
८ पुस, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोधले संघीयतालाई बलियो बनाउने काममा अवरोध आएको बताएका छन् ।
बिहीबार संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले एमालेले गरेको संसद अवरोधका कारण संघीयतासँग सम्बन्धित विधेयकहरु पास हुन नसकेको बताए ।
संघीय निजामती ऐन पारित हुन नसक्दा प्रदेशले प्रदेश निजामती सेवासम्बन्धी कानुन बनाउन नसकेको भन्दै मन्त्री बडुले यसले संघीयता बलियो बनाउने काममा अवरोध आएको बताएका हुन् । ‘संघीय निजामती ऐन पास नहुँदा प्रदेशमा सेवा सञ्चालनमा नै कठिनाइ भएको छ’ उनले भने ।
त्यस्तै नागरिकता विधेयक पनि अघि बढाउन कुनै समस्या नभएको तर संसद अवरोधका कारण कठिनाइ भएको उनको भनाइ छ । ‘संसद सञ्चालनको बाटोमा गयौं भने संघीयता र नागरिकतासँग जोडिएका विधेयकहरु पारित गर्न सकिन्छ’ मन्त्री बडुले भने ।
मन्त्री बडुले समिति बैठकमा संसद खोल्न एमालेलाई आग्रह गर्न प्रस्तावसमेत गरे । ‘बरु सर्वसम्मत रुपमा संसद खोल्न भनौ न’ उनले भने ।
प्रतिक्रिया 4