+
+
माओवादी महाधिवेशन :

कुन्तीलाई ताली, शंकर बोल्दा सन्नाटा

राप्रपाकी महामन्त्री कुन्ती शाहीले राष्ट्रवादको कुरा गर्दा जुरुक्कै उचालिएका माओवादी प्रतिनिधि एमाले महासचिव शंकर पोखरेलले नेकपा टुक्रिएको चिन्ता गर्दा भावशून्य भए । तर उनीहरुले बुझ्नुपर्थ्यो नेकपा विभाजन माओवादीको पनि चिन्ताको विषय हो, अनि राप्रपा र कम्युनिष्टहरुको राष्ट्रवाद फरक–फरक धातुले बनेको छ ।

बिनु सुवेदी बिनु सुवेदी
२०७८ पुष ११ गते २१:४१
नेकपा एमालेका महासचिव शंकर पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्तीकुमारी शाही ।

समाचार टिप्पणी

११ पुस, काठमाडौं । पार्टी चोइटिएर तीनतिर हुँदा पनि नेकपा एमाले अहिले संसदको सबैभन्दा ठूलो दल हो । आफ्नै पार्टीभित्रको अन्तरकलह सुलह गर्न नसक्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको तथ्य कसैका सामू छिपेको छैन ।

पार्टी स्थापनाको ७२ वर्षमा पहिलोपटक झण्डै दुई तिहाई मतसहित संसदको ठूलो दल बन्दा नेकपा मुलुकभित्र मात्रै होइन, दक्षिण एसियाका बृहत् कम्युनिष्ट पार्टी बनेको थियो । तर विभाजित भयो, बामदेव गौतमलाई गन्ने हो भने वितेको एक बर्षमा नेकपा चार टुक्रा भयो, एमाले तीन टुक्रा ।

पार्टी विभाजित हुनुको दोष तत्कालीन नेकपाको जहाज चलाउने दुई पाइलट केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई दिने गर्छन् । घटीबढी होला, तर पार्टी विभाजन र मुलुक अस्थिर हुनुमा कोही पनि दोषरहित छैनन् । यो तत्कालीन नेकपा र अहिलेको एमाले तथा माओवादी केन्द्रका नेताहरुले नबुझेको होइन । तर एमाले कार्यकर्ताका कुरा नगरौं, माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा उद्घाटन शत्रको माहौल हेरौं ।

यदि एमालेको कुनै नेताले उनीविरुद्ध उम्मेदवारी दिएको भए निर्वाचित महाचिव हुन्थे, तर त्यसो भएन र शंकर पोखरेल निर्विरोध एमालेको महासचिव चुनिए । ओलीको उत्तराधिकारीका रुपमा उदाएका महासचिव पोखरेलले ओलीकै बोली बोल्छन् भन्ने कम्तीमा महाधिवेशन प्रतिनिधि चुनिएर काठमाडौं भित्रिएका माओवादी केन्द्रका कार्यकर्तालाई थाहा नहुने कुरै भएन ।

उसो त उनीहरु जिल्लाबाट बस चढ्दा प्रथम राष्ट्रिय सम्मेलनको प्रतिनिधि थिए, काठमाडौंमा ओर्लिदा महाधिवेशनका प्रतिनिधि भए । जे भए पनि माओवादीका १६ सय बढी प्रतिनिधि न्यूनतम राजनीतिक चेतनाविहीन भने होइनन् । तर इगोको राजनीतिले कहिलेकाहीँ असुहाउँदो भूमिका खेल्दोरहेछ, माओवादीको जुन महाधिवेशनको उद्घाटन सत्रमा देखियो ।

राप्रपाको भर्खरै सम्पन्न महाधिवेशनमा चुनावी प्रतिस्पर्धा गरेरै महामन्त्री चुनिएकी हुन् कुन्तीकुमारी शाही । माओवादी केन्द्रको महाधिवेशनमा राप्रपाका तर्फबाट शाही र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल अतिथिका रुपमा देखा पर्दा कम्तीमा ठूला पार्टीका मञ्चहरुले महिला वक्ता पाउन थालेको विषय गर्व गर्नलायक हो । तर राप्रपाले राष्ट्रवादको कुरा गर्दा माओवादीका कार्यकर्ताले मच्चीमच्ची ताली बजाउनु चाहिँ कम्युनिष्ट आन्दोलनको अधोपतन हो ।

राप्रपाले शिरमा राजा राखेर जनतालाई प्रजा बनाएर जेजे उपलब्धी प्राप्त हुन्छ, त्यसलाई राष्ट्रवादले सिंगार्छ । तर कम्युनिष्टहरु कम्तीमा राजा बगेरको राष्ट्रमा विश्वास गर्छन्, जनताको शासनलाई स्वीकार्छन् । त्यसैले कुन्ती शाहीले राष्ट्रवादका चर्का कुरा गर्दा महाधिवेशनको उद्घाटन सत्र चलिरहेको प्रज्ञा भवन के कुरा बुझेर गुल्जार भएको हो, बुझिनसक्नु थियो ।

उद्घाटनशत्रमा शाहीले राष्ट्रियताको एजेण्डामा राप्रपा नेपाल र माओवादी केन्द्र एकै ठाउँमा रहेको बताइन् । माओवादी कार्यकर्ताले सिट्ठी फुकीफुकी ताली बजाए । शाही उत्साहित हुनु स्वाभाविक हो, तर कसले कस्ता कुरालाई राष्ट्रवादको कसीमा राखेको छ ? कम्युनिष्ट हुन् र राजनीतिको आधार बुझेका छन् भने माओवादी केन्द्रका प्रतिनिधिहरुले जरुर समीक्षा गर्लान् ।

