+
+

गगन-विश्व रोक्न सजिलो छैन कम्युनिष्टलाई

राजनीतिमा युवा आफैंमा योग्यता होइन, एजेण्डा र कार्यक्रम नै प्रमुख हो । तर नेपालको राजनीतिक परिवर्तनमा युवा नेतृत्व हुँदा नै साना–ठूला राजनीतिक परिवर्तन भएका छन् । त्यसैले कांग्रेसमा आएको यो परिवर्तनको असर रोक्न छिन्नभिन्न अवस्थामा पुगेका कम्युनिष्ट पार्टीहरुलाई सजिलो छैन ।

सइन्द्र राई सइन्द्र राई
२०७८ पुष ७ गते २०:४५

७ पुस, काठमाडौं । गएको १४ मंसिरमा सकिएको नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई ‘ओलीवेशन’ को संज्ञा दिने गगन थापा, नेपाली कांग्रेसको महामन्त्री निर्वाचित भए । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनबाट सानदार मतसहित महामन्त्री निर्वाचित भएपछि थापाले भने, ‘कांग्रेसमा महाधिवेशन नै भयो । बहालवाला प्रधानमन्त्री पनि हात जोडेर हरेक प्रतिनिधिसँग मत माग्न सडकमा आउनुपर्‍यो ।’

१ पुसमा महामन्त्री पदको अन्तिम नतिजा आउँदा ३,०२३ मतसहित थापा र १,९८४ मत सहित विश्वप्रकाश शर्मा विजयी भए । थापा र शर्माको जितमा विपक्षी दलका नेताहरूले (विशेष गरी युवा) समेत बधाइ दिन कञ्जुस्याइँ गरेनन् । ‘कांग्रेसका प्रतिनिधिहरुले विवेक प्रयोग गरेर युवाहरुलाई नेतृत्वमा पठाएको छ । यसले नेतृत्व हस्तान्तरण मात्रै होइन, पुस्तान्तरणको खाँचो छ र त्यसको शृङ्खला आयो भन्ने प्रतिविम्व पनि हो’, माओवादी केन्द्रका नेता हिमाल शर्मा भन्छन् ।

उमेरले ६२ वर्षका पुराना र अनुभवी नेता डा. प्रकाशशरण महतलाई पछि पार्दै थापा र शर्मा निर्वाचित भएकाले पनि राष्ट्रिय राजनीतिमा कांग्रेस महाधिवेशनलाई चासोका साथ हेरिएको छ । मूल नेतृत्वमा फेरि शेरबहादुर देउवा (७७ वर्षका) दोहोरिए पनि ४५ वर्षीय थापा र ५१  वर्षीय शर्मा, सभापति पछिको कार्यकारी पदमा निर्वाचित भएका छन् । ‘कुन पार्टी कुन पुस्ताले नेतृत्व गरिरहेको छ भन्नेले अर्थ राख्छ नै’ एमाले कन्द्रीय सदस्य रचना खड्का भन्छिन्, ‘आन्तरिक प्रतिस्पर्धा खुला हुँदा कांग्रेसमा युवा महामन्त्री बन्न सफल भए । यस्तो अभ्यास एमालेले अघिल्लो महाधिवेशनहरू गरेको थियो ।’

नेपालको राजनीतिक परिवर्तनमा युवा नेतृत्व हुँदा नै साना–ठूला राजनीतिक परिवर्तन भएका छन् । त्यसैले कांग्रेसमा आएको यो परिवर्तनको असर रोक्न छिन्नभिन्न अवस्थामा पुगेका कम्युनिष्ट पार्टीहरुलाई सजिलो छैन ।

