+
+

रातारात महाधिवेशन गर्ने निर्णयमा किन पुग्यो माओवादी ?

प्रचण्ड र नारायणकाजीको खासखुसमा निर्णय

प्रचण्डले सोधे, ‘महाधिवेशनको कुरा त होइन ?’ श्रेष्ठले आफ्नो मनमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने पो हो कि कुरा खेलेको सुनाए । दुबै नेताको मत मिल्यो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते २०:५०

११ पुस, काठमाडौं । प्रथम राष्ट्रिय सम्मेलनका लागि भनेर देशभरबाट प्रतिनिधिहरु आइसकेका थिए । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा उद्घाटन समारोहको सबै तयारी भइसकेको थियो ।

तर शनिबार साँझ माओवादी केन्द्रको स्थायी कमिटीमा एकाएक निर्णय गर्‍यो, राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गर्ने ।

‍यो निर्णयले सम्मेलनस्थल र आसपासमा टाँगिएका ब्यानरहरु सबै काम नलाग्ने भए, प्रतिनिधिको कार्ड परिर्वतन गर्नुपर्ने भयो । आयोजक मूल व्यवस्थापन समिति रातारात तयारीमा जुट्यो, ब्यानरहरु फेरिए । प्रतिनिधिहरुको नयाँ कार्ड छापियो ।

राष्ट्रिय सम्मेलन भएकाले माओवादी केन्द्रले भाइचारा सम्बन्ध भएका अन्तर्राष्ट्रिय दलहरुलाई मात्र होइन, देशभित्रकै दलहरुलाई पनि बोलाएको थिएन । महाधिवेशन गर्ने भएपछि दलहरुलाई बोलाउने तय भयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले फोन गरे, अरु दललाई पनि महाधिवेशनको निम्तो दिइयो ।

विहान ८ बजे बसेको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावको शीर्षक सुनाए, ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो ।’ तर उनले आफ्नो प्रस्ताव समेत केन्द्रीय सदस्यहरुलाई दिन सकेका छैनन् । यसबारे महाधिवेशन स्थलमै छलफल गर्ने भनिएको छ ।

एक नेता भन्छन्, ‘हाम्रो पार्टीको नेतृत्व कति मनोगत छ, कति हचुवाका भरमा निर्णय गर्छ र माओवादी पार्टी कति अव्यवस्थित रुपमा चलेको छ भन्ने प्रमाण हो ।’

यसरी भयो निर्णय

२३ फागुन २०७७ मा नेकपाको एकता खारेज भएपछि पुनर्स्थापित माओवादी केन्द्रले चैतमा केन्द्रीय समितिको बैठक राखेर राष्ट्रिय सम्मेलन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । साउन अन्तिममा बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले राखेको प्रस्ताव अनुसार, पुस ११ देखि १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्‍यो । अन्तरिम विधान बन्यो, त्यसअनुसार वडादेखि सम्मेलन भयो ।

राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहको अघिल्लो दिन शनिबार दिउँसो २ बजे पार्टीका शीर्ष नेताहरुले सम्पादकहरुसँग अन्तर्क्रिया गर्ने कार्यक्रम राखिएको थियो । पेरिसडाँडामा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ कार्यक्रमस्थल पुल्चोकस्थित होटल हिमालय एउटै गाडीमा जाँदै थिए । श्रेष्ठले प्रचण्डलाई आफ्नो मनमा एउटा कुरा खेलिरहेको सुनाए ।

प्रचण्डले सोधे, ‘महाधिवेशनको कुरा त होइन ?’

श्रेष्ठले आफ्नो मनमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने पो हो कि कुरा खेलेको सुनाए । दुबै नेताको मत मिल्यो । नेताहरुले निर्वाचन आयोगमा परामर्श गरे,सकारात्मक जवाफ आएपछि साँझ स्थायी समिति बैठक बोलाइयो र राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव राखे ।

माओवादीले आइतबार बिहान ८ बजे केन्द्रीय समिति बैठक राखेर त्यही प्रस्ताव अनुमोदन गरायो । ‘हामीले राष्ट्रिय सम्मेलन भनेका थियौं, हिजो स्थायी कमिटीले एउटा प्रस्ताव पेश गर्‍यो, केन्द्रीय कमिटीले आठौं महाधिवेशनका रुपमा स्वीकार गर्ने भनेर अनुमोदन गर्‍यो,’ प्रवक्ता कृष्णबहादुर महराले सुनाए ।

