+
+

माओवादीको राष्ट्रिय सम्मेलनबाट जनअपेक्षा

गंगा पन्थी गंगा पन्थी
२०७८ पुष ११ गते ९:५४

यतिबेला देश राजनीतिक दलहरूको महाधिवेशन र राष्ट्रिय सम्मेलनमय बनेको छ । केही समय पहिले देशको ठूलो दल नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा सम्पन्न भयो भने नेपाली कांग्रेसको चौधौं महाधिवेशन पनि भर्खर काठमाडौंमा सम्पन्न भएको छ । यहीबीचमा राप्रपाले पनि आफ्नो महाधिवेशन सम्पन्न गरिसकेको छ । सम्पन्न भएका महाधिवेशनहरूको बारेमा नागरिकको प्रतिक्रिया आउने क्रम जारी छ । एमालेको महाधिवेशनमा विचारको बहस नभएको एवम् आन्तरिक लोकतन्त्रलाई कुण्ठित गरिएको आरोप लाग्ने गरेको छ भने कांग्रेसको महाधिवेशनमा पनि विचारको बहस भएन । तर त्यहाँ आन्तरिक लोकतन्त्रको भने भरपूर प्रयोग भएको देखियो ।

त्यसैको उपज हो, कांग्रेसमा युवा नेताहरू धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्माहरू पदाधिकारीका महत्वपूर्ण पदहरूमा विजयी हुनु । राप्रपाकै महाधिवेशनबाट समेत आजसम्मको कमल थापाहरूको वर्चश्वलाई तोड्दै युवा नेता राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । यसले देशमा के संकेत गरिरहेको छ भने आम नागरिकले त नयाँपन चाहेका छन् नै सँगै राजनीतिक दलका कार्यकर्ताहरूले पनि अहिले नयाँपनको आवश्यकता महसूस गरेका छन् ।

अब लागौं माओवादीको राष्ट्रिय सम्मेलनतर्फ । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ । यसले नयाँ विचार र नयाँ नेतृत्व चयन गर्ने माओवादीको भनाइ रहेको छ । अहिलेको आकार जे जस्तो भए पनि नेपालको पछिल्लो परिवर्तनकारी आन्दोलनमा माओवादीको भूमिका उल्लेखनीय छ । २०४८ सालको संसदीय निर्वाचनमा ९ सिट जितेर संसदमा तेस्रो शक्ति भएको तत्कालीन संयुक्त जनमोर्चा दुई भागमा विभाजित भई बनेको एक समूह माओवादी बन्दै जनयुद्धमा गएको थियो । तत्कालीन समयमा उसको देशव्यापी संगठन सञ्जाल पनि थिएन । सशस्त्र संघर्ष गरेपछि राज्यको तर्फबाट माओवादी प्रति गरिने व्यवहार स्वभावैले कठोर हुने नै भयो र पनि माओवादीले राज्यसत्तालाई चुनौती दिंदै आफ्ना गतिविधि बढाइरहृयो ।

देशका मूलधारका पार्टीहरूमा पनि माओवादीलाई हेर्ने दृष्टिकोण फरक फरक देखियो । माओवादीको प्रभाव बढ्दै जाँदा वार्ता र सहमतिका कुराहरू पनि सार्वजनिक भए । २०५८ सालमा भएको पहिलो र २०६० सालमा भएको दोस्रो वार्तामा गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको निर्वाचन जस्ता माओवादीका मागहरू पूरा नभएपछि वार्ताबाट पछि हट्दै माओवादी पुनः युद्धमा गएको थियो । संसदीय व्यवस्थामा देखिएका विकृति समाधान गर्ने भन्दै तत्कालीन राजा ज्ञानेन्द्रबाट माघ १९ को कदम चालिएसँगै मूलधारमा रहेका राजनीतिक दलहरू समेत सडकमा आउन बाध्य भए । १२ बुँदे सहमति पछि माओवादी र संसदवादी पार्टीहरू मिलेर भएको २०६२/६३ को दोस्रो जनआन्दोलनको कारण राजा पछि हट्न बाध्य भए । माओवादी शान्ति प्रक्रियामा आउन सहमत भयो । २०६३ मंसीर ५ को विस्तृत शान्ति सम्झौता मार्फत सशस्त्र युद्ध छाडी शान्तिपूर्ण ढंगले अघि बढ्ने प्रतिबद्धता जनायो । अन्तरिम संसदमा पनि माओवादी पार्टीले सम्मानजनक उपस्थिति पायो ।

