+
+

‘जाम भो माइली’सँगै करोड क्लबमा प्रकाशको ह्याट्रिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १२:१२

९ पुस, काठमाडौं । सर्जक तथा गायक प्रकाश दूतराजले करोड क्लबमा ह्याट्रिक गरेका छन् । पछिल्लो दुई वर्षको अवधिमा सार्वजनिक उनका तीन गीतले युट्युबमा एक करोड बढी भ्युज पाएका हुन् ।

यसअघि उनको ‘बैनी झ्यालैमा’ र ‘घर कता हो बैनीको’ एक करोडभन्दा बढी पटक हेरिसकिएको थियो । बिहीबार साँझ उनको अर्को गीत ‘जाम भो माइली’ले युट्युबमा करोड भ्युज पार गरेको छ ।

प्रकाशले दुई वर्षअघि ‘बैनी झ्यालैमा’ बोलको गीत सार्वजनिक गरेका थिए । आफ्नै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बमको अभिनय छ । यो गीतको भिडियो प्रकाश स्वयंको कथा र निर्देशनमा तयार भएको थियो । हाल ‘बैनी झ्यालैमा’ गीतको भिडियोको भ्युज १ करोड ४ लाख ७० हजार बढी छ ।

त्यस्तै, उनले ८ महिनाअघि ‘घर कता हो बैनीको’ गीत युट्युबमा सार्वजनिक गरेका थिए । आफ्नै शब्द तथा संगीत रहेको यो गीतमा प्रकाश र शान्तिश्री परियारको स्वर छ ।

मौसम हिमालीको निर्देशनमा बनेको यसको भिडियोमा प्रकाशसँगै विजय पुन, जुना सुन्दास, आयुष्मा कार्कीको अभिनय छ । यो गीतको भिडियोले युट्युबमा १ करोड ४१ लाख बढी भ्युज पाइसकेको छ । ‘जाम भो माइली’ भने प्रकाशले दुई महिनाअघि मात्रै सार्वजनिक गरेका हुन् । आफ्नै शब्द तथा संगीत रहेको यो गीत पनि प्रकाशले शान्तिश्री परियारसँग गाएका छन् ।

मौसम हिमालीको कथा तथा निर्देशनमा बनेको भिडियोमा प्रकाश आफैंले अभिनय गरेका छन् । उनको साथमा रोशनी कार्की र निक शर्माको अभिनय छ । यो गीतको भ्युज भर्खरै एक करोड पुगेको हो । यी तीनवटै गीतको भिडियो प्रकाशले आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेका हुन् ।

म्याग्दीका प्रकाशले पछिल्लो समय आफ्ना एकपछि अर्को सिर्जनामार्फत स्रोता-दर्शकको मन जितिरहेका छन् । लोकदोहोरी क्षेत्रका स्थापित कलाकारहरुले समेत उनको सिर्जनाको तारिफ गर्ने गरेका छन् । प्रकाशका गीतलाई रुचाउनुको कारण हो, उनका सिर्जनामा गाउँ समाज, परिवेशका कथा पाइन्छ ।

प्रकाश पनि आफू हुर्केको गाउँ-समाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्छन् । तिनै गाउँ-समाज र परिवेशका कथालाई आफूले सिर्जनामा पस्किने प्रयास गर्दै आएका छन् । उनका ‘आरने’, ‘चोली मैलै भो’ लगायतका अन्य गीतलाई पनि स्रोता-दर्शकले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?