+
+

‘पार्टी बस’मा रमाउनेहरु बढ्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १६:५९

११ पुस, काठमाडौं । हामीमध्ये धेरैलाई बसमा यात्रा गरिरहँदा त्यहाँ पनि डिस्को-बारमा जस्तै नाच्न मन लाग्न सक्छ । बसभित्रै डिस्को र बारको सुविधा भए कस्तो हुन्थ्यो होला भन्ने कल्पना गर्छौं ।

तर यस्तो कल्पना नेपालमै पनि यथार्थमा परिणत गरिसकेको छ, पार्टी बस नेपालले । केही समयदेखि काठमाडौंको चक्रपथ र भित्री शहरी सडकमा यस्तो बस चल्न थालिसकेको छ ।

‘भिजिट नेपाल २०२०’लाई लक्षित गर्दै रेस नेपाल प्रालिले नेपालमै विदेशी शैलीको पार्टी बस सञ्चालनमा ल्याएको थियो । तर कोरोना भाइरसको महामारीका कारण उक्त बस सञ्चालनमा बाधा पुग्यो । यसले शुरुमै महामारीको सामना गर्नुपर्‍यो । कोरोना भाइरसका विभिन्न चरणमा पार्टी बस शुरु हुँदै पुनः लकडाउनका कारण बन्द हुन पुगेको थियो । पछिल्लो समय भने पार्टी बसको माग बजारमा ह्वात्तै बढेको सञ्चालक बताउँछन् । कोरोना महामारीको जोखिम कम हुन थालेसँगै अहिले विभिन्न पार्टीका लागि यस बसको प्रयोग हुन थालेको सञ्चालक बताउँछन् ।

पार्टी नेपाल बसका सर्भिस इन्चार्ज विनोद खड्का पछिल्लो समय यसले राम्रो बजार लिन थालेको बताउँछन् । ‘शुरुमा कोरोना महामारीले गर्दा खासै सञ्चालन हुन सकेन । तर पछिल्लो समय पार्टी बसको माग बढ्न थालेको छ,’ उनी भन्छन् ।

रेस नेपालले युट्युबमा पार्टी नेपाल बसको ‘इन्ट्रोडक्सन’ भिडियो अपलोड गरेको छ । जसमा यसलाई दक्षिण एसियामा नै पहिलो पटक सञ्चालनमा आएको पार्टी बस रहेको दाबी गरिएको छ । पार्टी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत मनोरञ्जन दिने योजना बनाएको खड्का बताउँछन् । बसभित्रै डिजे, बार, धुम्रपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कण्डिसन, शौचालय लगायतको व्यवस्था गरिएको छ ।

विभिन्न विशेषता भएकाले अहिले युवापुस्ता र पार्टी गर्न चाहनेहरुको लागि पार्टी बस नेपाल नयाँ गन्तव्य बन्न पुगेको छ । पार्टी गर्नका लागि कुनै रेस्टुराँ वा विशेष स्थान धाउनुपर्छ भन्ने मान्यतालाई पार्टी बस नेपालले चुनौती दिएको यसका सञ्चालक बताउँछन् ।

दैनिक बेलुका ८ बजेपछि काठमाडौंको चक्रपथ र भित्री भागमा हप अन राइड अर्थात् लोकल मानिस पनि रमाइलो गर्नका लागि यो बस चढ्ने र पार्टी सकिएपछि झर्न मिल्ने व्यवस्था गरेको पार्टी बस नेपालले जनाएको छ । यसले गर्दा जोसुकै पनि यसमा आकर्षित हुने अपेक्षा रहेको इन्चार्ज खड्का बताउँछन् ।

प्रतिव्यक्ति एक हजार रुपैयाँ लाग्ने हप अन राइडको लागि रातको ८ बजेपछि पार्टी बसले चोक-चोकमा पुगेर माग अनुसार पिक अप गर्ने र पार्टी सकिएपछि सोही ठाउँमा ल्याएर यात्रुलाई झारिदिन्छ ।

रेस्टुरेन्टहरु निश्चित समयसम्म मात्र खुल्ने भएकाले उनीहरुले समेत आफ्ना ग्राहकलाई पार्टी बसमा चढाएर मनोरञ्जन दिने गरेको खड्का बताउँछन् ।

पार्टी बसको परिकल्पना

डेनमार्क निवासी अशोक शर्माले सन् २०१७ मा पार्टी बस नेपालको परिकल्पना गरेका थिए । पार्टी बस नेपालका प्रबन्धक समेत रहेका शर्माले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न तथा आन्तरिक/बाह्य पर्यटकहरुलाई नयाँ अनुभव दिलाउन सन् २०१७ मा यसको अवधारणा डेनमार्कमै तयार पारेका थिए । त्यसपछि उनले नेपालमा सन् २०२० मा भिजिट नेपाल २०२० लक्षित गरी यो बस शुरु गरेका थिए ।

पार्टी बस नेपालका सर्भिस इन्चार्ज खड्काका अनुसार अब लामो दूरीका लागि प्रयोग गर्न मिल्ने बस समेत आउँदैछ । ‘अबको योजना भनेको लामो दूरीका लागि चल्ने बसहरु ल्याउँदै छौं । यस्तै छुट्टै भ्यान समेत आउनेछ,’ उनले भने । पार्टी नेपालका अहिले दुईवटा बस सञ्चालनमा छन् ।

पार्टी बसमा क-कसको आकर्षण ?

रेस नेपालका अनुसार पार्टी बसमा विशेषगरी कलंकी, ललितपुर, भक्तपुर, बुढानीलकण्ठ क्षेत्रबाट धेरै बुकिङ आउने गरेको छ । यसको माग बढ्दो क्रममा रहनुका साथै आपूmले भनेको ठाउँबाट चढ्न पाउने र पार्टीपछि सोही ठाउँमा झर्न पाइने भएकोले पनि घरबाट समूह बनाएर बाहिर निस्केर बसमा चढेर घरनजिकै झर्नेहरुको संख्या बढ्दो छ ।

पार्टी नेपाल बसमा हालसम्म हेलोइन पार्टी, न्युएयर पार्टी, निवन लाइट थिम पार्टी, बर्थ डे पार्टी, एनिभर्सरी, ब्याचलर पार्टी, भिजा पार्टी, स्टाफ पार्टी आयोजना भएको रेस नेपालले जनाएको छ ।

पछिल्लो समय कलाकार बोलाएर सांगीतिक साँझ पनि आयोजना भएका छन् । उपत्यकामा यसको लोकप्रियता बढ्न थालेपछि पोखरा, भरतपुर, बुटवल लगायतका शहरमा पनि माग बढ्न थालेको सञ्चालक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?