+
+

उधौली : प्रकृतिसँग लय मिलाउने पर्व

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १३:४१
फाइल तस्वीर

४ पुस, काठमाडौं । किरात समुदायको बसोबास रहेको पूर्वी पहाडमा बारीमा पैँयू फुल्न थालेपछि मनाइने उधौली पर्व आइतबार धुमधामका साथ मनाइँदैछ । लेकमा बढी चिसो हुने भएपछि मंसिर पूर्णिमादेखि उँधो अर्थात् तराई वा बेंसीतिर झर्ने चलन छ । त्यसैलाई उधौली अर्थात् चासोक तङनाम पर्वको रुपमा चिनिन्छ ।

विशेषगरी पूर्वी नेपालमा धुमधामसाथ मनाइने यो पर्व दुई सातासम्म विविध कार्यक्रम गरी मनाइन्छ । प्रकृतिपूजक आदिवासी लिम्बू जातिले कृषिमा आधारित जीवनशैली अपनाई आएको र ऋतु परिवर्तनसँगसँगै खेतबारीमा लगाएको अन्नबाली बटुल्ने समयलाई चासोक तङनाम भन्ने गरिन्छ ।

यसलाई न्वागी उत्सव पनि भन्ने गरिएको लिम्बू संस्कृतिबारे जानकारहरु बताउँछन् । लिम्बू संस्कृति अनुसार साम्वा र सिंहफेदाङबाले न्वागी पूजा अर्चना गरेपछि चासोक तङनाम शुरु भएको मानिन्छ ।

यतिबेला किरात समुदाय उधौली पर्व मनाइरहेका छन् । प्रकृतिपूजक किरातहरुले मनाउने यो पर्व एउटा समय-सूचक पनि हो । खेतीपाती एवं पशुपालन गर्ने किरातका पूर्खाहरुले प्रकृतिसँग लय मिलाउँदै यो उत्सव मनाउन शुरु गरेका हुन् । सुनुवार, राई, लिम्बु, याख्खा जातिले यो उत्सव मनाउने गर्छन् ।

के-के गरिन्छ यो पर्वमा ?

यो पर्वको समयमा सबै जना एकै ठाउँमा भेला भएर साकेला सिली नाच नाच्ने गर्छन् । पूजा सकिएपछि सखेवालुङ अर्थात् धीःलाई पूजाथानमा नै गाडेर राख्ने गर्दछन् । यो प्रक्रिया दोहोरिरहन्छ । प्रत्येक पूजाको समयमा सखेवालुङलाई खनेर निकाली पूजा गर्ने चलन छ ।

त्यसपछि १०-१५ दिनसम्म विभिन्न गाउँका मानिसहरु मिलेर ढोलझ्याम्टा बजाउँदै साकेला नाच नाच्दै रमाइलोसँग यो चाड मान्ने गर्दछन् । यसरी साकेला नाच्दा साकेला थानमा सिपालु मासुमी (विशेषगरी महिलाहरु) सक्रिय हुन्छन् । तर, भूमेथानभन्दा अन्यत्र भने प्रायः महिला-पुरुष संयुक्त रुपमा नाच्ने गर्दछन् । यो नाच शहरबजारतिर पनि निकै लोकप्रिय बन्दै गएको देखिन्छ । यसलाई शहरतिर चण्डी नाच पनि भन्ने गरिएको छ । तर, चण्डी नाच भन्नु गलत भएको किरात समुदायसम्बन्धी जानकारहरु बताउँछन् ।

त्यस्तै, घरभित्र विधिपूर्वक कुबीले चुला पूजा गर्ने हुँदा अगेनाको छेउमा थान तयार गरिन्छ । पूजामा एउटा कलश, दुई कठुवा रक्सी, जोडी चिण्डोमा चोखो जाँड, काँसेथालमा केही अक्षता र जोडी दियो बालेर राखिन्छ । यसपछि कुबीले विधिपूर्वक आफ्नो मुन्धुमअनुसार पूजा शुरु गर्दछन् । कुबीको साथमा एक तायामी, जोडी मासुमी, जोडी ढोलेसमेत हुनुपर्दछ । मासुमीहरु झ्याम्टा बजाउँछन्, ढोलेहरु ढोल बजाउँछन् र तायामीले कुबीलाई पूजा गर्नमा सहयोग गर्दै कुबीले कतै गलत बाटो लिएमा सम्झाएर सही ठाउँमा ल्याउने गर्दछन् ।

