+
+

यू-१९ एसिया कपमा टेष्ट नेशनलाई हराउने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते २०:३३

५ पुस, काठमाडौं । आउँदो बिहीबार युएईमा शुरु हुने एसीसी यू-१९ एसिया कपमा प्रतिस्पर्धा गर्ने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली सोमबार युएई प्रस्थान गरेको छ ।

करिब ७ वर्षपछि आयोजना भएको यू-१९ राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट गरिएको राष्ट्रिय टीमले यस पटक उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार राखेको टीमको विदाइ कार्यक्रममा प्रशिक्षक बसन्त शाही ठकुरी र कप्तान देव खनालले प्रतियोगितामा टेस्ट मन्यता प्राप्त देशलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गर्ने लक्ष्य रहेको बताए ।

प्रशिक्षक बसन्तले राष्ट्रिय टीमको सहायक प्रशिक्षकदेखि विभिन्न उमेर समूहमा नेपालको प्रशिक्षण सम्हालिसकेका छन् । देव भने पहिलो पटक उमेर समूहमा नेपालको कप्तानी गर्दैछन् । टेष्ट मान्यता प्राप्त राष्ट्रहरु समेत सहभागी हुने भएकोले यस प्रतियोगिता नेपाली क्रिकेट टोलीका लागि राम्रो अवसर हुने प्रशिक्षक र खेलाडीहरुले बताएका छन् ।

तयारीको आधार

यू-१९ राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट समितिले राष्ट्रिय टीमका लागि २० सदस्यीय प्रारम्भिक टोली छनोट गर्‍यो । त्यसैमध्येबाट अन्तिम १५ जनाको टोली छनोट गरिएको हो । बलर मोहम्मद हुसेन प्रशिक्षणमा घाइते भएपछि उनको स्थानमा दुर्गेश गुप्तालाई अन्तिम समयमा टीममा समावेश गरिएको छ ।

प्रशिक्षक बसन्त र कप्तान देव खनालले तयारी छोटो भएको तर राम्रो भएको बताए । ‘छनोट प्रतियोगिता पनि समयमा नभएको कारण पर्याप्त समय पाउन सकेनौं । तर १२-१३ दिन तयारी गर्‍यौं । यसमा हामीले कमजोरी सुधार गरेर टीमलाई राम्रो बनाएका छौं’ बसन्तले बिदाइ कार्यक्रममा भने ।

कप्तान देव खनालले राष्ट्रिय प्रतियोगितापछिको बन्द प्रशिक्षणमा तयारी राम्रो भएको बताए ।  ‘दुईसाता तयारी राम्रो भयो । सबैले राम्रो इफोर्ट दिएका छौं । प्रतियोगिताको लागि तयार छौं’ उनले भने ।

देवले कप्तानी गर्नु आफ्नो लागि अवसर भएको बताए । ‘कप्तानी पाउनु एउटा अवसर हो । यो अवसर मैले पाएको छु । जुन धेरैको सपना हुन्छ । राम्रो खेल्ने र त्यहाँ गएर राम्रो गर्ने हो’ उनले भने । अधिकांश खेलाडी पहिलो पटक उमेर समूहको राष्ट्रिय टीमबाट खेल्दैछन् । कप्तान खनालले पहिलो अन्तर्राष्ट्रिय टुरलाई सम्झन लायक बनाउने उद्देश्य रहेको बताए ।

टेष्ट नेशनलाई आश्चर्यचकित पार्ने लक्ष्य

यू-१९ एसिया कप त्यस्तो अवसर हो जहाँ नेपालले टेष्ट मान्यता प्राप्त देशको उमेर समूहका टीमसंग खेल्ने अवसर पाउनेछ । सन् २०१४ को यू-१९ विश्वकपमा नेपालले टेष्ट मान्यता प्राप्त देशलाई हराएर चर्चा पाएको इतिहास छ ।

यू-१९ एसिया कपमै नेपालले चार वर्षअघि भारतलाई पराजित गरेको थियो । यस पटक पनि नेपालले त्यस्तै खाले अपेक्षा राखेको छ । नेपालले समूह चरणमा श्रीलंका र बंगलादेश गरी दुई टेष्ट मान्यता प्राप्त राष्ट्रसंग प्रतिस्पर्धा गर्नुपर्छ । समूह चरण पार गर्दै नकआउट चरण पुग्न कम्तीमा पनि एउटा टेष्ट मान्यता प्राप्त देशलाई हराउनैपर्ने हुन्छ ।

प्रशिक्षक बसन्त शाही ठकुरीले टेष्ट मान्यता प्राप्त देशलाई हराएर नकआउट चरण पुग्ने लक्ष्य राखेको बताए । ‘सहभागिताको हिसाबले मात्र हेर्नु हुँदैन । यसलाई युवा खेलाडीलाई अनुभवको पाटो त छदैछ । हाम्रो लक्ष्य टेष्ट नेसनलाई आश्चर्यचकित पारेर नकआउट चरण पुग्नु हुनेछ’ उनले भने ।

नेपालले डिसेम्बर २३ मा बंगलादेशसंग नै पहिलो खेल खेल्नेछ । भारत र पाकिस्तान अर्को समूहमा हुँदा नेपाललाई केही सजिलो देखिएको हो कि भन्ने प्रश्नमा प्रशिक्षक ठकुरी त्यस्तो सोच्न नहुने बताउँछन् । ‘त्यस्तो पनि सोच्न मिल्दैन । तपाईंहरु श्रीलंका र बंगलादेश कमजोर मान्नुहुन्छ तर त्यो निश्चय पनि होइन । बंगलादेश यू-१९ विश्वकपको साविक विजेता समेत हो र हामी त्यो टिमको समूहमा छौं’ उनले भने ।

यस्तै कप्तान देवले प्रतियोगितामा सहभागिता जनाउने मात्र नभई उत्कृष्ट क्रिकेट खेल्ने बताए । ‘हामी त्यहाँ गएर राम्रो प्रदर्शन गरेर आऔं भन्ने छ । कन्फिडेन्स सबैको हाइ छ । हामी सहभागिताका लागि मात्र जाँद‌नौं । राम्रो क्रिकेट खेलेर आउँछौं’ उनले भने ।

उनले टीमको लक्ष्य फाइनल पुग्ने भएको पनि बताए । राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनलाई एसिया कपमा पनि निरन्तरता दिने लक्ष्य रहेको कप्तान खनालले बताए ।

प्रशिक्षक ठकुरीले राष्ट्रिय प्रतियोगितामा धेरै रन बन्नु र शतकहरु बन्नुले यस पटक व्याटिङ राम्रो हुने र बलिङमा सुधार गर्नुपर्ने बताए । यू-१९ एसिया कपको समूह बी मा रहेको नेपालले टेष्ट राष्ट्र बंगलादेशसंग खेल्दै यात्रा सुरुवात गर्नेछ । यस्तै श्रीलंकासंग डिसेम्बर २६ मा र कुवेतसंग डिसेम्बर २८ मा खेल्नेछ ।

यस्तै समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान, युएई छन् । दुव‌ै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल डिसेम्बर ३१ मा हुनेछ ।

नेपाली टिम :

देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद, राहुल भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?