तर यसपटक भने पुरानै नेतृत्व र नेताहरू एमालेको महत्त्वपूर्ण पदमा दोहोरिए । ओली फेरि अध्यक्ष दोहोरिन ७० वर्षे उमेर हदको व्याख्या गर्दै भनियो, ‘७० वर्ष पार नगरेको ।’ अनि मंसिरमै महाधिवेशन गरियो । यदि फागुनपछि महाधिवेशन हुन्थ्यो भने ओली दोहोरिन पाउने थिएनन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल चयन भए । ६८ वर्षीय पोखरेल ०३३ सालबाटै केन्द्रीय नेतृत्वमा छन्, दुई पटक महासचिव भइसके । ६ उपाध्यक्षमा पनि ६० देखि ७० वर्ष बीचका नेताहरू छन् ।

आठौं महाधिवेशनबाट सचिव जितेका र नवौं महाधिवेशनमा उपमहासचिव पराजित शंकर पोखरेलसँग महासचिव पदमा कसैले पनि प्रतिस्पर्धा गरेन । ‘नियन्त्रित प्रतिश्पर्धा भयो । अध्यक्ष कमरेडले घोषणा गरेको सूचीबाहेकले प्रतिस्पर्धा गर्ने अवस्थै रहेन’, एमालेका एक नेता भन्छन् । ओलीले घोषणा गरेका र निर्विरोध महासचिव बनेका पोखरेल ५७ वर्ष पुगे । अर्थात् पोखरेल, कांग्रेस महामन्त्री थापा भन्दा १२ वर्ष जेठा छन् ।

२०४८ पछिको निर्वाचनमा प्रमुख प्रतिस्पर्धी रहेका एमाले र कांग्रेसले यसपटक अपनाएको नेतृत्व चयन प्रक्रिया र निर्वाचित नेतृत्वको तुलना स्वाभाविक हो । अन्य दलभन्दा लोकतान्त्रिक अभ्यासमा अगाडि भएको र युवा नेतृत्व रहेको दावी एमालेले गर्ने गरेकाले पनि तुलना भयो । तर, यसपटक एमालेले महाधिवेशन प्रक्रियामै आलोचना खेप्यो । किनकि बन्दसत्र हलमा ओलीले केन्द्रीय नेतृत्वको घोषणा गरे अनि प्रक्रिया पूरा गर्न मतदान भयो ।

लोकतान्त्रिक प्रक्रियामार्फत् कांग्रेसमा भने प्रमुख कार्यकारी पदमा युवा नेतृत्वसहित समावेशी पदाधिकारी निर्वाचित भए । पूर्ण खड्का र धनराज गुरुङ उपसभापति निर्वाचित हुँदा आठ सहमहामन्त्री संविधानको व्यवस्थाबमोजिम समावेशी प्रतिनिधित्वका हिसाबले भयो । अर्जुननरसिंह केसी, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद, शशांक कोइराला जस्ता पुराना र अनुभवी नेताहरू केन्द्रीय सदस्य मात्रै भए ।

१९ सदस्यीय एमाले पदाधिकारीमा भने रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा र रघुबीर महासेठबाहेक सबै नेता एउटै समुदायबाट आए । अझ मधेशी र दलित समुदायको नेता पहिलोपटक पदाधिकारी बनेका हुन् । कांग्रेसले विधानमै समावेशी पदाधिकारीको व्यवस्था गरेपछि एमालेलाई दबाव परेको थियो ।

अर्कातिर, विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्री जित्दा घनश्याम भूसाल एमालेमा पराजित भए । ओलीको सूचीमा नपरेका भूसालले उपाध्यक्ष पदमा ७५० मत मात्रै पाएका थिए । जबकी भूसाल, नवौं महाधिवेशनबाट अनुमोदित र १०औं महाधिवेशनले निरन्तरता दिएको राजनीतिक कार्यक्रमको प्रस्तावक र व्याख्याता हुन् । शर्मा भने प्रकाशमान सिंहको कमजोर प्यानलबाट उम्मेद्वारी दिएर पनि सजिलै जिते । देउवा र डा. शेखर कोइराला समूहबीच भएको प्रतिश्पर्धामा सिंहले सभापतिमा ३७१ मत मात्रै पाएका थिए ।

