+
+
अन्तर्वार्ता :

‘म किनारामा परें हुँला, तर कांग्रेसमा मैले चाहे जसरी बाँध फुटेको छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते २२:१६

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए डा. मिनेन्द्र रिजाल । शेरबहादुर देउवा पुनः सभापति सभापतिमा निर्वाचित हुँदा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री चुनिए ।

रिजाल पाँचौ स्थानमा रहे । उनलाई हार्न सक्छु भन्ने थियो, तर निकै मत मत आएपछि उनले गणना पनि नसकिँदै रक्षामन्त्रीबाट पनि राजीनामा दिए । पदाधिकारीमा सबै निर्वाचित गर्ने विधान वनाउन भूमिका खेलेका रिजाल आफू किनारामा परेपनि कांग्रेसमा आफू चाहे जसरी बाँध फुटेको मान्छन् ।

डा. रिजाल भन्छन्, पराजित भएँ भने मेरो व्यक्तिगत जीवनमा के प्रभाव पार्ला भन्ने आंकलन गरेको थिएँ, पार्टीको जीवनमा के प्रभाव पर्ला भन्ने पनि आंकलन गरेको थिएँ । बेलाबेला भन्ने पनि गरेको हो, मिनेन्द्र रिजाल भन्ने मान्छे एकएक राजनीतिबाट हरायो भने के हुन्छ त ? मेरो व्यक्तिगत जीवनमा फरक पर्ला, तर देशको जीवनमा खासै फरक पर्दैन । अहिले पनि म यसमा कन्भिन्स नै छु ।’

प्रस्तुत छ, महाधिवेशनको परिणाम र अबको बाटोबारे डा. रिजालसँग गरिएको कुराकानीको सम्पादित अंश:

पार्टी सभापतिमा धेरै आकांक्षी देखिदा कांग्रेसको रुखमा टाउकै टाउको भयो, छरितो बनाउनुपर्छ भन्नुहुन्थ्यो । १४ औं महाधिवेशनपछि कांग्रेसको रुख तपाईंहरुले चाहे जस्तो छरितो भयो त ?

मेरो मनमा त सकारात्मक तरंग छ । म सम्झिरहेको छु, पोहोर पुसको केन्द्रीय कार्यसमिति बैठकमा विधान फाइनल गर्ने क्रममा मैले एकदमै जिद्दी गरेर निर्वाचितबाहेक अरु नमान्ने कुरा गरेँ । सभापतिले दुई पटक बोलाउनुभयो र एक उपसभापति र एक महामन्त्री मनोनित गर्ने प्रावधान त राख्नुपर्‍यो भन्नुभयो । मैले महाधिवेशनपछि पनि अहिलेको जस्तै कांग्रेस बोकेर जानुपर्छ भन्ने लाग्दैन, यसमा सहयोग गर्न सक्दिनँ भनेँ ।

कृष्णप्रसाद सिटौलाजीसँग कुरा गर्दा उहाँले पनि सबै निर्वाचित हुनुपर्छ भन्नेमा सहमत भएर ‘पोजिसन’ लिनुभयो । त्यसपछि निर्वाचितबाहेक अर्को विकल्प छैन भन्ने पार्टी सभापतिलाई लाग्यो ।

केन्द्रीय कार्यसमिति बैठकमा पनि धेरै नेताले विधान ठीक छैन, अप्ठ्यारो हुन्छ भन्नुभयो । मैले १३ पदाधिकारी निर्वाचित गर्ने प्रावधान विधानमा राख्दा धेरै राम्रो होला भनेर सचेत मनले भनेको थिएँ । यसको राम्रो पक्ष, २६ जनाले त चुनाव हार्नुहुन्छ नि !

म लडेको प्यानलको भोटभन्दा ४–५ सय नै कम आउला, तर मैले चार वर्ष पार्टीलाई एक ठाउँमा जोडिराख्न गरेको काम र पार्टी असाध्यै अठ्यारोमा रहँदा प्रतिपक्षी भूमिकामा देखिने गरी खेलेको भूमिकाका कारण ३–४ सय मत थपिन्छ, १६–१७ सय मतमा रहन्छु भन्ने लागेको थियो ।

त्यसबेला हाम्रो ८५ जनाको केन्द्रीय कार्यसमिति थियो । ८५ मा ८५ जना नै आए भने कांग्रेस चल्छ ? चल्दैन । कमसेकम राष्ट्रिय महाधिवेशनबाट आधा मान्छे फिर्ता आउनु हुँदैन । अनि मात्र नयाँ पालुवा पलाउन सक्छ, नयाँ चुनौती सामना गर्न सक्ने कांग्रेस बन्छ ।