ऐतिहासिक संविधानसभाको पहिलो निर्वाचनमा जनताले माओवादी पार्टीलाई अभूतपूृर्व समर्थन गर्दै पहिलो पार्टी बनाए । तर संविधानसभाको परिणामपछि असाध्यै हौसिएको माओवादी पंक्तिले परिपक्वता प्रदर्शन गर्न नसकेपछि पशुपति काण्ड र कट्वाल काण्ड लगायत विषयमा फस्न पुग्दा सत्तापक्षबाट प्रतिपक्षमा पुग्यो ।

दोस्रोपटक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि पार्टीले संविधान निर्माणमा सशक्त पहलकदमी लिन नसक्दा पटक-पटक थप गरिएको संविधानसभा पनि भंग भयो र माओवादी पार्टी पनि विभाजनको शिकार भयो । दोस्रो संविधानसभाको निर्वाचनबाट त माओवादी तेस्रो पार्टीमा खुम्चिन पुग्यो । नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान जारी गर्दा असन्तुष्ट पक्षका माग सम्बोधन गर्न नसकिएको विषय उठाए र देश विकास गर्न नयाँ शक्ति आवश्यक छ भनी पार्टी परित्याग गरे । अहिले प्रचण्ड नेतृत्वको माओवादी पार्टी बाहेकका धेरै पुराना माओवादी नेताहरू बाबुराम भट्टराई, मोहन वैद्य (किरण), विप्लव, आहुति, गोपाल किराँती छुट्टाछुट्टै पार्टीको नेतृत्वमा छन् ।

२०७४ को संघीय र प्रादेशिक निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको कार्यगत एकता भई दुईतिहाइ नजिकको बहुमत पनि प्राप्त भयो तर कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारले जनताले आशा गरेबमोजिमको काम गर्न सकेन । सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारलेे सरकारले समाजवादी कार्यक्रम त लागू गर्न सकेन सकेन, न्यूनतम पूँजीवादी कार्यक्रम पनि लागू गर्न सकेन । जनअपेक्षा अनुसार काम भएन ।

दुई पार्टी बीचमा भएको एकता पनि अदालतबाट उल्टियो । तत्कालीन प्रधानमन्त्री केपी शर्माले संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेको विषयलाई अदालतले उल्टाइदिंदा ओली सत्ताबाहिर पुगे भने प्रतिपक्षीय दलका नेता शेरबहादुर देउवालाई समर्थन गरेर सरकारको नेतृत्व सुम्पन कम्युनिष्टहरूलाई बाध्यता आइलाग्यो । यस्तो विषम पृष्ठभूमिमा हुन गइरहेको राष्ट्रिय सम्मेलनबाट स्वभावैले नयाँ आशा जनमानसमा देखिन्छ ।

राजनीति पेशा र व्यवसायको रूपमा विकास भइरहेकोमा यसलाई समाजसेवामा रूपान्तरण गर्नैपर्छ । यो कुरामा माओवादी पंक्ति कति खरो उत्रिन्छ, त्यसैमा उसको भविष्य निर्धारण हुन्छ

प्रश्न विचार, कार्यदिशा र कार्यक्रम निर्माणको

समकालीन विश्व र राष्ट्रिय परिवेशमा समेत यान्त्रिक र जड भएर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सकिने स्थिति देखिंदैन । लोकतन्त्र, मानवअधिकार, कानूनी शासन लगायत विषयहरू अनिवार्य हुन्छन् । माओवादीकै भाषामा पूँजीवादी राज्यव्यवस्थाले असमानता र सामाजिक विभेद सिर्जना गर्ने हुँदा यो राष्ट्रिय सम्मेलनबाट सोही बमोजिमको विचार, कार्यदिशा र कार्यक्रम आउनु जरूरी छ । अबको नेपाली समाजवादी आन्दोलन कसरी सम्पन्न गर्न सकिन्छ, बृहत् कार्यक्रम राष्ट्रिय सम्मेलनबाट आउनुपर्दछ ।