अर्का तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र पनि राष्ट्रिय सम्मेलनको नजिक छ । तर ३४ वर्षदेखि नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्ड (६७ वर्ष) अध्यक्ष दोहोरिने लगभग निश्चित रहेको माओवादी केन्द्रमा कांग्रेसमा जसरी नेतृत्वमा चौथो पुस्ता आउने सम्भावना न्यून देखिन्छ । अझ पार्टीभित्र बलियो प्रभाव राख्ने नेता, जनार्दन शर्माले (५८ वर्ष) प्रचण्डपथको वकालत गर्न थालेकाले त्यहाँ नयाँ पुस्ता नेतृत्वमा पुग्ने अनुमान लगाउन गाह्रो पर्छ ।

केन्द्रीय सदस्य हिमाल शर्मा भने कांग्रेस महाधिवेशनको प्रभाव माओवादीमा पर्न सक्ने बताउँछन् । ‘माओवादी केन्द्रमा पनि खुला रुपमा निर्वाचनको प्रक्रियाबाट नेतृत्व चयन गर्ने अवसर कार्यकर्तालाई दिन शुरु गरेका छौं । केन्द्रीय नेतृत्व पनि कार्यकर्ताबाटै चयन होओस् भन्ने चाहन्छौं,’ उनी भन्छन् । २०६३ सालको जनआन्दोलनबाट उदाएको पुस्ता कांग्रेसको नेतृत्वमा पुगेपछि माओवादी केन्द्रमा यसको सामान्य प्रभाव देखिएको छ । सोमबार राति मात्रै बागमती प्रदेशको नेतृत्व चयन मतदानको माध्यमबाट भयो । माओवादीमा मतदान नभएर केन्द्रीय नेतृत्वको मनोनयनबाट नेता बन्ने प्रचलन छ ।

अन्य दलका मूल नेतृत्वमा पनि पुराना र परीक्षण भइसकेका नेताहरू छन् । गएको २ भदौमा बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १४ वर्ष एमालेको नेतृत्व गरेका थिए । २०३२ सालदेखि केन्द्रीय नेतृत्वमा रहेका नेपाल ६८ वर्षका भए, २०६६ सालमा २३ महिना सरकारको नेतृत्व गरे । विश्वप्रकाश शर्मा र गगन थापाका समकालीन राजेन्द्र राई र रामकुमारी झाँक्री एकीकृत समाजवादीका सचिव छन् । तर महासचिव ६८ वर्षका डा.बेदुराम भुषाल छन् ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव (६० वर्षीय), १४ वर्षदेखि निरन्तर नेतृत्वमा छन् । बाबुराम भट्टराई र अशोक राई जस्ता पुराना नेता रहेको यो पार्टीमा नयाँ पुस्ता निर्णायक छैनन् । अर्थात् कांग्रेस नेतृत्वमा थापा र शर्माको उपस्थिति समकालीन राष्ट्रिय राजनीतिमा अर्थपूर्ण छ, त्यसैअनुरुपको अनुमान गरिएको छ ।

सधैं युवा आकर्षण

राजनीतिमा युवा आफैंमा योग्यता होइन, एजेण्डा र कार्यक्रम नै प्रमुख हो ।  तर नेपालको राजनीतिक परिवर्तनमा युवा नेतृत्व हुँदा नै साना–ठूला राजनीतिक परिवर्तन भएका छन् । त्यसैले कांग्रेसमा आएको यो परिवर्तनको असर रोक्न छिन्नभिन्न अवस्थामा पुगेका कम्युनिष्ट पार्टीहरुलाई सजिलो छैन ।

२००७ सालमा राणा शासन अन्त्य गर्ने आन्दोलनको नेतृत्व गरिरहँदा बीपी कोइराला ३६ वर्षका थिए । अझ कांग्रेस स्थापना हुँदा त उनी ३२ वर्षे युवक थिए । २०१५ सालको आमनिर्वाचनमा दुई तिहाइ सिट जितिरहेको कांग्रेसको नेतृत्व गर्दा बीपी ४० वर्ष मात्रै पुगेका थिए ।

