News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी चेम्बर अफ कमर्सले गोवा र लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोड्ने र गोवाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा उडान चलाउने प्रस्ताव गरेको छ।
- गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तले नेपाल–गोवा पर्यटन र व्यावसायिक साझेदारीका सम्भावनाप्रति सकारात्मक धारणा राख्दै सहकार्य गर्न सकिने बताएका छन्।
- नेपाली प्रतिनिधिमण्डलले पोखरा–गोवा पर्यटन साझेदारी, संयुक्त लगानी र होटल–आतिथ्य क्षेत्रमा सहकार्यको प्रस्ताव पनि गोवा सरकारसमक्ष राखेको छ।
१४ कात्तिक, बुटवल । लुम्बिनी चेम्बर अफ कमर्सले भारतको प्रसिद्ध समुद्री पर्यटकीय गन्तव्य गोवा र विश्व शान्तिको प्रतिक बुद्ध जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारेको छ ।
नेपाली प्रतिनिधिमण्डलले गोवाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा हवाई सेवा सञ्चालनको प्रस्ताव समेत गोवा सरकारसँग राखेको छ ।
धार्मिक, सांस्कृतिक र समुद्री पर्यटनका फरक विशेषता बोकेका यी दुई गन्तव्यबीच पर्यटन साझेदारी विस्तार गर्दै पर्यटकको दोहोरो आवागमन बढाउने उद्देश्यसहित नेपाली व्यावसायिक प्रतिनिधिमण्डलले गोवा सरकारसमक्ष नयाँ अवधारणा प्रस्तुत गरेको हो ।
भारतको गोवामा आयोजित भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६ मा सहभागी हुन पुगेको नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तसँग भेटवार्ता गर्दै लुम्बिनी–गोवा पर्यटन सर्किट विकास, भैरहवा–गोवा सीधा हवाई सम्पर्क तथा पर्यटन र सेवामूलक उद्योगमा संयुक्त लगानीको प्रस्ताव राखेको छ ।
भेटका क्रममा मुख्यमन्त्री सावन्तले नेपाल र गोवाबीच पर्यटन तथा व्यावसायिक साझेदारीका सम्भावनाप्रति सकारात्मक धारणा राख्दै यस प्रकारका कार्यक्रमलाई अगाडि बढाउन सहकार्य गर्न सकिने बताएका छन् । नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई पर्यटन र व्यापारमार्फत थप विस्तार गर्न सकिने विषयमा छलफल भएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार नेपाली प्रतिनिधिमण्डलले बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय महत्त्व र गोवाको स्थापित पर्यटकीय पहिचानलाई जोडेर दुवै गन्तव्य लाभान्वित हुने कार्यक्रम बनाउनुपर्ने आवश्यकता औल्याएको थियो । त्यसका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई उपयोग गर्दै हवाई सम्पर्क विस्तार, संयुक्त पर्यटन प्रवर्द्धन, होटल तथा आतिथ्य क्षेत्रमा सहकार्य र निजी क्षेत्रबीच व्यावसायिक साझेदारी बढाउन प्रस्ताव गरिएको हो ।
