+
+
माओवादी केन्द्रको महाधिवेशन :

पूर्व सहकर्मीहरुको जमघट

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ पुष ११ गते २३:५८

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले आज आइतबारदेखि तीन दिनसम्म राष्ट्रिय सम्मेलन गर्ने भनेको थियो । तर त्यही सम्मेलनलाई एक्कासी आठौं महाधिवेशनमा रुपान्तरण गरेपछि उद्घाटन सत्रको माहाेल फेरियो, रौनक बदलियो ।

राष्ट्रिय सम्मेलन मात्रै हुन्थ्यो भने माओवादी केन्द्रका नेताहरुले पार्टीभित्रका तीता–मीठा कुरा गरेरै उद्घाटन सत्र सक्थे । महाधिवेशन भनेर अन्य राजनीतिक दलका नेताहरुलाई निम्त्याइएपछि प्रज्ञा भवन, कमलादी राष्ट्रिय राजनीतिबारे विमर्श गर्ने थलो बन्यो । माओवादीले छोड्दै गएका मुद्दादेखि संविधान संशोधन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदनसम्मका मुद्दामा नेताहरुले दहलफसल गरे, आ–आफ्ना तर्क र टिप्पणी राखे ।

प्रमुख अतिथि थिए–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, राप्रपाकी महामन्त्री कुन्ती शाही र माले महासचिव सीपी मैनाली पनि आमन्त्रित भए ।

जसमा पूर्व सहकर्मी धेरै थिए । पूर्वसहकर्मीहरुले माओवादी केन्द्रलाई महाधिवेशनको शुभकामना दिंदै गर्दा विगतको सहकार्य स्मरण मात्र गरेनन्, पुनः सहकार्यको प्रस्ताव राखे ।

माओवादी– एमाले

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर उद्घाटन सत्रको निम्तो दिएका थिए । तर पूर्व निर्धारित कार्यक्रमका लागि झापा पुगेका ओलीले आफू आउन नसक्ने भन्दै महासचिव शंकर पोखरेललाई पठाएका थिए ।

एमाले, माओवादी केन्द्रको पछिल्लो समयमा छुट्टिएको सहकर्मी हो । शुभकामना दिंदै गर्दा पोखरेलले एमाले र माओवादी केन्द्रसँगको एकता टुटेको स्मरण गरे । ‘नेकपा गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो, तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ’, महासचिव पोखरेलले भने ।

माओवादी केन्द्र र नेकपा एमाले २०७४ सालको प्रदेश र संघको निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर गएको थियो । वाम गठबन्धनलाई जनताले झण्डै दुई तिहाइ बहुमत दिए । निर्वाचनपछि माओवादी केन्द्र र एमालेबीच २०७५ जेठ ३ गते एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । तर ५ पुस २०७७ को संसद विघटनसँग राजनीतिक रुपमा विभाजित नेकपा २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलासँगै औपचारिक रुपमा भंग भएको थियो ।

एमाले महासचिव पोखरेलको बोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लोली मिलाए । अध्यक्ष प्रचण्डले थपे, ‘(महासचिव पोखरेलको) मन परेको भित्री कुरा के हो भने हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं । फेरि एक पटक आत्मसमीक्षा गरौं, के कारणले हामी दुई ठाउँमा हुन पुग्यौं ।’

नेकपा विवादमा प्रचण्डसँगै रहेका, तर सर्वोच्चको फैसलासँगै एमालेमा फर्किएर हाल आफ्नै अध्यक्षतामा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपालले पनि विगतको सहकार्य सम्झिए । सबैले विधि विधानको पालना गर्नुपर्नेमा त्यसो हुन नसकेकाले नेकपा एकता भंग भएको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घुमाउरो शैलीमा आरोपित गरे । फेरि पनि कम्युनिष्ट एकतामा जोड दिएका उनले भने, ‘व्यक्तिको तानाशाहलाई स्वीकार्न सकिन्न ।’

सीपी गजुरेलका शर्त

माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी पूर्वमाओवादी नेताहरुले विगत सम्झिए । ‘हामी कुनै समयमा नेकपा माओवादी हुँदाखेरि हामी वर्षौंसम्म सँगै बसेको अनुभूति मलाई यहाँ भइराखेको छ । यहाँ सहभागी भइरहँदा मलाई ती पुराना दिनहरु सम्झना भइरहेको छ’ नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले अभिव्यक्ति शुरु गर्दै गर्दा हलमा गडगडाहड ताली बज्यो ।

