
९ पुस, काठमाडौं । कोभिड–१९ विरुद्धको खोपमा प्रयोग हुने ५० लाख थान सिरिन्ज नेपाल आइपुगेको छ ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार संयुक्त राष्ट्रसंघीय विशिष्ट एजेन्सी युनिसेफको अनुदान सहयोगमा उक्त परिमाणको सिरिन्ज शुक्रबार नेपाल आइपुगेको हो ।
प्राप्त सिरिन्जलाई बाराको पथलैयास्थित खोप भण्डारण केन्द्रमा राखिएको उनले बताए । सिरिन्ज प्राप्त भएसँगै अभाव देखिएका प्रदेशहरुमा पथलैयाबाटै वितरण गरिने उनको भनाइ छ ।
प्राप्त कोरोना खोपको अनुपातमा सिरिन्ज कम उपलब्ध हुँदा प्रदेश १ को खोप कार्यक्रम प्रभावित बनेको थियो । अन्य प्रदेशहरुले पनि सिरिन्ज सकिन लागेको रिपोर्टिङ खोप आपूर्ति शाखामा गराएका थिए ।
अझै ७० लाख सिरिन्ज आवश्यक
स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार १ करोड १८ लाख डोज कोरोना खोप भण्डारणमा छ ।शुक्रबार आएको सिरिन्जले हालको लागि खोप अभियान सञ्चालन गर्न सहज भएपनि अझै ७० लाख सिरिन्ज अझै आवश्यकता पर्ने चौरसियाको भनाइ छ ।
सरकारले चैतसम्ममा करिब २ करोड कोरोना खोप आउने पाइपलाइनमा रहेको जनाएको छ। ‘कोरोना खोप आउने क्रम जारी छ । तर, त्यस अनुपातमा हामीलाई सिरिन्ज उपलब्ध छैन,’ चौरसियाले भने, ‘सरकारले सिरिन्ज खरिदका लागि प्रक्रिया अगाडि बढाइरहेको छ।’
सरकारले युनिसेफबाट ६० लाख सिरिन्ज खरिद प्रक्रिया अगाडि बढाएको उनले बताए । तर, सिरिन्ज कहिलेसम्म आइपुग्छ भन्ने कुनै टुंगो छैन।
पाइपलाइनमा भएका खोपका लागि झण्डै २ करोड सिरिन्जको आवश्यक पर्ने चौरसियाले जानकारी दिए । शुक्रबार कोभ्याक्स सुविधा अन्तर्गत नेपालालाई ६ लाख ६४ फाइजर खोप उपलब्ध गराएको छ । तर, यो खोपमा प्रयोग हुने सिरिन्ज आइपुगेको छैन ।
फाइजर खोप प्राप्त भएपनि सिरिन्ज आइनपुगेकोले सरकारले काठमाडौं लगायत ८ जिल्लाका लागि १२ देखि १७ वर्ष सम्मका बालबालिकालाई १३ पुस देखि खोप दिने अभियान प्रभावित बनेको छ। चौरसियाले फाइजरका लागि चाहिने सिरिन्ज अर्को हप्तासम्म आइपुग्ने जानकारी प्राप्त भएको बताए।
प्रतिक्रिया 4