बालकृष्ण खाँणसंग धेरै कुरामा मेरो मत मिल्छ, तर यसमा मिलेन । उहाँले अरु पार्टीको अनुभव पनि हेरेकै छौं, अहिले यहाँ भएका २–४ जना हारे भने पार्टी एक रहन सक्दैन, त्यसैले सबै फर्किएर आउनसक्ने विधान बनाउनुपर्छ भन्नुभयो । तर, सबै निर्वाचित हुने विधान बन्यो ।

यो विधान बनेपछि मैले धेरै पटक भनेको छु– कांग्रेसको रुखमा टाउकै टाउको भयो । तर, छरितो हुनुपर्छ । म पनि हारुला, छेउ लागेर बसौंला । मैले त्यो सचेत मनले भनेको हुँ । किनभने, कांग्रेस उर्जाहीन भएको, सुस्ताएको, लोलाएको, भोलिको राजनीतिमा मासिने पो हो कि भन्ने चिन्ताबाट मुक्त नसकेको अवस्था थियो ।

हिजो राजनीति सधैं बेढंगी पो हुने हो कि भनेर आत्तिएका मानिसहरुले आशा गरेर नेकपा (एमाले), बिषेशत केपि ओलीजीलाई सरकार बनाउने अवसर दिए । आज उहाँहरुको पार्टी छिन्नभिन्न भएको छ । पार्टीमा ओलीजीको हात बलियो होला, तर एमालेको महाधिवेशन हेरेर मानिसहरुमा नैराश्य झन् बढेजस्तो लाग्छ ।

हामी सरकारमा आएपछि तानाशाही बाटो रोकिएको छ, तर मानिसहरुले धेरै सन्तोष गरेका छैनन् । मानिसहरु नयाँ–नयाँ निर्णय गर्ने सोच बनाएर बसेका छन् कि जस्तो लाग्छ ।

जति ढिला गरेपनि निर्वाचन एक वर्षभन्दा पर जान सक्तैन । निर्वाचनमा कांग्रेस के भनेर जाने ? अस्तिकै केन्द्रीय कार्यसमिति जस्ताको त्यस्तै फर्किएर हामीलाई भोट हाल्नुस् भन्दा आममानिस आश्वस्त हुन्नथे होला ।

आज गगन थापा, विश्वप्रकाश शर्मा मात्र होइन, पदाधिकारीमा सभापति शेरबहादुर देउवा र उपसभापति पुर्णबहादुर खड्का बाहेक कोही पनि ६० नाघेका छैनन् । ५० पनि नपुगेका साथीहरु पदाधिकारी हुनुभएको छ ।

दुनियाँ बिर्सौं, यही उमेरमा बीपी कोइराला नेपालको प्रधानमन्त्री हुनुभएको थियो । कृष्णप्रसाद भट्टराई ३५ वर्षमा सभामुख हुनुभएको थियो । अहिले पदाधिकारीमा निर्वाचित साथीहरु अनुभवविहीन पनि होइन । पटक–पटक सांसद, मन्त्री भइसकेका साथीहरु हुनुहुन्छ । एकहदसम्मको तयारी पनि गरिसकेको देखिन्छ ।

कांग्रेसमा यो परिर्वतन आवश्यक थियो, त्यसैले पुरानो बाँध फुटयो ।

नेतृत्वको जाम खोल्नुपर्छ भनेर नै सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको हो ?

कांग्रेसको नेतृत्व यति जाम भइसकेको थियो कि अर्को कुनै उपायबाट यो बाँध फुट्न सक्दैनथ्यो । सोच्नुस् त, शेरबहादुर देउवा नै सभापतिमा निर्वाचित हुनुभएको र उहाँलाई नै केन्द्रीय कार्यसमिति बनाउँने जिम्मा दिएको भए नयाँ अनुहारमा बढी से बढी सहमहामन्त्रीमा आउँथे होलान् ।

अब यो नेतृत्वले काम गर्दै जाँदा संघीयको ‘सेन्टिमेन्ट’ समात्ने, समावेशी चरित्र अपनाउने गरी कांग्रेस सभापतीय पद्धतिमा जानुपर्छ । बीपी कोइरालाको पालाको विधानमा जस्तो महाधिवेशनले सभापति चुन्ने र महासमितिमा गएर मैले यो टिम बनाएँ भनेर अनुमोदन गराउने विधान बनाउनुपर्छ भन्ने लाग्छ । त्यहाँ पुग्नु अगाडि यो चरण पार गर्नुपर्ने थियो ।

यो विधान बनाउने समितिको संयोजक पूर्णबहादुर खड्का हुनुहुन्थ्यो, तर निर्वाचन पद्धतिमा मैले बढी काम गर्ने अवसर पाएँ । यसमा मलाई पश्चाताप छैन ।

‘बाँध भत्काउने विधान’ बनाउँदै गर्दा आफैं किनारामा पर्न सक्नसक्छु भन्ने लागेन ?