पूर्वमाओवादीहरु एकजुट हुनुपर्छ भन्ने प्रचण्डको सार्वजनिक अभिव्यक्तिहरु स्मरण गर्दै नेता गजुरेलले त्यसलाई आफूहरुले सकारात्मक अर्थमा बुझ्ने गरेको बताए । साथसाथै जारी ‘महाधिवेशनले पूर्वमाओवादीहरुको एकताको ढोका खोलोस्’ भन्ने शुभकामना दिए । तर, त्यसका लागि नेता गजुरेलका शर्तहरु छन् ।

‘साँच्चै पूर्वमाओवादीहरु एकजुट हुने हो भने यसका लागि केही आधार तयार पारौं’ भन्दै गजुरेलले शर्त तेर्साए—

पहिलो– जनयुद्ध शुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकमा हामीले जे प्रतिबद्धता जाहेर गरेका थियौं, त्यसलाई पुनर्स्थापित गर्नुपर्छ ।

दोस्रो– हामीले जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, त्यो लक्ष्य अहिले पनि अधुरो र अपुरो छ । ‘नेपाललाई जनगणतन्त्र बनाउन अगाडि बढौं, त्यो कार्यक्रम पारित गरौं, म अनुरोध गर्न चाहन्छु’, गजुरेलले भने ।

तेस्रो– राष्ट्रिय स्वाधीनताका विषयमा केही महत्वपूर्ण निर्णय लिनुस् । ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न तपाईंहरुले जोड लगाउनुहोला । हामीले गुमाएका भूभागहरु कालापानी लिपुलेक, लिम्पियाधुरा हासिल गर्ने प्रतिबद्धता होस्’ नेता गजुरेलले भने, ‘यी सबै भयो भने पार्टी एकताका लागि बहस गर्ने, छलफल गर्ने ढोका खुल्छ । यो महाधिवेशनले त्यो ढोका खोलोस् ।’ एकताको ढोका खोल्न गजुरेलले गरेको आग्रहमा सहभागीहरुले ताजी बजाएर साथ दिए ।

१० वर्षे जनयुद्ध र शान्ति प्रक्रियामा आएपछि पनि प्रचण्डसँगै रहेका गजुरेल  मोहन वैद्यले ४ असार २०६९ नयाँ पार्टी गठन गर्दा छुट्टिएका थिए । वैद्यसँगै गएका विप्लवले अर्को पार्टी खोले । रामबहादुर थापा बादलहरु माओवादीमा फर्किएर नेकपा बने, तर नेकपा खारेज हुँदा उनी नेतृत्वको एउटा समूह एमालेमै बस्यो ।

कुनै समय माओवादी छाडेर छुट्टै पार्टी बनाएका मात्रिका यादव भने अहिले माओवादी केन्द्रमै छन् । महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गरेका यादवले पार्टी छोडेर गएको र फर्किएको स्मरण गर्दै पूर्वमाओवादीहरुको एकतामा जोड दिए ।

‘प्रचण्डपथ’ छाडेपछि क्रान्ति रनभुल्लमा परेको र त्यसले पार्टी फुटलाई सघाएको उनको टिप्पणी छ । प्रचण्डपथ त्यसलाई विकास गर्नुको साटो छाडेपछि प्रचण्डले क्रान्ति गर्दैनन् भनेर आफूले पार्टी छाडेको स्मरण गर्दै उनले भने, गर्दा गर्दा सीपी (गजुरेल)जी, मोहन (वैद्य) सबै हिंड्नुभयो । हाम्रो हविगत के भयो ?’

‘सबैभन्दा पहिले मैले छोडें । सबैभन्दा पहिले म आएर अध्यक्ष कमरेड यसरी हुँदैन एकजुट होऊँ । आज बडाे राम्रो कुरा (पूर्व माओवादीहरुबीचको एकता)हरु भएको छ ।’

संविधान संशोधनको आशा

माओवादीका पूर्वसहकर्मीहरुले विगतको सहकार्य मात्रै स्मरण गरेनन्, पुनः सहकार्यको सम्भावना पनि केलाए । मधेश केन्द्रित पूर्वमाओवादी नेताहरुले अध्यक्ष प्रचण्डसँग संविधान संशोधनका लागि पहलकदमीको आश समेत राखेका छन् ।