‘हामी विभाजित छौं । यस्तो अवस्थामा कांग्रेसको नेतृत्वमा युवा आउनुले आकर्षण बढेको छ’ एमालेका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘आगामी निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मालाई कांग्रेस नेतृत्वमा प्रतिनिधिले चुनेको असरबारे पनि विचार गर्नुपर्छ ।’

तर राजा महेन्द्रले पञ्चायत शुरु गरे, दलहरुलाई प्रतिबन्ध लगाइयो । कांग्रेस पञ्चायतविरुद्ध लडिरह्यो, युवा पुस्ताको आकर्षण पार्टीमा बढ्दै गयो । छिन्नभिन्न अवस्थामा रहेको कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध बनाउँदै अगाडि बढेको नेकपा मालेका महासचिव बन्दा सीपी मैनाली ३२ वर्षका थिए । सीपीपछि २०३९ सालमा मालेको महासचिव बन्दा झलनाथ खनाल ३२ वर्षकै थिए । खनालपछि पार्टीको नेतृत्वमा मदन भण्डारी आउँदा ३५ वर्षका थिए । भण्डारीकै नेतृत्वमा माले र माक्र्सवादीबीच एकता भएर एमाले बन्यो । संयुक्त वाम मोर्चा र कांग्रेससहितको जनआन्दोलन मार्फत् पञ्चायत अन्त्य भइरहँदा एमाले नेतृत्वमा मदन नै थिए ।

२०४८ सालको पाँचौं महाधिवेशनमा एमालेको राजनीतिक कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) लेखिरहँदा मदन ३८ वर्षका थिए । मदनको निधनपछि एमालेको नेतृत्व गर्दा माधव नेपालको उमेर पनि ४० वर्ष थियो । कोअर्डिनेसन केन्द्र (कोके)को संस्थापक केन्द्रीय नेतृत्वमा पुग्दा माधव २२ वर्षे तन्नेरी थिए । नेपालकै नेतृत्वमा एमाले २०५१ सालमा पहिलो राजनीतिक शक्ति बन्यो । दक्षिण एसियामै पहिलो कम्युनिष्ट सरकारको नेतृत्व मनमोहन अधिकारीले गरिरहँदा मन्त्रिपरिषद्मा ४० वर्ष हाराहारीका नेताहरू मन्त्री थिए ।

२०५२ सालमा सशस्त्र आन्दोलनको घोषणा गर्दा पुष्पकमल दाहाल प्रचण्ड ४१ वर्षका थिए । उनी ३३ वर्षकै उमेरमा पार्टी नेतृत्वमा पुगेका हुन् । ‘जनयुद्ध भइरहँदा हाम्रो सबै युवा थिए’, शर्मा भन्छन् । बाबुराम भट्टराई पनि प्रचण्डकै उमेरका थिए । माओवादी सशस्त्र विद्रोह २०६२/०६३ सालमा राजतन्त्रको अन्त्य भएपछि शान्तिपूर्ण प्रतिश्पर्धामा फर्कियो । २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी पहिलो दल बनेकाले प्रचण्ड प्रधानमन्त्री हुँदा ५४ वर्षका थिए ।

२०६२/०६३ सालको मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाइरहँदा उपेन्द्र यादव पनि युवा नै थिए । अन्तरिम संविधानप्रति असहमति जनाउँदै मधेशी जनअधिकार फोरमको नेतृत्व गर्दा यादव ४५ वर्षका थिए । यादवको नेतृत्वमा २०६४ सालको संविधानसभा निर्वाचनमा ५२ सिट जित्दै फोरम राष्ट्रिय राजनीतिक शक्ति बन्यो ।

