+
+

प्रदेश सरकार बजेट नदिने, परशुरामले कुर्सी नछाड्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १३:२८

४ पुस, विराटनगर । प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको बजेट रोकिदिएपछि सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) अप्ठ्यारोमा परेका छन् ।

नेकपा एमालेका नेता भीम आचार्य मुख्यमन्त्री हुँदा नियुक्त भएका बस्नेतलाई नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई नेतृत्वको सरकारले राजीनामा दिन आग्रह गरेको छ । तर उनले राजीनामा नदिएपछि सरकारले खेलकुद विकास बोर्डको बजेट रोकिदिएको छ ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोका अनुसार सरकारले बस्नेतलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ । भीम आचार्य नेतृत्वको सरकारले गत असोज २४ गते प्रदेश खेलकुद ऐन २०७६ अनुसार बस्नेतलाई ४ वर्षका लागि नियुक्ति दिएको थियो । तर कात्तिक १५ गते आचार्य मुख्यमन्त्रीबाट पदमुक्त भए र भदौ १६ गते एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री बने ।

नयाँ सरकार बनेपछि बस्नेतलाई हटाउनकै लागि बजेट रोकिदिएको मन्त्रीहरु बताउँछन् । सामाजिक विकास मन्त्री जयराम यादवले खेलकुद विकास बोर्डको बजेट रोकिदिएको बताए । सामाजिक विकास मन्त्रालयले बोर्डमा पर्याप्त कर्मचारी पनि पठाएको छैन । दुई जना कर्मचारीलाई मन्त्रालयमै रहेर बोर्ड हेर्ने जिम्मेवारी दिइएको छ ।

आचार्य नेतृत्वको सरकारले प्रदेश खेलकुद बोर्ड र प्रदेश पर्यटन बोर्ड स्थापना गरेको थियो । तत्कालिन सरकारले ल्याएको प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ लाई मंसिर ९ गतेको मन्त्रिपरिषद बैठकले खारेज गरेपछि पर्यटन बोर्ड खारेज भएको छ ।

पर्यटन बोर्ड खारेजका विरुद्ध सदस्यहरु अदालत गएका छन् । उच्च अदालत विराटनगरले मंसिर २७ गते उक्त मुद्दामा सुनुवाइ गर्दै बोर्ड खारेजीको निर्णय यथास्थितिमा राख्न अदेश दिएको छ र यो विषयमा पुस ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

तर बस्नेतलाई भने प्रदेश खेलकुद ऐन अनुसार नियुक्ति लिएकाले पदमुक्त गर्न कठिन भएको मन्त्रीहरु बताउँछन् । प्रक्रिया नपुर्‍याई बर्खास्त गरे अदालत गएर पुनर्बहाली हुन सक्ने डर पनि सरकारमा छ ।

सामाजिक विकास मन्त्रीमा जयराम यादव नियुक्त भएपछि बस्नेतले बजेट नरोक्न पटक-पटक आग्रह गरेका थिए । तर मन्त्री यादवले गठबन्धनको निर्णय भन्दा बाहिर नजाने भन्दै बजेट रोकिदिएका छन् ।

सरकारले हटाए अदालत जाने बस्नेतको तयारी छ । ‘प्रतिशोध साँधे कानुनी प्रक्रियाबाट अघि बढ्छौं,’ बस्नेतले भने, ‘सहज बनाए सहकार्य गरेर अघि बढ्छौं ।’

सरकारले बर्खास्तीको तयारी गरेपछि केही दिनअघि बस्नेतले पत्रकार सम्मेलन गर्दै आफ्नो चार वर्षे कार्ययोजना सार्वजनिक गरेका थिए ।

उनले बोर्डको जग बसाउने प्रयास भइरहेको बताए । प्रक्रियागत हिसाबले बजेट नआउँदा बोर्डको गतिविधि पनि नभएको बताउँदै उनले केही दिनअघि काजकिस्तान प्रशिक्षणका लागि जाने दुई जना खेलाडीलाई निजी स्रोतबाट खर्चको बन्दोबस्त गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?