‘यो पार्टीमा कमरेड प्रचण्डजी, सीपी गजुरेलजी, उता साथीहरु हामीहरु कुनै जमानामा एक समयमा भीषण लडाईंको मैदानमा भूमिगत, अर्धभूमिगत, विभिन्न ठाउँ रहेर सँगै काम गरेको सम्झना अहिले आइरहेको छ । सँगै हामी लडेका थियौं । त्यही जगबाट उभिएर पछि ऐतिहासिक मधेश जनविद्रोह भएको हो’, जसपाका अध्यक्ष उपेन्द्र यादवले विगत सम्झिए ।

नेता यादव पनि माओवादी जनयुद्धमा सामेल थिए । तर माओवादी छाडेर मधेशी जनअधिकार फोरम बनाए, अन्तरिम संविधानको विरोधमा मधेश आन्दोलन गरेका उनी नेताका रुपमा उदाए । त्यससता प्रचण्डसँग कहिले सहकार्य र संघर्ष गरेका उनी अहिले सत्तारुढ गठबन्धनमा एकै ठाउँमा छन् । ‘…अब संविधानलाई दिपावली गर्नेको मात्रै होइन, जसले ब्ल्याक आउट गरेका थिए ती सबै शोषित पीडित जनताको संविधानको रुपमा रुपान्तरित गर्नुपर्छ । त्यसका लागि संविधान संशोधन अत्यावश्यक कार्य भएको छ’, अध्यक्ष यादवले भने ।

मधेशका मुद्दा सम्बोधन नभएको भन्दै संविधान जारी गर्ने क्रममा मधेश केन्द्रित दलहरुले आन्दोलन गरेका थिए र संविधान जारी भएको दिन ३ असोज २०७२ मा अरुले दिपावली गर्दा मधेशमा ब्लाकआउट गरिएको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले पनि संविधान संशोधनमा  माओवादी केन्द्रले पहल गर्ने विश्वास व्यक्त गरे । माओवादी जनयुद्धले उठाएका माग र आफूहरुको माग मिलेका कारण जनयुद्धलाई कहिल्यै ‘आतंककारी’ नभनेको स्मरण गरे । मागमुद्दा मिल्दा माओवादी केन्द्रसँग विभिन्न समयमा अनिल झाहरुले ३३ दलीय मोर्चा लगायतका नाममा सहकार्य गरेका थिए । ‘यो संविधानमा सबैथोक छ, तर केही पनि छैन’ उनले भने, ‘हामीले मधेश आन्दोलन गर्यौं, तर त्यो आन्दोलनका माग अझै सम्बोधन हुनसकेको छैन ।’

सीपी मौनालीको प्रश्नै प्रश्न

नेकपा मालेका तर्फबाट महासचिव सीपी मैनाली उपस्थित थिए । उनले माओवादी केन्द्रलाई अनेक प्रश्न गरे ।

जनताले पटकपटक व्यवस्था बदलिएको तर, आफूहरुको अवस्था नबदलिएको भनी प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले ‘नेपालको राजनीति र परिवर्तनको आन्दोलनलाई प्रयोगशालामा मात्रै दर्ता गरिदिने त होइन ?’ भनी माओवादी नेताहरुलाई प्रश्न गरे ।

१० वर्षे सशस्त्र जनयुद्ध गरेर आएको माओवादी केन्द्रको महाधिवेशनले ‘जनताका यी असन्तोष र इतिहासको फैसलालाई सम्बोधन गर्नेछ भनेर मैले किन आशा नगरौं ?’ मैनालीले प्रश्न छ ।

माओवादी केन्द्रका अगाडि ठूला ठूला प्रश्नहरु उभिएको आफूले देखेको भन्दै नेता मैनालीले अन्य विषय पनि थपे । र सबै प्रश्नका सही जवाफ महाधिवेशनमा हुने समीक्षाबाट ननिकालिए देशमा अन्योल कायमै रहने उनको भनाइ छ ।

‘एउटा लक्ष्य प्राप्तिको निम्ति शुरु गरिएको एउटा आन्दोलन जसको निम्ति राष्ट्र र जनताले अकुत बलिदान गरेका छन् । अर्कै वस्तु लिएर दिशा मोड्न पुगेको छ’ मैनाली थप्छन्, ‘नमेटिने गरी जिज्ञासाहरु उठेका छन् । किन तात्कालिक लक्ष्य प्राप्त भएन ?’