गर्नुपर्ने महाधिवेशन नै हो, तर…

राजनीतिक दलहरुमा विचार, नीति, कार्यक्रम र नेतृत्व चयन गर्ने सर्वोच्च थलो महाधिवेशनलाई मानिन्छ । संविधानतः हरेक ५/५ वर्षमा दलहरुले महाधिवेशन गर्नुपर्छ । माओवादी केन्द्र (तत्कालीन एकीकृत नेकपा माओवादी) ले आफ्नो सातौं राष्ट्रिय महाधिवेशन २०–२५ माघ २०६९ मा गरेको थियो ।

यद्यपि नेतृत्व चयनमा यो असफल महाधिवेशन मानिन्छ । महाधिवेशनले नेतृत्व चयन गर्न नसकेपछि १८–२१ वैशाख २०७१ मा राष्ट्रिय सम्मेलन गर्‍यो, त्यसले पनि नेतृत्व चयन गर्न सकेन र पेरिसडाँडामा डा. बाबुराम भट्टराई पक्षको बहिस्कारका बाबजुद केन्द्रीय समितिमा आन्तरिक निर्वाचन गरेर नेतृत्व चुन्यो । तर एकता, विभाजन, एकताको श्रृङ्खलाका कारण बहुदलीय प्रणालीअनुसार चुनिएका पदाधिकारीहरुले राम्रोसँग कामै गर्न पाएनन् ।

३ जेठ २०७५ मा एमालेसँग एकता गरेर नेकपा बनेपछि माओवादी छुट्टै दलको अस्तित्वमै रहेन । तर २३ फागुन २०७७ मा नेकपाको एकता खारेज भएपछि नेताहरुले अब माओवादी केन्द्रको पुनरोदयका रुपमा स्थापित गर्नुपर्ने बताए ।

उनीहरुका अनुसार त्यसका लागि शान्ति प्रक्रियामा आएको १५ वर्ष निर्मम समीक्षा गर्नुपर्ने बेला थियो । ‘हामी कहाँ चुक्यौं ? पार्टीमा टुटफुट किन भइररहेको छ ? हाम्रो संगठनमा तदर्थवाद किन छ ? हामी आफ्नै खुट्टामा किन उभिन सकेनौं र कहिले एमाले त कहिले कांग्रेसको पछि लाग्नु पर्ने अवस्था किन आयो ? यो सबैको सुक्ष्म समीक्षा गरेर अगाडि जाने बाटो तय गर्नुपर्ने थियो,’ एक नेता भन्छन्, ‘यसका लागि आवश्यक महाधिवेशन नै हो ।’

तर नेतृत्व त्यसका लागि तयार भएन, आफ्नो अनुकुलताका लागि राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्‍यो । किनकी विचारको बहसदेखि नेतृत्वको आकांक्षीका कारण पार्टीको आन्तरिक एकता नै संकटमा पर्ने नेतृत्वको बुझाइ थियो ।

राष्ट्रिय सम्मेलन भनेकाले नेता कार्यकर्ताले पनि विचारको बहसमा धेरै जोड दिएनन्, तल्ला समितिहरुमा सहमतिबाटै नेतृत्व चयन गरे । कतिसम्म भने प्रदेशमा पनि बागमती र प्रदेश १ मा बाहेक सबैतिर सहमतिबाटै नेतृत्व चयन भयो ।

राष्ट्रिय सम्मेलन उद्घाटनसम्म अध्यक्षमा प्रचण्ड निर्विकल्प देखिए, अरु पदका आकांक्षीहरुले पनि प्रतिस्पर्धाभन्दा सहमतिबाटै नेतृत्व चुन्नुपर्ने मत राखे । ‘यस प्रकारको माहौल बन्छ, यत्तिको केन्द्रीकरण अपेक्षा गरेको थिइनँ,’ एक नेता भन्छन्, ‘आफ्नो अनुकुल वातावरण बनेपछि नेतृत्वले राष्ट्रिय सम्मेलनलाई एकाएक महाधिवेशनमा बदल्ने निर्णय लिएको हो ।’

तर यसले माओवादी केन्द्रको पुनरोदय जति सम्भावना थियो, त्यो कमजोर हुने नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?