सही नेतृत्व पंक्तिको छनोट

राष्ट्रिय सम्मेलनको एउटा महत्वपूर्ण कार्यभार सही नेतृत्वको छनोट हो । अन्य पार्टीहरूले लोकतान्त्रिक अभ्यास गरी नेतृत्व छनोट गरिरहेको सन्दर्भमा माओवादी राष्ट्रिय सम्मेलनले समग्रमा कस्तो नेतृत्व पंक्तिलाई निर्वाचित गर्दछ, आम चासोको विषय बनेको छ । माओवादीले आदर्श मानेका चिनियाँ नेता माओकै शब्दमा पार्टीमा तीनमा एक (थ्री इन वन) नीति कार्यान्वयन गर्न सक्दछ कि सक्दैन । पार्टी नेतृत्वमा तीन भागमा एक भाग युवा, एक भाग प्रौढ र एक भाग वृद्धहरू समावेश गरेर नेतृत्व चयन गर्न सक्दछ कि सक्दैन । त्यसैगरी नेपालको सन्दर्भमा समानुपातिक समावेशिताको पहिलो पक्षपाती माओवादी भएकै कारणले समावेशिताका आधारमा पदाधिकारी र केन्द्रीय नेतृत्व चयनमा पार्टी कति खरो उत्रिन्छ, यसैले भोलिका दिनहरू निर्धारण हुनेछन् ।

कम्युनिष्ट आचरण, व्यवहार र चरित्र प्रदर्शन गर्ने प्रतिबद्धता

यतिबेला नेपालमा माओवादी मात्र होइन, अन्य कम्युनिष्ट पार्टीका नेतृत्वदेखि कार्यकर्तासम्मको आचरण, व्यवहार र कार्यशैली कम्युनिष्ट चरित्रको देखिंदैन । यसलाई व्यापक सुधार गरेर कम्युनिष्ट आचरण, कार्यशैली र व्यवहार बनाउनुको विकल्प छैन । त्यसैगरी, नेपालमा अहिले राजनीति पेशा र व्यवसायको रूपमा विकास भएको आभास हुन्छ । जनयुद्धको समयमा जनतासँग जोडिएर सँगसँगै हिंड्ने माओवादीहरू जनताबाट टाढिएका छन् । उनीहरू जनतासँग जोडिएरै अगाडि बढ्नुको विकल्प छैन । त्यो गर्न माओवादीले सक्छ कि सक्दैन । कम्तीमा सम्मेलनमा यो विषयले कति प्राथमिकता पाउँछ, यो अहम् महत्वको सवाल हो ।

देश विकासको स्पष्ट खाका

देशको पछिल्लो परिवर्तनको लागि धेरै ठूलो त्याग र बलिदान गर्ने माओवादी पंक्ति भएका कारण देश विकासका लागि बढी जिम्मेवार पनि माओवादी हुनुपर्ने हुन्छ । देश विकास गर्न स्पष्ट खाका आवश्यक छ । विषयविज्ञ र सरोकारवालासँग छलफल र अन्तरक्रिया गरेर देशको मौलिक विकासको मोडेल तय गर्न माओवादी सफल हुनुपर्दछ । यो सम्मेलनले त्यो दिशानिर्देश गर्न सक्नुपर्दछ ।

उत्पादनमुखी अर्थतन्त्र निर्माण

हेटौंडा महाधिवेशनबाट पारित गरेको उत्पादन ब्रिगेड बहसको मात्रै विषय बन्यो । यो विषयले कति महत्व पाउँछ, पार्टी कामले व्यस्त हुनुपर्ने शीर्ष नेतृत्व बाहेकका अधिकतम् नेता-कार्यकर्ताहरू (पार्टी सदस्यसम्म) ले न्यूनतम अवधि तोकेर श्रममा अनिवार्य सहभागी बन्नुपर्छ । राजनीति पेशा र व्यवसायको रूपमा विकास भइरहेकोमा यसलाई समाजसेवामा रूपान्तरण गर्नैपर्छ । यो कुरामा माओवादी पंक्ति कति खरो उत्रिन्छ, त्यसैमा उसको भविष्य निर्धारण हुन्छ । जनतासँग जोडिएर जनतालाई देश निर्माणमा गोलबन्द गर्ने कुरा महत्वपूर्ण रहेको छ ।

भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको लागि नेतृत्व

देशमा भ्रष्टाचार व्याप्त छ । युद्धकालमा माओवादीले यो विषय प्राथमिकताका साथ उठाउने गथ्र्यो र भ्रष्टाचारीलाई कारबाही पनि गर्दथ्यौं । अहिले यो विषय धेरै प्राथमिकतामा परेको देखिंदैन । त्यसकारण भ्रष्टाचार निर्मूल गर्ने र सुशासनको नेतृत्व गर्ने विषयमा माओवादी पार्टीले पहलकदमी लिनु जरूरी छ । यो विषयले कति महत्व पाउँछ, आम चासोको विषय बनेको छ ।

जनजीविकाका सवाल हल गर्ने विषयमा स्पष्ट दृष्टिकोण

माओवादी पार्टीले युद्धकालमा जनजीविकाका सवालहरूलाई सशक्त ढंगले उठाउने गर्दथ्यो । पछिल्लो कालखण्डमा केही उदासीनता देखिएको छ । भुईंतहका मानिसको जीवन अहिले असाध्यै कष्टदायक छ । खासगरी कोभिड-१९ को कारणले झन् बेरोजगारी बढ्दैछ । महँगी बढिरहेको छ । शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकता पूरा गर्न सामान्य नागरिकलाई धौ-धौ परिरहेको छ । यी लगायत जनजीविकाका तमाम विषयमा माओवादी प्रष्ट भएर आउन सक्नुपर्छ ।

ध्रुवीकरण, एकता, रूपान्तरण र सहकार्य

अहिलेका नेपालका समस्या माओवादी पार्टी एक्लैको प्रयासले सम्भव देखिंदैन । माओवादीबाट छुट्टएिका डा. बाबुराम भट्टराई, मोहन वैद्य (किरण), विप्लव, आहुति मात्र होइन, अन्य परिवर्तनकारी शक्तिहरूसँगको सहकार्य र एकता आजको आवश्यकता हो । परिवर्तनकारी शक्तिहरू भुत्ते हुँदै गएको अवस्थामा प्रतिगामी शक्तिहरू सल्बलाउँदै गएको देखिन्छ । कतिपय पुराना शक्तिले नै त्यो मौका खोजिरहेका छन् भने कतिपय नयाँ नामधारी वैकल्पिक शक्तिहरूले पुराना एजेण्डा बोकिरहेका छन् । यसमा उनीहरूलाई दोष दिएर मात्र पुग्दैन । हरेक कुराको विकास र विनाशमा मुख्य भूमिका आन्तरिक पक्षको नै हुन्छ भन्ने विज्ञानको नियमलाई आत्मसात् गर्दै परिवर्तनकारी शक्ति ध्रुवीकृत, एकीकृत र रूपान्तरित हुँदै अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

नेपालको परिवर्तनकारी आन्दोलनमा प्रचण्ड नेतृत्वको माओवादी पंक्तिले अन्य शक्तिहरूले भन्दा पछिल्लो कालखण्डमा धेरै जोखिम मोलेर समाज परिवर्तनका लागि हिंड्यो । तर त्यो बलिदानीभाव वर्तमानसम्म जोड्न नसक्दा भने माओवादीप्रति जनताको वितृष्णा पैदा भएको अवस्था छ ।

माओवादी पार्टीले कस्तो विचार निर्माण गर्दछ, कस्तो कार्यदिशा तय गर्दछ आम मानिसको सरोकारको विषय कमै होला । त्यो केवल माओवादी नेतृत्व, कार्यकर्ता र सम्बद्ध व्यक्तिहरूको मात्र चासोको विषय बन्दछ । सम्मेलनले जनताका दैनिक जीवनका समस्या समाधान गर्न, संविधानमै उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न कस्तो नीति, कार्यक्रम ल्याउँछ, आम मानिसको चासो त्यसमा छ । जनताका दैनिक जीवनसँग जोडिएका यावत् विषयका बारेमा माओवादीको सम्मेलनले के बोल्छ र सम्मेलनपश्चात् माओवादी पंक्तिले कस्तो व्यवहार गर्दछ, यो नै माओवादीको सम्मेलनप्रति आम मानिसको चासोको विषय रहेको छ । त्यसकारण यी समग्र विषयहरू सम्मेलनले हल गर्न सकेमा मात्रै यो सम्मेलन सार्थक हुनेछ, अन्यथा यो कर्मकाण्ड मात्रै हुनेछ । माओवादी पंक्तिलाई यी विषयहरूमा सफलता मिलोस्, शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?