू सहमत भएका छन् । तर मस्कोसँग हुने थप कुटनीतिक वार्तालाई प्रोत्साहन गर्नुपर्ने पनि नेताहरूको भनाइ छ ।

केही वर्षदेखि पश्चिमी मुलुक र रुसबीच तनावको मुख्य कारण युक्रेन बन्दै आएको छ । सन् २०१४ मा रुसले क्राइमिया गाभेपछि पश्चिमी मुलुकले रुसी ऊर्जा, बैङ्किङ र रक्षा क्षेत्रलाई लक्षित गरी आर्थिक प्रतिबन्ध लगाएका थिए ।

रुसले युक्रेनमाथि हमला गर्ने योजना स्वरुप सीमाना नजिकै हजारौं सैनिक र हतियार तैनाथ गरेको पश्मिची मुलुकको आरोप लगाउँदै आएका छन् । तर रुसले भने युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै उद्देश्य नरहेको प्रस्त पार्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?