गोवा समुद्री तट, मनोरञ्जन, सम्मेलन तथा बिदा मनाउने पर्यटनका लागि प्रसिद्ध छ भने लुम्बिनी बौद्ध धर्मावलम्बी, शान्तिप्रेमी र सांस्कृतिक पर्यटकको प्रमुख आस्थाकेन्द्र हो । यी दुई फरक विशेषताका गन्तव्यलाई एउटै भ्रमण प्याकेजमा समेट्न सके पर्यटकको बसाइ अवधि बढाउने, नयाँ बजार विस्तार गर्ने र पर्यटनबाट स्थानीय अर्थतन्त्रमा थप लाभ पुर्याउने सम्भावना देखिएको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको मात्र नभई विश्वकै महत्त्वपूर्ण आध्यात्मिक तथा सांस्कृतिक सम्पदा हो । सन् १९९७ मा युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पुरातात्त्विक अवशेष, पवित्र पुष्करिणी र विभिन्न मुलुकले निर्माण गरेका बौद्ध विहार रहेका छन् । लुम्बिनीको यही ऐतिहासिक तथा आध्यात्मिक विशिष्टताले यसलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाएको छ ।
लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०२५ मा लुम्बिनीमा कुल ११ लाख १४ हजार २६६ पर्यटक पुगेका थिए । तीमध्ये सात लाख दुई हजार ९१० नेपाली, दुई लाख ७० हजार ३८७ भारतीय र एक लाख ४० हजार ९६९ अन्य मुलुकका पर्यटक थिए । सन् २०२४ को तुलनामा कुल आगन्तुक संख्या करिब ४.९५ प्रतिशत घटे पनि भारतबाहेकका विदेशी पर्यटकको आगमन २६.५४ प्रतिशतले बढेको थियो ।
लुम्बिनी विकास कोषको सन् २०२५ को तथ्यांकले लुम्बिनीप्रतिको अन्तर्राष्ट्रिय आकर्षण कायम रहेको देखाउँछ । विशेषगरी श्रीलंका, थाइल्यान्ड, म्यानमार, चीन र भियतनामजस्ता मुलुकबाट बौद्ध तीर्थयात्री आउने गरेका छन् । सन् २०२५ मा मात्रै श्रीलंकाबाट ३२ हजार २८७, थाइल्यान्डबाट १९ हजार ८९१ र म्यानमारबाट १८ हजार ५२८ पर्यटक लुम्बिनी पुगेका थिए ।
लुम्बिनीको पर्यटन सम्भावना मायादेवी मन्दिर परिसरमा मात्रै सीमित छैन । प्राचीन शाक्य गणराज्यसँग सम्बन्धित तिलौराकोट–कपिलवस्तु, रामग्राम स्तूप र आसपासका बौद्ध पुरातात्त्विक क्षेत्रलाई समेटेर विस्तारित बौद्ध पर्यटन सर्किट विकास गर्न सकिन्छ । यी सम्पदाको ऐतिहासिक सम्बन्ध र अन्तर्राष्ट्रिय महत्त्वलाई युनेस्कोले समेत उल्लेख गरेको छ ।
लुम्बिनीको यही धार्मिक तथा सांस्कृतिक महत्त्वलाई गोवाको समुद्री पर्यटनसँग जोड्न सकिए नेपाल आउने विदेशी पर्यटकका लागि नयाँ बहुगन्तव्य भ्रमण प्याकेज तयार गर्न सकिने लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई बताउंछन् । यसले लुम्बिनीका होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल एजेन्सी, स्थानीय उत्पादन र पर्यटनसम्बद्ध साना उद्यममा थप आर्थिक गतिविधि सिर्जना गर्ने अपेक्षा गर्न सकिने उनले औंल्याए ।
गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तसँगको भेटवार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले लुम्बिनी–गोवा पर्यटन सर्किटसँगै पोखरा–गोवा पर्यटन साझेदारीको सम्भावनाबारे समेत प्रस्ताव राखेको थियो । नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, तालतलैया तथा साहसिक पर्यटनलाई गोवाको समुद्री पर्यटनसँग जोडेर संयुक्त पर्यटन प्याकेज विकास गर्न सकिने विषयमा जोड दिइएको थियो । साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोगिता बढाउने उद्देश्यले पोखरा–गोवा सीधा हवाई सम्पर्क विस्तारको सम्भावनाबारे समेत ध्यानाकर्षण गराइएको थियो। यसबाट नेपाल र भारतबीच पर्यटक आवागमन बढाउनुका साथै दुवै क्षेत्रको पर्यटन तथा व्यावसायिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाली प्रतिनिधिमण्डलले गोवाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा हवाई सेवा सञ्चालनको प्रस्ताव समेत गोवा सरकारसँग राखेको छ । चेम्बरका लुम्बिनी प्रदेश अध्यक्ष पोखरेलका अनुसार पर्यटनसँगै व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, लगानी प्रवर्द्धन र सेवामूलक उद्योगमा साझेदारीका कार्यक्रम बनाउन आग्रह गरिएको थियो ।
सीधा उडान सञ्चालनको प्रस्ताव कार्यान्वयन भए गोवामा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई लुम्बिनी भ्रमण गराउन तथा नेपालबाट गोवा जाने पर्यटकलाई सहज यात्रा सुविधा उपलब्ध गराउन सकिनेछ । तर त्यसका लागि सम्भावित यात्रु संख्या, व्यावसायिक माग, उडान अनुमति, विमान कम्पनीको रुचि र सञ्चालन खर्चको अध्ययन आवश्यक हुने लुम्बिनी चेम्बर अफ कमर्सका सचिव प्रदीप आचार्यले बताए ।
पर्यटन सर्किटको अवधारणालाई व्यवहारमा उतार्न नेपाल र भारतका ट्राभल तथा टुर अपरेटरबीच संयुक्त प्याकेज निर्माण, डिजिटल प्रचारप्रसार, पर्यटन मेलामा सहकार्य र होटल व्यवसायीबीच साझेदारी आवश्यक देखिन्छ। धार्मिक पर्यटन, योग, ध्यान, स्वास्थ्य पर्यटन र सम्मेलन पर्यटनलाई समेत यसमा समावेश गर्न सकिने सम्भावना रहेको आचार्यले बताए ।
गोवाको डा. श्यामाप्रसाद मुखर्जी इन्डोर स्टेडियममा अक्टोबर २९ देखि ३१ सम्म आयोजित तीनदिने भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६ मा विश्वका विभिन्न मुलुकका उद्योगी, लगानीकर्ता, व्यावसायिक नेतृत्व र नीति निर्माण तहका प्रतिनिधिहरू सहभागी भएका छन्। आयोजकले ५० भन्दा बढी मुलुक, सयौँ अन्तर्राष्ट्रिय प्रतिनिधि र हजारौँ व्यावसायिक सहभागीलाई समेट्ने लक्ष्य सार्वजनिक गरेको थियो ।
नेपालबाट चेम्बर लुम्बिनी अध्यक्ष पोखरेलको नेतृत्वमा विभिन्न व्यावसायिक क्षेत्रका १९ जनाको प्रतिनिधिमण्डल सहभागी भएको चेम्बरले जनाएको छ । सम्मेलनका क्रममा नेपाली टोलीले अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार, पर्यटन प्रवर्द्धन तथा लगानीका सम्भावनाबारे विभिन्न पक्षसँग छलफल गरेको थियो ।
मुख्यमन्त्री सावन्तले गोवालाई लगानीमैत्री र व्यावसायिक गतिविधिका लागि सहज गन्तव्य बनाउने राज्य सरकारको प्राथमिकता रहेको बताएका थिए । वातावरणमैत्री उद्योग, नवीन प्रविधि, अनुसन्धान तथा उद्यमशीलताको विकासलाई जोड दिँदै उनले अन्तर्राष्ट्रिय लगानी र व्यावसायिक सहकार्य विस्तार गर्ने नीति अघि सारिएको जानकारी दिएका थिए ।
गोवा सरकारले २० हजार करोड भारतीय रुपैयाँ बराबरको लगानी आकर्षित गर्ने र ३० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । यो लक्ष्यलाई राज्यको औद्योगिक नीति र व्यावसायिक वातावरण सुधारसँग जोडिएको छ ।