२०६३ सालपछि भने पुरानै राजनीतिक शक्ति र तिनै नेताहरू नेतृत्वमा छन् । २०५१ कै सरकारमा गृहमन्त्री रहेका केपी शर्मा ओली २०७१ पछि पार्टी नेतृत्वमा आए । उनी पार्टी प्रमुख हुँदा ६३ वर्षका थिए, अध्यक्षमा दोहोरिंदा ७० वर्ष पुगे । २०६५ सालमा दोहोरिएर पार्टी नेतृत्व गर्दा झलनाथ खनाल ५८ वर्षका थिए । कांग्रेसमा पनि ६३ सालपछि नेतृत्व परिवर्तन भयो । २०६७ को १२औं महाधिवेशनबाट सुशील कोइराला सभापति बने । त्यसबेला उनको उमेर ७२ वर्ष थियो । १३औं महाधिवेशन हुन अगाडि नै २०७२ मा कोइरालाको निधन भयो ।

त्यसै वर्ष सम्पन्न १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति चुनिए । त्यसबेला देउवाको उमेर पनि ७२ वर्ष नै थियो । १४औं महाधिवेशनबाट सभापतिमा दोहोरिंदा देउवाको उमेर ७७ वर्ष छ । माओवादी केन्द्र र जसपाको नेतृत्व परिवर्तन भएको छैन । अर्थात्, सबै राजनीतिक दलको नेतृत्वमा वृद्ध उमेरका नेताहरू छन् । त्यसैले पनि कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश पुग्नुलाई चासोका साथ हेरिएको छ ।

आगामी निर्वाचनमा परीक्षण

कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाशको परीक्षण भने आगामी निर्वाचनबाटै हुनेछ । महाधिवेशन अगाडि यी दुवै नेताले त्यस्तो उद्घोष पनि गरेका छन् । कांग्रेसलाई बलियो बनाउन युवा पंक्तिलाई आकर्षित गर्नुपर्ने उनीहरुको बुझाइ छ । त्यो भनेको कांग्रेसलाई कम्युनिष्टहरू भन्दा राम्रो बनाउनु हो । अहिले छिन्नभिन्न बनेका कम्युनिष्ट पार्टीहरुको भन्दा राम्रो राजनीतिक कार्यक्रम, एजेण्डा र अडान लिनु हो ।

गएको २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दा पनि कांग्रेसको मत घटेको थिएन । प्रतिनिधिसभाको २७५ मध्ये वाम गठबन्धनले १७४ (एमाले १२१ र माओवादी ५३) सिट जित्दा कांग्रेस ६३ सिटमा खुम्चिएको थियो । तर कांग्रेसको समानुपातिक मत भने एमाले भन्दा ४५ हजारले मात्रै कमी थियो । एमालेले ३१ लाख ७३ हजार ४९४ लोकप्रिय (समानुपातिक तर्फ) मत पाउँदा कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत ल्यायो । गठबन्धनकै कारण वाम गठबन्धनले प्रत्यक्षतर्फ धेरै सिट जित्दा कांग्रेस कमजोर बन्यो । आउने चुनावमा गगन र विश्वप्रकाशले २०७४ को तथ्य परिवर्तन भएको अनुभूति दिलाउनुपर्नेछ ।

सामान्य मत तलमाथि गरेर मात्रै नेतृत्वमा युवा आएको परिवर्तन मान्न सकिन्न । त्यसैपनि २०४८ पछिको निर्वाचनमा कांग्रेस र एमालेबीच धेरै ठूलो मत अन्तर छैन । २०४८ को निर्वाचनमा कांग्रेसले ११० सिट जित्दा २७ लाख ४२ हजार मत पायो भने ६९ सिट जितेको एमालेले २० लाख ४० हजार ल्यायो । २०१५ सालको चुनावमा १०९ मध्ये कांग्रेसले ७४ सिट जितिरहँदा कम्युनिष्ट पार्टीले चार सिट जितेको सम्झने हो भने २०४८ सालको मतान्तर ठूलो होइन ।

