+
+

प्रदेश २ को नाम र राजधानीका लागि जसपा र लोसपाले बनाए समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते २१:०२

६ पुस, जनकपुरधाम । प्रदेश २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम राख्न सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एकमत देखिएका छन् ।

प्रदेशको नाम मधेश नै राख्नुपर्ने भन्दै प्रदेश सरकारमा सहभागी जसपा र विपक्षी दल लोसपाले प्रदेश सभामा रहेका दलसँग वार्ता गर्नका निम्ति टोली गठन गरेका छन् ।

प्रदेश सरकारको तर्फबाट गठन भएको टोली संयोजकमा अर्थमन्त्री शैलेन्द्र साह र सदस्यहरुमा प्रदेशसभा सदस्य विदेश्वर यादव ‘विक्की’, मनिष सुमन, सुरेश मण्डल र शैलेन्द्र यादव छन् ।

यो टोलीले मंगलबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेतासँग भेटेर छलफल गरेको छ ।

छलफलका क्रममा माओवादीका नेता एवं आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह मधेश नाममा सकारात्मक देखिएका टोली संयोजक मन्त्री साहले बताए ।

यस्तै, प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम राख्न भन्दै अन्य दलसँग वार्ता गर्न लोसपाले पनि वार्ता समिति बनाएको छ ।

प्रदेश सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा बनाइएको समितिमा प्रदेशसभा सांसद परमेश्वर साह, जयनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रल्हाद गिरी सदस्य छन् ।

प्रदेश सभामा प्रस्तुत हुने नाम र राजधानीबारे प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि दलहरुसंग छलफल गर्न यो समिति बनाइएको संसदीय दलका नेता जितेन्द्र सोनलले बताएका छन् ।

प्रदेश सरकार गठन भएको चार बर्ष बित्न लाग्दा पनि प्रदेशको नामाकरण हुन सकेको छैन् भने स्थायी राजधानी पनि कायम हुन सकेको छैन । पछिल्लो पटक प्रदेशको नामाकरण गर्नुपर्नेमा दलहरुको सक्रियता बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?