+
+

मनाङ भर्सेस मछिन्द्र : लिगको हेभिवेट भिडन्त

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ पुष १० गते ९:१९

१० पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई ठूला क्लब मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन् ।

मनाङ सर्वाधिक ८ पटकको लिग विजेता टिम हो । जारी सिजन पाँचौ चरणसम्मको खेलपछि मनाङ शीर्ष स्थानमा छ ।  छैटौं चरणको खेल सुरु भइसकेको छ । उता साविक विजेता मछिन्द्र दोस्रो स्थानमा छ ।

मनाङले ५ मध्ये चार जित र एक बराबरी नतिजाबाट १३ अंक जोडेको छ । मछिन्द्रले भने तीन खेल जित्दा दुई खेल बराबरीमा टुङ्गिएको थियो ।

अपराजित शीर्ष दुई टिमबीचको यस खेललाई हेभिवेट भिडन्त समेत भन्न सकिनेछ ।

लिगको करिब मध्यभागतिर आइपुग्दा यी दुई क्लबबीचको भिडन्तले लिग विजेताको बाटोसमेत तय गर्न सक्नेछ अर्थात लिगमा निर्णायक समेत बन्न सक्नेछ ।

अर्को तिर सातौं चरणको खेलपछि शीर्ष स्थानमा रहने क्लबले एएफसी कप क्वालिफायर खेल्नेछ । त्यसमा पनि मनाङ र मछिन्द्र नै अघि छन् । यी दुई क्लबसँगै त्रिभुवन आर्मी क्लब पनि त्यो होडमा छ । तर आर्मीको ९ अंक मात्र छ । यस्तोमा मनाङ र मछिन्द्र बीचको खेलले नै धेर हदसम्म एएफसी कप क्वालिफायर पुग्ने टिमको टुङ्गो लाग्नेछ ।

यी तीनवटै क्लबसँग एएफसी क्लब लाइसेन्स छ । त्यसमध्ये सातौँ चरणको समाप्तीङ्गा धेरै अंक जोड्ने क्लबले एएफसी कप छनोट खेल्ने एन्फाले निर्णय गरिसकेको छ ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले एएफसी कप छनोटभन्दा पनि लिग उपाधितिर लक्ष्य बनाउँदै अबका खेल खेल्ने बताएपछि अब मनाङ र मछिन्द्र नै यसका लागि दाबेदार छन् ।

मछिन्द्र अघिल्लो खेलमा संकटासँग बराबरीमा रोकिँदा मनाङले त्यसको फाइदा उठाउँदै पुलिसलाई पोखरामा ३-१ ले हराएर मछिन्द्र माथि २ अंकको स्पष्ट अग्रता बनाएको छ ।

अब मनाङले मछिन्द्रलाई पराजित गरेमा सातौं चरणको खेल खेल्न बाँकी हुँदा नै एएफसी कप छनोटमा स्थान पक्का गर्नेछ । साथै मनाङले ५ अंकको अग्रता बनाउँदै उपाधि होडमा समेत दाबेदारी बलियो बनाउनेछ । मछिन्द्रका लागि एएफसी कपको सम्भावना कायम राख्न र उपाधि होडमा पनि रहिरहन मनाङविरुद्ध खेल निकै मह्तपूर्ण छ । त्यसैले पनि यी दुई टिमबीचको खेल बहुप्रतिक्षित हुनेछ ।

मनाङ मर्स्याङ्दीको टीम ।

मनाङका प्रशिक्षक फुजा तोपेले मछिन्द्रसँगको खेलका लागि राम्रो तयारी गरेको र खेल पनि राम्रो हुने बताइसकेका छन् । उनले मछिन्द्र राम्रो टिम रहेकोले विपक्षीलाई सम्मान गर्दै जितकै लागि खेल्ने प्रिम्याच कन्फ्रेन्समा बताएका थिए । उनको भनाइ छ,  ‘मछिन्द्र राम्रो टिम हो । हरेक टिम जित्नकै लागि खेल्छ र सबैलाई सम्मान गर्नुपर्छ,’ फुझाले अंक नगुमाउने रणनीति अनुसार खेल्ने बताए ।

साथै उनले एएफसी कप क्वालिफायरका लागि दुवै टिमलाई दबाब रहेको समेत बताए । ‘दबाब दुवै टिमलाई छ एएफसी कप छनोटमा पुग्न । हामी ३ अंकै लागि खेल्छौँ ,’ उनले भने ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले एएफसी कप क्वालिफायरमा पुग्न मनाङ विरुद्धको खेल जित्नैपर्ने दबाब रहेको बताएका छन् । ‘हामीलाई जित्नैपर्ने दबाब छ । मनाङ २ अंकले अघि छ । यसअघिको खेल ड्र भयो । अब हुने खेल जितेर अर्को खेल पनि जित्नुपर्छ,’ उभने भने ।

मछिन्द्र ब्लबको टिम

उनले मनाङसँग खेल्दा दबाब हुनेसमेत बुझेका छन् । उनले थपे, ‘मनाङ लिग टपर हो र अपराजित छ । टिम सन्तुलित छ । हाम्रो पनि टिम सन्तुलित छ र त्यही अनुसार रणनीत बनाएको छौँ ।’ कटुवालले टिममा चोटको समस्या भएको तर टिम वर्क महत्वपूर्ण रहेको बताए ।

अघिल्लो खेलमा नियमित कप्तान सुजल श्रेष्ठ र रन्जित धिमालल पूर्ण रुपमा ठिक थिएनन् । मनाङ विरुद्धको खेलमा भने दुवैले खेल्ने उनले बताए ।

प्रशिक्षक कटुवालले एएफसी कप क्वालिफायर पुग्न मनाङ विरुद्धको खेल डिसाइडर हुने पनि बताए ।

इतिहासमा मनाङ हाबी

मनाङले २०४३ सालदेखि ए डिभिजन लिग खेल्न थालेको हो । मछिन्द्रले भने २०६२ सालदेखि मात्र माथिल्लो डिभिजनमा खेल्न थालेको हो । मछिन्द्र ए डिभिजनमा आएयता मनाङ र मछिन्द्रबीच अहिलेसम्म कूल १२ खेल भएको छ । जसमा ७ खेल मनाङले जितेको छ । मछिन्द्रले जम्मा २ खेल मात्र जित्दा बाँकी ३ खेल बराबरीमा सकिएको थियो ।

मनाङले सर्वाधिक ८ पटक लिग जित्दा मछिन्द्रले २०७६ मा पहिलो पटक लिग जितेको छ । त्यो भनेको यसअघिको सिजन हो । जहाँ मछिन्द्रले मनाङबाटै अधिकांश खेलाडी भित्र्याएर थियो र स्टारहरुको टिम बनाएर पहिलो पटक च्याम्पियन बनेको थियो ।  त्यस सिजन मनाङ र मछिन्द्रले २-२ को बराबरी खेलेका थिए । २०७५ को लिगमा भने मनाङले मछिन्द्रलाई १-० ले पराजित गरेको थियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?