तर एमाले महासचिव शंकर पोखरेल आइतबार माओवादी केन्द्रको महाधिवेशनमा जसरी प्रस्तुत भए, त्यति सन्तुलित र संयमित सायदै अरु वक्ता थिए । चर्काे दुश्मनी रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि उनले सम्मानसहित सम्बोधन गरे । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेको खिसिट्युरीको जवाफ यो मञ्चबाट दिने होइन भनेर पन्छिए । कम्युनिष्ट एकीकरणको कुरा गरे, क्रान्ति गरेर प्राप्त गरिएका उपलब्धी किन बचाउन सकिएन भनेर समीक्षा गरौं भने र भविष्यको चिन्ता गरे ।

हो मुलुकको अहिलेको राजनीतिक दुर्गति निम्तिनुमा एमाले अध्यक्ष केपी शर्मा ओली कारक होलान्, ओलीको बोलीमा हो मा हो मिलाउने पोखरेलको भागमा पनि अलिकति अपजस पर्ला नै । तर राजालाई शिरमाथि राखेर पश्चगामी राजनीति गर्ने राप्रपा माओवादीसित नजिक होला कि राजनीतिक गोत्र मिल्ने एमाले ? त्यसमाथि आफैंले बोलाएका पाहुनाले गरेको जायज चिन्तालाई पनि माओवादी केन्द्रको हलले किन सुनेको नसुन्यै गरेको होला ? शंकर पोखरेललाई सिंगो हलले बेवास्ता गर्नुमा अहिलेको राजनीतिक परिस्थितिमात्रै कारक होला कि नेपालका कम्युनिष्टहरुको खस्किँदो चेतनाको स्तर पनि !

तुलनात्मक रुपमा माओवादी केन्द्रले एमालेको महाधिवेशनलाई जति भाउ दिएको थियो, एमालेले त्यो भन्दा धेरै दियो । एमालेको महाधिवेशनमा स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई पठाएको माओवादी एकदिन अघि एमाले अध्यक्ष ओलीलाई फोन गरेकै भरमा पार्टी महासचिवलाई अतिथिका रुपमा पाउनु माओवादी सभाको गरिमा बढ्नु हो । त्यसमाथि निम्त्याइएका सबै पाहुना अन्तिमसम्म बसेर भाषण सुन्नु र आफ्ना कुरा राख्नु थप शोभनीय थियो ।

प्रगतिशील राजनीतिबाट अलि पर पुगेको एमाले नेतृत्वको पहिचान पछिल्लो समय अरु दललाई चर्को गाली गर्नु जस्तो बनेको छ । तर महासचिव पोखरेल आइतबार सन्तुलित सुनिए । नेकपा विभाजित हुँदाको पश्चताप पोखे ।

‘नेकपालाई रक्षा गर्न सकेनौं । किन गर्न सकेनौं ? कसैले कसैलाई दोष दिएर उम्कन सकिन्छ ? किनकी हामी हाम्रा मान्यताहरुमा, लक्ष्यहरुमा आफूलाई केन्द्रित गर्न सकेका छैनौं,’ पोखरेलले भाषणमा आवाजको भोल्युम अलिकति बढाएर भने, ‘हामी कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिएका कारण महान् उद्देश्यहरुमा पछाडि परेका छौं ।’ तर दर्शकदीर्घा भावशून्य भयो, प्रतिक्रियाविहीन भयो ।

पोखरेल बोल्न रोकिएनन् । उनले थप भने, ‘नेकपा गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो, तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’ त्यतिखेर पनि माओवादीका महाधिवेशन प्रतिनिधि भरिएको हलले कुनै प्रतिक्रिया दिएन ।

के नेकपा जोगाउन नसकेकोमा पोखरेललाई जस्तै उनीहरुलाई पनि पछुतो छैन ? कि बदलाको राजनीतिमा माओवादी केन्द्रको मञ्चले एमालेका नेतालाई अस्वीकार गरेको हो ? यदि हो भने पनि परिवर्तनको आन्दोलनमा सँगसँगै हिँडेका दलहरु भन्दा परिवर्तनलाई अस्वीकार गर्नेहरु आफ्ना निकटस्थ हुनै सक्दैनन् भनेर कम्युनिष्ट पार्टीका कार्यकर्ताले बुझ्नुपर्ने हो ।

हुन त सत्ता राजनीतिमा विचारभन्दा गणितको हिसाबकिताब गर्न अभ्यस्त भइसकेको छ माओवादी केन्द्र । तैपनि आफ्नै निम्तोमा आएका पाहुनाले गरेको कुरालाई पुरै बेवास्ता गर्नु न दलहरुको संस्कार हो, न राजनीतिक संस्कृति ।

राप्रपाकी कुन्ती शाहीदेखि मालेका सीपी मैनालीसम्मले माओवादी केन्द्रका नेताहरुको ताली पाउँदा एमाले महासचिव शंकर पोखरेलको भाषणका बेला सन्नाटा छाउनु कम्युनिष्टहरुमा देखिएको गम्भीर विचलनको लक्षण हो, फरक मतलाई अस्वीकृत गर्ने परम्पराको निरन्तरता हो । यस्तो व्यवहार नेता कार्यकर्ता संकुचित हुँदा मात्रै प्रस्फुटन हुन्छ ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?