किनारामा पर्ने जोखिम छ भन्ने थियो, तर, मप्रतिको समर्थन यति संकुचित छ जस्तो लागेको थिएन ।

भनेको यति नमिठो हारको अपेक्षा थिएन ?

पहिला मेरो हारका कारणको कुरा गरौं । म शशांक कोइरालालाई पार्टी सभापति बनाउनुपर्छ भनेर लागेको मान्छे हुँ । उहाँसँग नजिक भएका साथीहरुले नै विभिन्न ठाउँमा अब शशांक कोइराला पार्टी सभापति लड्नु हुन्न, अर्को स्थान बन्नुपर्छ भनेको थाहा पाएँ । अनि हाम्रो टीमबाट रामचन्द्र पौडेल सभापतिमा लड्दा हुन्छ भन्ने लाग्यो, तर उहाँको पक्षमा सहमति जुटाउने वातावरण बनेन ।

त्यसपछि मैले शेखरजीलाई घरमा बेलाएर कुरा गरेँ । अर्को दिन शेखर र शशांकजीलाई बोलाएँ । दुई जनाबीच के समझदारी हुनसक्छ भनेर कुरा गरेँ । त्यसमा कति प्रयास गर्नपर्‍यो, सबैलाई थाहै छ ।

पछिल्लो चरणमा प्रकाशमानजी पनि लड्ने, शेखरजी पनि लड्ने । अनि रामचन्द्र पौडेल अन्यायमा परेजस्तो लागेपछि अरु जे सुकै होला, उहाँलाई सभापति बनाउन हिँड्नु उपयुक्त होला भन्ने लाग्यो ।

रामचन्द्रमा कुरा हुँदा शेखरलाई उपसभापति लड्नुस् भन्दा उहाँले सदस्य मात्र बन्छु भन्नुभयो । प्रकाशमान सिंहले सभापति छाड्न नमानेपछि रामचन्द्र दाइलाई चुनाव नलडाउने प्रयत्नमा लागेँ ।

यो क्रममा महेश आचार्य र म सँगै हिँडेका थियौं । हामीलाई कहिँ न कहिँ एउटा विकल्प रहनुपर्छ, र रामचन्द्रजी त्यो विकल्प रहनुस् भन्ने थियो । शशांक कोइरालालाई पनि यो विकल्पमा राख्ने मेरो मनशाय रह्यो ।

मेरो सद्भाव छ, सहयोग रहने छ– अहिलेको टिमले नेपालको बग्रेल्ती चुनौती सामना गर्दै, अभूतपूर्व अवसर सदपुयोग गर्न सक्ने कांग्रेस बनाउन सकोस् । तर केही गरी तलमाथि पर्‍यो भने विकल्पका रुपमा रामचन्द्र पौडेल, शशांक कोइराला रहिरहनुभयो भने ठीक हुन्छ भन्ने लाग्छ ।

गएको चार वर्ष कांग्रेसमा असाध्यै ध्रुविकृत राजनीति भयो । पार्टी कहिँ न कहिँ एकठाउँमा हुनुपर्छ, महाधिवेशनसम्म पुर्‍याउनुपर्छ भनेर म हरेक कचपचमा समन्वय गर्ने भूमिकामा रहन खोजेँ । त्यही क्रममा असाध्यै दिक्दार लागेर केन्द्रीय कार्यसमितिमै भनेको थिएँ–शेरबहादुरजी नजिक कतिपय साथीहरुलाई मिनेन्द्र रिजाल आएर हाम्रो भाग खाइदेला कि भन्ने लागेको छ, तपाईंहरु ढुक्कसाथ बस्नुस्, म तपाईंहरुको ठाउँ खोस्न आउँदिन । म जुन ठाउँमा छु, रामचन्द्र पौडेल समूहका साथीहरुमा पनि यसले छाडेर पो जाला कि भन्ने शंका छ । त्यो आशंका त्याग्नुस्, म यही बस्छु । पार्टी एकठाउँमा बसेर महाधिवेशनसम्म पुगोस्, लोकतान्त्रिक प्रक्रियाबाट सहज रुपमा नयाँ नेतृत्व छान्न सकोस् भन्दै गर्दा म अलिकति ‘मिस अण्डरस्टुड’ भएँ कि भनेजस्तो लाग्छ ।

