
११ पुस, बुटवल । पश्चिम नवलपरासीमा पैदल हिंडिरहेका चार जनालाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
आज बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका १ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको थियो । बसको ठक्करबाट रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेश्मीमगरको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक रेश्मी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती हुन् ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
उदयपुरमा टिप्परको ठक्करले मोटरसाइकल चालकको मृत्यु
यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा आइतरबार बिहान टिपरसँग ठोक्किदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका १ जोगिदहका २६ वर्षीय गंगाराम चौधरीको मृत्यु भएको छ ।
सुन्दरपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ३८९६ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा स १० प ८७९८ नम्बरको मोटरसाइकल आज बिहान ९ बजे सोही टिपरमा ठोकिएको थियो । दुर्घटनामा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना घाइते भएकी मोटरसाइकलमा पछाडि सवार २५ वर्षीया संगिता चौधरीलाई उपचारका लागि फत्तेपुर अस्पताल पठाइएको छ ।
प्रतिक्रिया 4