बिजुवा र कुबीको पूजा

किरात परम्परा अनुसार उधौली र उभौली पर्व मनाउने बेला नागपूजा÷भूमेपूजा गरी साकेवा कुबी (धामी)ले खोलाबाट सखेवालुङ (पूजाथानमा पुजिने अण्डा आकारको ढुङ्गा) निकालेर साकेला थानमा चढाउनु पर्ने प्रचलन छ । यस्ता कुबीहरु पनि जो पायो उहीले सिकेर पूजा गर्न सक्दैनन् । यस्ता कुबीहरुले सपनामा नै मुन्धुमी विद्या पाएर आएको हुनुपर्ने मान्यता छ ।

मुन्धुमहरुको पूजाको पनि दुई किसिमका विधि छन् । पहिलो सत् गतिमा मरेका पितृहरुको पूजा गर्ने कुबीहरु थानको भित्र बसेर पूजा गर्छन् भने असत् गतिमा मरेकाहरुको पूजा बिजुवा नामक पुजारीहरुले बाहिर पूजा गर्छन् । अहिले कुबी र बिजुवाहरुको समेत अभाव खड्किन थालेको साकेला गाउँपालिका-२ का मुन्धुम सम्बन्धी जानकार सनबहादुर राईले जानकारी दिए ।

यो पर्वमा भाले चढाएर पूजा गरिन्छ । त्यसपछि  घरघरमा सेउली जान्छन् । यो बढीमा १५ दिनसम्म मनाउने गरिन्छ । साकेला थानमा मात्रै गरिन्छ भने सेउली साकेला पछि गाउँगाउँमा पुगेर मनाइने परम्परा हो । सबैजना भेला भएर थानमा साकेला पूजा गरिसकेपछि कटुसको हाँगा काटेर त्यसलाई ठाउँठाउँमा गाढेर ढोल झ्याम्टा लिएर नाच्ने गरिन्छ । राईका अनुसार यो पूर्णिमापछि औंशीसम्म मात्रै चल्ने गर्छ । कुबीहरुको अभावका कारण १५ दिनमा पनि यो काम सक्न धौ धौ पर्न थालेको छ । पितृपूजा सकेर सेउली जाने गरिन्छ । यो काममा पनि कुबीहरु आवश्यक हुन्छन् । अहिले एउटै कुबीले ४÷५ सय घर धान्नुपर्ने अवस्था रहेको राई बताउँछन् ।

शिकारी युगबाटै शुरुआत

जङ्गली तथा शिकारी युगबाट कृषि पेशामा आबद्ध भएदेखि शुरु भएको विश्वास गरिने उधौली पर्व यो वर्ष पनि धुमधामका साथ मनाइँदै छ । खोटाङ जिल्लाबाट शुरु भएको यो पर्व देशका विभिन्न स्थानमा  विशेषगरी किरातहरुले र अहिले गैरकिरातहरुले समेत मनाउने गर्दछन् ।

उधौली र उभौलीमध्ये (मंसिरे धान्य पूर्णिमा)मा उधौली र वैशाखे चण्डी पूर्णिमा)मा उभौली पर्व मनाउने गरिन्छ । किरातीहरु प्रकृतिपूजक हुन् । किरातीहरुले खोला, नदीमा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर फर्किएको समयलाई उधौली भनेर मान्ने गर्छन् । त्यसैले यो पर्व मौसमी सूचना दिने सूचक पनि हो । भोजपुर र खोटाङको सिमानामा पर्ने छोङ्खा साकेन्वा (चाडको समयमा पूजा गरिने देवस्थल)लाई सबैभन्दा पुरानो साकेन्वा थानको रुपमा मान्ने गरिन्छ । यो कुरालाई विभिन्न शिलालेखहरुमा पनि उल्लेख गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?