तीन वर्षपछि २०५१ को मध्यावधि निर्वाचनमा एमाले पहिलो दल बन्यो । २०५ मध्ये एमालेले ८८ र कांग्रेसले ८३ सिट जित्यो । तर लोकप्रिय मत भने कांग्रेसको झण्डै दुई लाख बढी थियो । एमालेले २३ लाख ५२ हजार ६०१ ल्याउँदा कांग्रेसले २५ लाख ४५ हजार २७ ल्याएको थियो । पाँच वर्षपछि एमाले ७१ सिटमा खुम्चिदा २७ लाख २८ हजार मत पायो । १११ सिट जितेको कांग्रेसले भने ३२ लाख १४ हजार मत ल्याएको थियो । यो चुनावमा एमाले विभाजित भएको थियो, मालेले ५ लाख ६७ मत पायो । तर कुनैपनि सिट मालेले जित्न सकेन ।

२०६४ सालको पहिलो संविधानसभामा कांग्रेस र एमाले मतान्तर धेरै थिएन । कांग्रेसले २३ लाख ४८ हजार र एमालेले २२ लाख २९ मत ल्याएको थियो । यो निर्वाचनमा माओवादी पहिलो शक्ति बन्यो । २४० निर्वाचन क्षेत्रमा माओवादीले १२० सिट जित्यो । समानुपातिक र प्रत्यक्ष गरी २२९ सिट जितेर सरकार बनाएको माओवादीको लोकप्रिय मत (समानुपातिक) ३१ लाख ४४ हजार २०४ थियो । यो भनेको २९.२८ प्रतिशत हो ।

यसपछि भने माओवादी ओरालो यात्रामा छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा १६ लाख ९ हजार १४५ मत (१५.६१ प्रतिशत) पाएको माओवादीले २०७४ को निर्वाचनमा १५ लाख १० हजार ७६० (१२ प्रतिशत) ल्यायो । तर एमालेसँग गठबन्धन गरेकाले प्रत्यक्षतर्फ ३६ सिट जित्दै कांग्रेस हाराहारीको शक्ति बन्यो । एमाले र कांग्रेस भने २०७० को निर्वाचनमा पनि ठूलो मतान्तरमा थिएन । कांग्रेसले २४ लाख १८ हजार पाउँदा एमालेको २२ लाख ३९ हजार लोकप्रिय मत आएको थियो ।

तर कांग्रेसलाई यसपटक तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग हुनु र एमाले विभाजित हुनुको स्वाभाविक फाइदा मिल्नेछ । गएको वर्ष ५ पुस २०७७ प्रतिनिधिसभा भंग गर्ने केपी शर्मा ओलीको निर्णयपछि कम्युनिष्ट पार्टी छिन्नभिन्न भएका छन् । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र वामदेव गौतमको एकता अभियान अस्तित्वमा छ ।

माओवादीबाट दुई जना राष्ट्रियसभा सदस्य, चार जना प्रतिनिधिसभा सदस्य, नौ जना प्रदेशसभा सदस्य, १४ जना स्थानीय तहका जनप्रतिनिधि र २३ जना पार्टी केन्द्रीय सदस्य एमाले प्रवेश गरेका छन् । तर ५५ जना केन्द्रीय सदस्य, आठ जना राष्ट्रियसभा सदस्य, २३ जना प्रतिनिधिसभा सदस्य, ५३ जना प्रदेशसभा सदस्य, १४ सय बढी स्थानीय तहका जनप्रतिनिधिले एमाले छोडेर एकीकृत समाजवादी बनाएका छन् । ‘हामी विभाजित छौं । यस्तो अवस्थामा कांग्रेसको नेतृत्वमा युवा आउनुले आकर्षण बढेको छ’ एमालेका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘आगामी निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मालाई कांग्रेस नेतृत्वमा प्रतिनिधिले चुनेको असरबारे पनि विचार गर्नुपर्छ ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?