+
+
सर्वदलीय बैठक :

एमसीसीबारे सत्ता गठबन्धनमा चर्को मतभेद

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते २२:५२

४ पुस, काठमाडौं । अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनमा मतभेद बढेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजभोलि नै एमसीसी संसदबाट अनुमोदन गराउन चाहन्छन् भने दुई वाम घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी यसको विपक्षमा छन् ।

पार्टीको १४औं महाधिवेशनबाट पुनः सभापतिमा चुनिएका प्रधानमन्त्री देउवाले आइतबार पहिले सत्तारुढ गठबन्धन र त्यसपछि सर्वदलीय बैठक बोलाएका थिए । सत्तारुढ दलहरुको बैठकको शुरुमै प्रधानमन्त्री देउवाले एमसीसीका लागि बैठक बोलाएको भन्दै तुरुन्तै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसबारे छलफल गर्नुपर्ने बताए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यदल नै बनाएको र एमसीसीका कतिपय विषय स्वीकार गर्न नसकिने रहेको बताए । ‘यसबारे अमेरिकासँग कुरा गर्नुपर्छ,’ पूर्वप्रधानमन्त्री नेपालले भनेका छन् ।

जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवले पनि इण्डो प्यासिफिक रणनीति अन्तर्गत हो वा होइन मात्र नभई सम्झौताका अन्तरवस्तुमा छलफल गर्नुपर्ने बताए । उनले भने, ‘अमेरिकाले पनि समय तोकेको छैन, हतार नगरौं ।’ यादवले हतार नगरौं भन्दा देउवाले ‘टाइम छैन, टाइम’ भन्दै प्रतिवाद गरेका थिए ।

एक नेताका अनुसार बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी धारणा राखेका थिए । गठबन्धनलाई कायम राख्दै यो विषयमा कसरी सम्बोधन गर्न सकिन्छ उपाय खोज्नुपर्ने उनको धारणा थियो ।

एकीकृत समाजवादीकै झलनाथ खनालले सन् २०१७ मा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको र २०१९ मा केपी शर्मा ओलीले संसदमा पेश गरेको सम्झौतामा फरक भएको बताएका थिए । उनले चुनाव अगाडि किन हतार गरेको भनेर कांग्रेस नेताहरुलाई प्रश्न गरेका थिए ।

उनलाई कांग्रेसका नवनिर्वाचित उपसभापति पूर्णबहादुर खड्काले जवाफ दिए । उनले भने, ‘बाजा बजाएर जानुपर्छ, नभए नाथे यति पनि गर्न सकेन भन्छन् ।’

उनको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेको एक नेताले सुनाए । एमसीसीबारे सत्तारुढ गठबन्धनमा सहमति नभएको र अमेरिकाले पनि समय नतोकेकोले आजैभोलि भन्न जरुरी नभएको उनले बताए । ‘हामीले पनि राष्ट्रघाती भनेर छलफल सुरु गर्नु भएन,’ पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भने, ‘तपाईंहरुले हामीलाई पनि विकास विरोध, अमेरिकी सहयोग लिन नचाहने भभनेर छलफल शुरु गर्नु भएन ।’

बैठकमा जसपाका नेता डा. बाबुराम भट्टराई भने एमसीसीको पक्षमा उभिएका छन् । आफ्नो व्यत्तिगत विचार भन्दै उनले सकेसम्म सहमति गर्नुपर्ने, नभए लोकतान्त्रिक विधिअनुसार बहुमतले पास गर्ने, अरुले विरोध गरेर जानुपर्ने बताए ।

सत्तारुढ दलहरुबीच चर्को मतभेद देखिएपछि एमसीसी सम्झौताका छलफल गर्नुपर्ने बुँदाहरु टिपोट गर्ने जिम्मा पूर्वप्रधानमन्त्री खनाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्व परराष्ट्रमन्त्री श्रेष्ठलाई दिइएको छ । बैठक सकिंदै गर्दा प्रधानमन्त्री देउवाले तीन नेतालाई आजभोलिमै छलफलमा जुट्न र छिटो टुंगोमा पुर्‍याउन दबाव दिएको एक नेताले सुनाए ।

सञ्चारमन्त्रीको संकेत

सत्तारुढ दलहरुको बैठक लगतै सर्वदलीय बैठक बस्यो, जसमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित रह्यो ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले एमसीसी सम्झौता खारेज गर्नुपर्ने मत राखेका थिए । राष्टिय जनमोर्चाका प्रतिनिधिले पनि टेबल गर्न पनि नहुने र पास गर्न पनि नहुने मत राखेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले एमसीसी पास गर्न समर्थन गर्न नसक्ने बताए ।

जनता समाजवादी पार्टीका नेताहरु भने विभाजित रुपमा प्रस्तुत भएका थिए भने माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले एमसीसी सम्झौतामा प्रश्न उठेकाले तथ्यगत छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।

बैठकको अन्तिममा सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्रीले उदारता देखाएर सर्वदलीय बैठक बोलाएको भन्दै अब संसदबाट छिनोफानो गर्ने बताएका छन् । उनले जे निर्णय गरे पनि संसदमा हुन्छ भनेपछि सत्तारुढ दलका नेताहरुले केहीबेर अघि भएको समझदारी विपरित बोलेको भन्दै असन्तुष्टि जनाए । आफूहरु पनि सरकारमा रहेको भन्दै उनीहरुले कार्कीको धारणा सरकारको आधिकारिक हो भनेर प्रश्न गरेका थिए ।

प्रधानमन्त्री देउवाले छलफल गरौंला भनेर टारिदिएका छन् । सत्तारुढ दलका एक नेता भन्छन्, प्रधानमन्त्री र कांग्रेस जसरी पनि एमसीसी संसदमा टेबल गर्ने मूडमा देखिन्छ ।’

बैठकपछि सरकारका प्रवक्ता मन्त्री कार्कीले केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए । ‘एमसीसीको बारेमा कसरी अगाडि बढाउने भन्ने बारेमा सबै दलले आ-आफ्नो विचार राख्नुभएको छ । कसैले आशंका व्यक्त गर्नुभएको छ । ती सबै कुरामा फेरि छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?