शशांकलाई सभापति बनाउने बाटो नबन्ने भएपछि मैले जे–जे उपाय छ, त्यो गर्दै जाँदा शेखरको टिममा हिँड्न लागेको जहाजको यात्री जस्तो बन्न पुगेँँ । यसले गर्दा पनि ‘एक्रस द स्पेक्ट्रम’ भए जस्तो लाग्छ ।

क्रियाशील सदस्यबारे झगडा, फिराद धेरै हुँदा सभापतिलाई पनि समन्वयकारीभन्दा एउटा पक्षका लागि निहुँ खोज्ने मिनेन्द्र रिजाल भयो भन्ने लाग्यो होला । निर्वाचनको मुखमा एउटा पक्षको पृष्ठपोषण गर्नेगरी मैले दिएको सार्वजनिक अभिव्यक्ति उहाँ र उहाँका मान्छेका लागि अरुचिकर भयो होला । त्यसैले चारैतिर ‘मिस अण्डरस्टुड’ भएँ जस्तो लाग्छ । यसले गर्दा पनि मैले अपेक्षा गरेभन्दा वा ‘डिजर्भ’ गर्नेभन्दा निकै कम मत पाएँ जस्तो लाग्छ । यसबाट म धेरै दुःखी भने छैन ।

म किनारामा परेको हुँला, तर नेपाली कांग्रेसमा मैले चाहे जसरी बाँध फुटेको छ । मैले कति मत पाएँ, यो धेरै महत्वपूर्ण कुरा होइन । कसले जिम्मेवारी पायो भन्ने महत्वपूर्ण हो । जिम्मेवारी पाएका अनुहारहरु हेर्दा मैले सोचे जस्तो कांग्रेस बनेजस्तो लाग्छ ।

व्यक्तिगत रुपमा यति धेरै ‘मिस अण्डरस्टुड’ भइसकेपछि, समर्थन यति संकुचित भइसकेपछि मैले रक्षामन्त्रीबाट राजीनामा गर्ने मात्र विकल्प रह्यो ।

महामन्त्रीमा निर्वाचित गगन थापाले करिव ३ हजार र विश्वप्रकाश शर्माले झण्डै २ हजार मत पाउँदा तपाईंले ८०७ मात्र पाउनुभयो । यो चाहिँ अपेक्षित थियो ?

म लडेको प्यानलको भोटभन्दा ४–५ सय नै कम आउला, तर मैले चार वर्ष पार्टीलाई एक ठाउँमा जोडिराख्न गरेको काम र पार्टी असाध्यै अठ्यारोमा रहँदा प्रतिपक्षी भूमिकामा देखिने गरी खेलेको भूमिकाका कारण ३–४ सय मत थपिन्छ, १६–१७ सय मतमा रहन्छु भन्ने लागेको थियो ।

काठमाडौंमा बसेर क्रियाशील सदस्यताको विवाद मिलाउन लाग्दा कहाँको साथीले के सोचेको छ भनेर जान्ने, महाधिवेशन प्रतिनिधिहरुले के सोचेका छन् भनेर सोध्ने अवसर पाइनँ । यसर्थ मेरो आँकलन गलत पनि हुन सक्थ्यो ।

मेरो आंकलन मोटो रुपमा १६–१७ सय मत पाउँछु, पहिलो हुनेको तुलनामा २०० जति मतले पछाडि पर्छु होला भन्ने थियो । त्यसो हुँदा रक्षामन्त्रीको जिम्मेवारी ममा रहिरहने छ भन्ने थियो । तर, सोचेँ भन्दा निकै कम मत पाएँ ।

रक्षामन्त्रीबाट राजीनामा दिनुको कारण यही मात्र हो ?

