
५ पुस, काठमाडौं । अमेरिकाका वरिष्ठ रोग विशेषज्ञले क्रिसमसमा हुने चहलपहलका कारण ओमिक्रोन भेरियन्टका संक्रमित थप बढ्न सक्ने चेतावनी दिएका छन् ।
आइतबार राष्ट्रपति जो बाइडेनका प्रमुख स्वास्थ्य सल्लाहकार एवं संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसमा हुने चहलपहलबाट ओमिक्रोनका संक्रमित थप बढ्ने चेतावनी दिएका हुन् । तीव्र रुपमा ओमिक्रोन फैलिएको अवस्थामा अमेरिकाको स्वास्थ्य सेवामा गम्भीर असर पर्ने पनि उनको भनाइ थियो ।
‘ओमिक्रोनसँग फैलिने अस्वाभाविक क्षमता छ भन्ने कुरामा कुनै शंका छैन’, डा. फाउचीले भने । ‘यदि अहिले जस्तै अवस्था जारी रह्यो भने हाम्रा अस्पतालमा निकै चाप बढ्ने छ’, उनले थपे । उनले सबै अमेरिकीलाई मास्क प्रयोग, सामाजिक दूरी कायम गर्दै पूर्वसावधानी अपनाउन समेत आग्रह गरेका छन् ।
पूर्ण खोप र बुस्टर डोज लगाउँदा संक्रमणको जोखिम कम हुने डा. फाउचीको भनाइ थियो । उनले यसअघि शुक्रबार ह्वाइट हाउसको प्रेस ब्रिफिङमा समेत खोप नलगाएका मानिसहरू गम्भीर संक्रमण र अस्पताल भर्नाको उच्च जोखिममा रहेको बताएका थिए ।
अमेरिकी सरकारलाई महामारीबारे सल्लाह दिँदै आएका डा. फाउचीले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा विश्वभर फैलिएको पनि बताए । जाडो बढ्दै जाँदा ओमिक्रोन थप फैलिन सक्ने र केही हप्ता वा महिना कठिन हुन सक्ने उनको भनाइ थियो ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार हालका संक्रमितमध्ये झण्डै ३ प्रतिशत ओमिक्रोनका रहेका छन् । सीडीसीको पछिल्लो विवरणले न्यू योर्कमा ओमिक्रोनका संक्रमित सबैभन्दा बढी भएको देखाउँछ ।
प्रतिक्रिया 4