+
+

हरिसिद्धि सडकका कारण २० विद्यालयको पढाइ प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते २०:५३

५ पुस, काठमाडौं । ललितपुरको हरिसिद्धिको सडक समयमा निर्माण नहुँदा त्यस क्षेत्रको विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

ठेकेदारको लापरवाहीले स्थानीयसँगै विद्यालयहरुले समस्या भोग्न परिरहेको विद्यालय सञ्चालक तथा शिक्षकहरुले बताएका छन् । हात्तीबनको कर्मनाशा पुलदेखि गोदावरी बीचमा पर्ने विद्यालयहरु प्रभावित भएको ललितपुर महानगर प्याब्सनका अध्यक्ष हिरा महर्जनले बताए ।

पुस एक गते ठेकेदारले काम नगरेको भन्दै स्थानीयले सडक अवरुद्घ गरेका थिए । करिब चार दिनसम्म सडक अवरुद्घ भएपछि विद्यालहरुले वैकल्पिक बाटो अपनाएर विद्यालयसम्म विद्यार्थीलाई पुर्‍याएको महर्जनले बताए । नजिकै रहेका बालबालिकालाई भने पैदल आउन आग्रह गरेको उनको भनाइ छ ।

अहिले तीन दिनदेखि सडक निर्माण भइरहेको र निर्माण हुने क्रममा पनि गाडी गुडाउन समस्या भएको उनको भनाइ छ । ‘काम गर्ने निश्चित समय भए सहज हुने थियो । हामीले वडा अध्यक्ष राजेश महर्जनसँग विद्यालयलाई सहज हुने गरी समन्वय गर्न भनेका छौं’ उनले भने ।

गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलले सडकको समस्याकै कारण अनलाइन कक्षा शुरु गरेको बताएको छ । सडकमा गाडी गुडाउन सहज नभएसम्म अनलाइन माध्यममा नै पढाइ हुने स्कुलले जनाएको छ ।

स्कुलका एक कर्मचारीले भने ‘केही दिन बाटो बन्द भयो । खुल्दा पनि कुन समय खुल्ने कुन समय बन्द हुने निश्चित नहुँदा अनलाइनमा गएका हौं ।’

पवित्र प्रार्थना, ब्राइट वर्कर्स सेकेन्डरी क्षितिज स्कुल, प्रेरणा विद्याश्रम, विश्वविद्या मन्दिर पिपल्स स्कुल हरिसिद्घि, एभरेष्ट स्कुल, लिबर्स स्कुल ठैब, लालीगुराँस स्कुल बाँडीगाउँ, पुष्पाञ्जली स्कुल टौखेल, सेन्ट जेभियर्स गोदावरी, विद्या सागर गोदावरी लगायतका विद्यालय प्रभावित भएको महर्जनले जानकारी दिए ।

ललितपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष राजेश महर्जनले लामो समयसम्म बाटो नबन्दा स्थानीयले बाटो अवरुद्घ गर्दा समस्या भएपनि अहिले समस्या नभएको दाबी गरे ।

उनले भने ‘अस्ति समस्या भयो अहिले छैन । बाटो बनाउँदा केही समस्या त हुन्छ । तर गाडी नै नचल्ने भन्ने छैन ।’ बाटो निर्माणको क्रममा सामान्य समस्या हुनु स्वाभाविक भएको उनको भनाइ छ । उनले भने ‘बाटो बनाउँदा अलि अलि समस्या हुन्छ । त्यो त विद्यालयले पनि बुझ्नपर्छ ।’

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?