विश्वमा उत्पीडक शासकहरुद्वारा सञ्चालित राष्ट्रहरु पनि रहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘उत्पीडक शासकहरुबाट सञ्चालित राष्ट्रको परोक्ष संलग्नतामा सञ्चालित आन्दोलनले उत्पीडित राष्ट्रलाई स्वतन्त्रता र मुक्ति दिन सक्दैन भन्ने मार्क्सवादी मान्यता विपरीत आचरण गर्ने शक्तिले कसरी आफूलाई चौबीस क्यारेट मार्क्सवादी हो भन्ने दाबीलाई प्रमाणित गरिरहन सक्छ ?’

‘यस्तो आरोपलाई माओवादी केन्द्रको महाधिवेशनले सम्बोधन गर्न छ भन्ने किन आशा नगर्ने ?’ उनको प्रश्न छ ।

नेपालमा मार्क्सवादलाई नेपालको राष्ट्रिय जनवाद र त्यसको जनवादी सत्ता प्राप्तिको आन्दोलनमा संगठित ढंगले एकाकार गर्न खोजिएको ७२ वर्ष पुगिसकेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘यस प्रयत्नमा कहीं कतै ठूला ठूला भ्वाङहरु रहेको प्रतीत भइहेको छ । हाम्रो आफ्नै राष्ट्रिय जनवादी जनक्रान्ति सम्पादन गर्ने बाटो कुन हो ?’

‘जति राजनीतिक आन्दोलन गरे पनि, जनताका अधिकार जति बढाए पनि किन हामीलाई झन झन आन्तरिक गोलमा र बाह्य चक्रव्यूहमा फसिरहेको अनुभव भइरहेको छ ?’ मैनालीको प्रश्नमाथि प्रश्न छ, ‘के हामी साँच्चै हाम्रा अन्तर्राष्ट्रिय गुरुहरुका यस्ता शिक्षा र अनुभवहरुलाई नेपालको वस्तुस्थिति र विशेषता अनुरुप सटिक ढंगले लागू गरिरहेका छौं ?’

विशिष्ट आन्दोलनबाट खारिएका, साहसी, नवपरिवर्तनकारी नेता भएको महसूस गर्ने माओवादी केन्द्रका नेताहरुबाट आफूले उठाएका प्रश्नहरुको सम्बोधन हुन्छ भन्ने आशा किन नगरौं ? भन्ने पनि मैनालीको जिज्ञासा छ । यस्ता प्रश्नहरुको जवाफ खोज्नमा महाधिवेशन सफल होस् भन्ने नेता मैनालीको शुभकामना छ ।

तर, प्रचण्डलाई पछिल्लाे समय तीतो लाग्ने गरेको नेकपा मालेका महासचिव मैनालीको अभिव्यक्ति महाधिवेशनमा भने खासै तीतो लागेन । बरु गम्भीर लाग्यो । त्यसैले मैनाली सम्बोधन सकेर मञ्चमा आउनासाथ सोधे, ‘तपाईंको नोट रहेछ, मलाई दिनुहुन्छ ?’

दोहोरिएको इतिहास

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गर्ने भनेर वडादेखि पालिका, जिल्ला र प्रदेश गर्दै आएको थियो । तर, एक्कासी राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्यो ।

महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिने क्रममा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले २०३१ सालमा भारतको बनारसमा न्युक्लियसले अहिले माओवादी केन्द्रले जस्तै अन्तिममा निर्णय लिएको स्मरण गरिन् । ‘२०३१ सालमा न्युक्लियसले प्रतिनिधिहरु आइसकेपछि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेका थियो । त्यस्तै आज माओवादी केन्द्रले इतिहास दोहोर्याएको सम्झिन मन लाग्यो’, पौडेलले भनिन् ।

त्यसबेला न्युक्लियसले पुष्पलाल श्रेष्ठको समूहसँग एकताको पहल गरेको थियो । एकता पहल प्रयास सफल हुन सकिरहेको थिएन । त्यही मेलोमा राष्ट्रिय सम्मेलनको तयारी भयो । अन्तिममा गएर राष्ट्रिय सम्मेलनलाई चौथो महाधिवेशनमा परिवर्तन गरिएको थियो । तर माओवादी केन्द्रमा भने खास कारण छैन, बरु निर्वाचन आयोगमा पार्टीको वैधता जोगाउन सहज होस् भन्ने चाह देखिन्छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?