+
+

भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट किन रोकियो ?

अच्युत पुरी अच्युत पुरी
२०७८ पुष ११ गते १७:३५
फाइल तस्वीर

११ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर दोस्रो साता भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने सार्वजनिक गरेको थियो । यस्तो उडानको जिम्मा पाएको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई) का प्राविधिक आएर विमानस्थलमा उडानबारे अध्ययन समेत गरेका थिए । तर, तोकिएको समयमा परीक्षण उडान हुन सकेन । यस्तो उडान हुन नसक्दा भारतको दबावमा रोकिएको सम्मका टिप्पणी हुन थालेका छन् ।

तर, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु भने आयोजनाकै कारण प्राविधिक परीक्षण पर धकेलिएको बताउँछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमा राष्ट्रिय गौरवको आयोजनाहरुलाई नेतृत्व गरिरहेका निर्देशक प्रदीप अधिकारीका अनुसार एरोथाईका प्राविधिकले विमानस्थलमा परीक्षण उडानका लागि आवश्यक निरीक्षण गरी थप गर्नुपर्ने पक्षमा सुझाव दिएर फर्किएका छन् । सोही अनुसार आयोजनाले अहिले काम गरिरहेको छ ।

‘यहाँ दुई वटा ठेक्काको काम भइरहेको छ,’ उनी भन्छन्, ‘भौतिक पूर्वाधारको काम गरिररहेको ‘आइसीबी वान’तर्फबाट समेत केही थप काम गर्नुपर्ने सुझाव आएको छ, त्यो काम पूरा भएपछि मात्र परीक्षण हुन्छ ।’ परीक्षणमा बाह्य समस्या नरहेको भन्दै उनले आयोजनाकै काम जारी रहेका कारण परीक्षण पर धकेलिएको उनले बताए ।

मौसम अर्को कारण

बाक्लो हुस्सुका कारण तराई भेगका विमानस्थल हरेक दिनजसो प्रभावित हुने गरेका छन् । प्राविधिकले सकेसम्म प्रतिकूल मौसममा परीक्षण नगरौं भन्ने सुझाव समेत दिएको उनले बताए । ‘नियमित उडान मै मौसमले प्रभाव पारेको छ,’ उनले भने, ‘यस्तोमा सकेसम्म परीक्षण उडान नगरौं, बरु बाँकी काम पूरा गरौं भन्ने सुझाव आएको छ ।’

आयोजनामा उपकरण जडानसहित प्राविधिक कामको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई) ले पाएको छ । क्यालिब्रेसन फ्लाइटको जिम्मा पनि उसकै हो । कोरोना महामारीका कारण प्राविधिक समयमै आउन नसकेका काम अहिले भइरहेको भन्दै प्राधिकरणले परीक्षणमा अन्य पक्ष जिम्मेवार नरहेको समेत जनाएको छ । मंसिर पहिलो साता आधा दर्जन संख्यामा आएका प्राविधिकले विमानस्थलमा प्राविधिक जाँच गरेका थिए ।

निर्माण शुरु भएको ७ वर्षपछि राष्ट्रिय गौरवको आयोजनामा परीक्षण उडानको चरणमा पुगेको छ । तर, प्राधिकरणले सार्वजनिक गरेको समयमा परीक्षण नभएपछि भने पुनः प्रश्न उठ्न थालेको हो । क्यालिब्रेसन उडानमार्फत विमानस्थलमा जडान भएका सञ्चारदेखि उडान–अवतरणका लागि आवश्यक अन्य उपकरणहरुले काम गरे–नगरेको परीक्षण हुन्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईसीबी वानतर्फ भौतिक संरचना निर्माण गरिएको छ । यो चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरेको हो । आईसीबी टू तर्फको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरेको हो । क्यालिब्रेसन उडानका दौरान, उपकरणजडित जहाजमात्र नभई विज्ञ जनशक्ति समेत साथमा हुनुपर्छ । यसको व्यवस्थापन एरो थाई स्वयमःले जोहो गर्ने प्राधिकरणको भनाइ छ ।

७ वर्षपछि आयोजना पूरा हुने क्रममा

भैरहवा विमानस्थलको निर्माणको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । विमानस्थलको प्रारम्भिक लक्ष्य अनुसार डिसेम्बर २०१७ मै संचालनमा आइसक्नु पर्ने थियो । तर, यो मितिभन्दा थप चार वर्ष अवधि लम्बिएको हो । विमानस्थलको भौतिक संरचना निर्माणको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, यस विमानस्थलको मुआब्जा वितरणमा भने ३० अर्ब भन्दा बढी रकम खर्च भइसकेको छ । यो विमानस्थल निर्माणमा एसियाली विकास बैंकले सहूलीयतपूर्ण ऋण सहयोग गरिरहेको छ ।

भैरहवामा ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको धावनमार्ग निर्माण भएको छ । सोहीकारण काठमाडौंमा उडान–अवतरण हुने सबै क्षमताका विमानको उडान–अवतरण यहाँबाट पनि सम्भव हुनेछ । यहाँ एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुई वटा साना जहाज पार्क गर्न मिल्ने अन्तरराष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ ।

आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहेको छ । टर्मिनल भवन तथा आवश्यक टावरहरु निर्माणको काम सकिएको छ । अग्नी निवारण तथा जीवनोद्धार सेवाका लागि आधुनिक दमकल र एम्बुलेन्स सेवा खरीदको काम समेत पूरा भएको प्राधिकरणले जनाएको छ ।

परीक्षण उडानपछि के हुन्छ ?

फ्लाइट क्यालिब्रेसनपछि सञ्चार, कन्ट्रोल टावरसहित विमानस्थलमा जडित उडान–उपकरणहरुले काम गरे–नगरेको पत्ता लाग्नेछ । यस्तो फ्लाइटमा विज्ञहरु सहभागी हुन्छन् । परीक्षण उडान गर्न विशेष जहाज चाहिन्छ । कम्यूनिकेशन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि भने जहाज उडान/अवतरणको बाटो खुल्नेछ । त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने हुन्छ ।

प्राधिकरणका अनुसार भैरहवा विमानस्थलमा फ्लाइट क्यालिब्रेसन सकिएपछिको तीन महिनामा विमानस्थल व्यवसायिक उडानका लागि योग्य बन्नेछ । प्राधिकरणका अनुसार त्यसपछि प्राधिकरण आफैंले परीक्षण उडान गरी अन्तर्राष्ट्रिय उडानका लागि यो विमानस्थल खुला गर्नेछ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?