गोवाको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०२४–२५ मा राज्यको कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा करिब एक लाख १२ हजार ५२५ करोड भारतीय रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०२५–२६ का लागि एक लाख ३८ हजार ६२५ करोड रुपैयाँको अनुमान गरिएको थियो भने २०२६–२७ को बजेटमा एक लाख ३१ हजार करोड रुपैयाँको प्रक्षेपण गरिएको छ । यी तथ्यांकले पर्यटनसँगै उत्पादन, सेवा र लगानीका क्षेत्रमा गोवाको आर्थिक गतिविधिको महत्त्व देखाउँछन् ।
सम्मेलनका अवसरमा राज्यसभा सदस्य सदानन्द शेट तानावडे, भारतका पूर्वकेन्द्रीय मन्त्री सुरेश प्रभु, भाइब्रेन्ट गोवाका अध्यक्ष राजकुमार कामतलगायत विभिन्न क्षेत्रका व्यावसायिक व्यक्तित्वहरूको उपस्थिति रहेको चेम्बरका लुम्बिनी प्रदेश सचिव आचार्यले जानकारी दिए ।
लुम्बिनी–गोवा पर्यटन सर्किटको प्रस्ताव दुई फरक पर्यटकीय गन्तव्यबीच नयाँ सम्बन्ध स्थापित गर्ने सम्भावनायुक्त पहल भए पनि दुबै ठाउंको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आचार्य बताउँछन् ।
विशेषगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटकमैत्री पूर्वाधार, सहज यातायात, गुणस्तरीय होटल सेवा र पर्यटन व्यवसायमा निजी क्षेत्रको लगानी आकर्षित गर्नु लुम्बिनीका प्रमुख आवश्यकता भएका उनले बताए ।
लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लामो समय बस्ने वातावरण निर्माण गर्न सकिए मात्रै पर्यटनको प्रत्यक्ष आर्थिक लाभ स्थानीय समुदायसम्म पुर्याउन सकिनेछ। त्यसका लागि बौद्ध सम्पदाको संरक्षणसँगै कपिलवस्तु, नवलपरासी र रुपन्देहीका ऐतिहासिक तथा सांस्कृतिक गन्तव्यलाई समेट्ने एकीकृत पर्यटन योजना आवश्यक रहेकाले तीनै तहका सरकारले गोवा सरकारसंग सम्बन्ध विस्तार गर्नुपर्ने चेम्बरको आग्रह छ ।
गोवाको अन्तर्राष्ट्रिय पर्यटन बजारसँग लुम्बिनीलाई जोड्दा बौद्ध तीर्थयात्रामा रुचि राख्ने पर्यटक र समुद्री पर्यटनमा रुचि राख्ने यात्रुका लागि नयाँ भ्रमण विकल्प उपलब्ध हुन सक्ने चेम्बर लुम्बिनीका अध्यक्ष पोखरेलको विश्वास छ ।
‘लुम्बिनी–गोवा पर्यटन सर्किटको प्रस्तावले नेपाल र भारतबीचको परम्परागत पर्यटन सम्बन्धलाई नयाँ व्यावसायिक आयाम दिने अपेक्षा गरिएको छ’, अध्यक्ष पोखरेलले भने, ‘मुख्यमन्त्रीसँगको सकारात्मक छलफललाई औपचारिक सहमति, कार्ययोजना र व्यावसायिक साझेदारीमा रूपान्तरण गर्न नेपालका तीनै तहका सरकार र निजी क्षेत्रले गोवा सरकारसंग सम्बन्ध विस्तार गर्नुपर्ने हुन्छ ।’
विश्व शान्ति सन्देश बोकेको लुम्बिनी र समुद्री पर्यटनको आकर्षण बोकेको गोवाबीच पर्यटन सहकार्य भए यसले दुई गन्तव्यलाई मात्र होइन, नेपाल–भारत पर्यटन साझेदारीलाई समेत नयाँ दिशा दिन सक्ने अध्यक्ष पोखरेलले बताए ।
प्रतिक्रिया 4