मेरो अनुभूतिको कुरा गर्नुहुन्छ भने नेपाली सेनाको सबै तह मसँग खुसी थियो । सैनिक सम्बन्ध भएका मित्रराष्ट्रहरुले पनि मसँग सहकार्य गर्ने ‘रेस्पोन्स’ पाएको थिएँ । त्यसैले यो सरकारको कार्यकालभर रक्षामन्त्रीको जिम्मेवारीमा प्रतिवद्ध भएर काम गर्न चाहन्थेँ ।

पार्टी अधिवेशनमा सोचेजस्तो १६–१७ सय मत पाएको भए रक्षामन्त्री रहिरहन्थेँ, हारेकाले राजीनामा दिएँ । कम मत पाएपछि राजीनामा गर्नुबाहेक अर्को विकल्प ठीक लागेन ।

तपाईंले राजीनामा दिँदा मत गणना सकिएको थिएन । राजीनामा दिएपछि पार्टी नेताहरुले केही सोध्नुभएन ?

पार्टीभित्रको भूमिका, विकल्पको नेतृत्व निर्माण गर्ने भूमिका र त्यसक्रममा जहाँबाट सुरु गरेँ र अन्त्य गरेँ, यो सबै गर्दा ८०० भोट भनेको मेरो मुख ‘पन्चिङ ब्याग’ भएजस्तो लाग्छ । अनि रक्षामन्त्री भएर बसिराख्दा मसँग जे अपेक्षा गरिएको हो, त्यो पूरा हुनेजस्तो लागेन ।

एक पटक लड्दा धुलो लागेको छ । यो धुला झारेर उठ्ने मन छ । त्यसका लागि मन्त्री पदले अठ्याँइराख्छ जस्तो लाग्यो । आउने दिनमा सार्वजनिक जीवनमा रहन, आजसम्म मैले जसरी आफ्ना कुरा खुलेर राख्ने गरेको छु, त्यसरी राख्न, जुन राजनीतिक पूँजी आवश्यक छ, त्यो निर्माण गर्न राजीनामा पहिलो शर्त हो भन्ने लाग्यो, कसैले केही भनेर होइन ।

अब अगाडि के त ? सांसदको भूमिका रहनुहुन्छ वा त्यो पनि …

सत्तापक्षीय सांसदको भूमिका धेरै हुन्न । आगामी करिब एक वर्ष मेरो भूमिका त्यति धेरै देखिने खालको नहोला । यद्यपि, यो भूमिकाबाट बाहिरिने सोच छैन ।

यो अवधिले सोच्ने, चिन्तन मनन गर्ने समय देला । २०२५ सालमा बीपी कोइराला जेलबाट छुटेर विराटनगर आउँदा स्वागत गर्न जाने ६ कक्षाको केटो थिएँ । त्यसपछि स्ववियू सदस्यको चुनाव लडेको ५३ वर्ष भयो । २०३३ सालमा पहिलो पटक जेल परेँ, त्यहाँबाट पनि ४५ वर्ष त भयो । उमेर करिव ६५ भएबाट अबको १० वर्ष के गर्ने भनेर सोच्ने बेला पनि भयो ।

कांग्रेसमा नेतृत्व वयका हिसाबले जुन खालको परिर्वतन खोजेको थिएँ, त्यो भयो । अब उनीहरुले कांग्रेसलाई कसरी सञ्चालन गर्छन्, त्यसले पनि मेरो सार्वजनिक जीवनलाई परिभाषित गर्छ ।

त्यसैले, एक महिना आफ्ना कुरा राख्ने, ‘फिडव्याक’ लिने चरणमा हुन्छु । त्यसपछि संसदमा आफ्नो भूमिका के हुने ? कांग्रेसमा कसरी रहने ? राजनीतिमा कसरी क्रियाशील रहने ? सबै भविष्यको गर्भमा छ ।

मेरो जीवनमा यसले फरक पर्ला, तर नेपालको सार्वजनिक जीवनमा पर्दैन । भविष्यमा मैले खोजेको जस्तो, बीपी कोइरालाले सोचेको जस्तो कांग्रेस बन्यो भने मैले पद पाएँ कि पाइन भन्ने कुराको के महत्वपूर्ण हुन्छ र !

मैले नैतिकताको पाठ सिकाउन खोजेको होइन, के पो गर्ने भनेर अँध्यारो देखेको पनि छैन । मैले कांग्रेसको भविष्य उज्यालो देखेको छु, मेरो भविष्य पनि उज्यालो देखेको छु, आत्मविश्वास छ । घरपरिवारमा यही वातावरण छ । त्यसैले हारेको, थाकेको होइन, उर्जा पुनर्जागृत गरेर अर्को १० वर्षका लागि सार्वजनिक जीवन परिभाषित गर्ने अवसर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?