+
+

तेलुगु फिल्म ‘हिटम्यान’मा आँचल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते ११:४६

९ पुस, काठमाडौं । अभिनेत्री आँचल शर्माले तेलुगु फिल्म ‘हिटम्यान’मा काम गरेकी छन् । नेपालमा ११ दिनसम्म छायांकन गरिएको उक्त चलचित्रमा आफूले पनि अभिनय गरेको आँचलले जानकारी दिएकी छन् ।

‘हिटम्यान’को छायांकन नेपाल र भारतमा गरिएको छ । नेपालको दृश्यमा आँचल देखिने छिन् । नेपालमा काठमाडौं र पोखरामा छायांकन गरिएको जनाउँदै आँचलले भनिन्, ‘यो विषयमा निर्माण टिमले अन्य नायिकाहरुसँग पनि कुरा गरिरहेको रहेछ । तर, मेरो अनुहार उताका कलाकारको अनुहारसँग मिल्ने भएपछि मैले काम गरेकी हुँ ।’

चलचित्र ‘हिटम्यान’लाई विष्णु अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा आफूले नेपाली संवाद नै बोलेको आँचलले बताइन् । ‘भारतबाट नेपाल आउने टिमसँग मेरो भेट भएपछि कथा अगाडि बढ्छ । भारतमा प्रदर्शन गर्दा मेरो संवादमा सब टाइटल समावेश हुन्छ ।’

उनले चलचित्रको कथाले नेपालको सुन्दरता बोक्ने बताइन् । दीपक अधिकारीले निर्माण गरेको यो चलचित्रलाई वाईएस शेखरले छायांकन गरेका छन् । चलचित्रमा आँचलले निर्देशक विष्णु अधिकारीसँग पर्दा शेयर पनि गरेकी छन् ।

आँचलले काम गर्दाको अनुभव सुनाउँदै भनिन्, ‘छायांकनका क्रममा सिंगो युनिट नै भारतको भएकाले पनि भाषा बुझ्न गाह्रो त भयो । तर, दुईवटा क्यामेराले खिच्ने भएकाले पनि बारम्बार एउटै दृश्यमा अभिनय गर्न परेन । जसले गर्दा काम चाँडो मात्र भएन, सहज पनि भयो ।’

आँचलले चलचित्रको प्रिमियर हैदराबादमा हुने र आफू सहभागी हुने पनि जानकारी गराइन् । आँचलले आफ्नो कामको चलचित्र युनिटले प्रशंसा गरेको समेत बताइन् । ‘नेपाली कलाकार पनि यति गम्भीर भएर काम गर्ने रहेछन् भनेर सिंगो टिमले नै प्रशंसा गर्नुभयो,’ उनले भनिन् ।

चलचित्रको एउटा गीतमा पनि आँचललाई फिचरिङ गरिएको छ । यो गीतलाई नेपाली र तेलुगु भाषामा तयार गरिने आँचलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?