+
+

ज्येष्ठ नागरिक दिवस : उमेरजन्य विभेदको अन्त्य गरौं !

कृष्णहरि बास्कोटा कृष्णहरि बास्कोटा
२०७८ पुष १२ गते १०:०४

नेपाल सरकारले प्रत्येक वर्ष पुस ११ गतेका दिनलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने घोषणा गरेको छ । २०५१ साल पुस ११ गतेका दिन ज्येष्ठ नागरिकलाई मासिक रु.१०० भत्ता दिन आरम्भ गरिएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । यसरी राज्यबाट ज्येष्ठ नागरिकको सम्मानमा एउटा थप पहल गरिएको छ ।

प्रस्तुत प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको विशेष कार्यक्रम राष्ट्रपति भवनमा सम्पन्न भयो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति बसन्तराज कार्कीको विशेष अगुवाइमा सम्पन्न यस कार्यक्रममा यस पंक्तिकारलाई समेत सम्मानित गरियो । आजको यस पुनीत दिनमा ज्येष्ठ नागरिकको सम्मानमा यो आलेख अर्पण गरेको छु ।

ज्येष्ठ नागरिकको पक्षमा

मातृ देवो भवः पितृ देवो भवः अर्थात् आफूलाई जन्म दिने आमा बुबा देवता समान हुन् । यसर्थ, आम ज्येष्ठ नागरिक जिउँदो देवता हुन् भन्दा फरक पर्दैन । नेपालीमा उखान छ, आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको (बूढाबूढीको) । यसरी, ज्येष्ठ नागरिक जिउँदा इतिहास हुन् ।

जीवनका असंख्य उकाली-ओराली पार गरी असीमित ज्ञान, सीप र अनुभव सँगालेका ज्येष्ठ नागरिकलाई सलाम छ । यथार्थमा, ज्येष्ठ नागरिक ज्ञान र अनुभवले भरिपूर्ण पाका प्रज्ञा हुन् । ‘ज्येष्ठ नागरिकको भावना हाम्रो भविष्यको चाहना’ भन्ने नाराका साथ हामी अघि बढ्नुपर्छ । यस्ाका लागि ज्येष्ठ नागरिकलाई आदर गरौं, कदापि तिरस्कार नगरौं । ज्येष्ठ नागरिकको प्रतिभाको सम्मान र योगदानको कदर गरौं । ज्येष्ठ नागरिकको अधिकारको संरक्षण गरौं । उमेरजन्य विभेदको अन्त्य गरौं जस्ता सद्विचारमा अघि बढ्नुपर्छ ।

ज्येष्ठ नागरिकको मान आफ्नो सम्मान

अनिकालमा बीउ र हूलमुलमा जीउ जोगाए झैं महामारीमा ज्येष्ठ नागरिकको संरक्षण गर्नुपर्छ । ज्येष्ठ नागरिकलाई सम्झौं, ज्येष्ठ नागरिकलाई नबिसौर्ं । ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको आवाज बुलन्द गरौं । यथार्थमा, ज्येष्ठ नागरिकलाई सकेको दिऊँ, उहाँहरूबाट आशीर्वाद लिऊँ । जे रोप्यो त्यही उमि्रन्छ । आज ज्येष्ठ नागरिकलाई सम्मान गरे आफ्नो बुढ्यौलीमा सम्मान पाइन्छ ।

यथार्थमा, हाम्रो घरघरमा रहेका ज्येष्ठ नागरिक र हाम्रो घरको पूजाकोठामा सजिएको देवता, यी दुवै समान हुन् । घरमा ज्येष्ठ नागरिक हुनु, लच्छिनको प्रतीक मानिन्छ । जुन घरमा ज्येष्ठ नागरिक हुन्छन्, ती घरमा साक्षात भगवानको बास हुन्छ । डा. गौरीशंकरलाल दास भन्नुहुन्छ, जब पुग्यो साठी, अनुभवपूर्ण साथी, जब पुग्यो सत्तरी, सीपमा बढोत्तरी, जब पुग्यो अस्सी, जीवनमा हाँसीखुशी, जबपुग्यो नब्बे, मनोबल गजब्बे, जब पुग्यो सय, जीवन देवमय । जय ज्येष्ठ नागरिक, तपाईंहरूलाई कोटि कोटि नमस्कार छ ।

विश्व ज्येष्ठ नागरिक दिवस र जनसंख्या

संयुक्त राष्ट्रसंघले सन् १९९१ अक्टोबर १ देखि इन्टरनेशनल डे अफ ओल्डर पर्सन्स (अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस) को आरम्भ गरेको हो । वर्षेनि विश्व अल्जाइमर चेतना दिवस, २१ सेप्टेम्बर मनाउने गरिएको छ । यसैगरी, वर्षेनि ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस, १५ जून मनाइन्छ ।

विश्वमा ६० वर्ष माथिको जनसंख्या १३ प्रतिशत छ भने नेपालमा १० प्रतिशत रहेको अनुमान छ । यो जनसंख्या वर्षेनि बढ्दो छ । ज्येष्ठ नागरिकको विश्व जनसंख्या वाषिर्क ३.५ प्रतिशतले बढिरहेको र सन् २०५० सम्ममा करीब २१ प्रतिशत हुने अनुमान छ । सन् २०५० मा ज्येष्ठ नागरिकको कुल संख्या १० वर्ष मुनिका कुल बालबालिका भन्दा बढी हुनेछ ।

नेेपाली समाज सन् २०३० देखि एजिङ सोसाइटीमा प्रवेश गर्नेछ भने सन् २०५६ देखि एज्ड सोसाइटीमा प्रवेश गर्ने अनुमान छ ।

कानूनी व्यवस्था

नेपालको संविधानकोे धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनिएको छ । ज्येष्ठ नागरिक सम्बन्धी ऐनमा ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने भनिएको छ ।

साथै, ऐनमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुनेछ भन्नुका अतिरिक्त उहाँहरूको पालनपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हुनेछ भनिएको छ । यस अतिरिक्त, ज्येष्ठ नागरिकले आफ्नो सम्पत्ति आफूखुशी गर्न पाउनेछ र उहाँहरूलाई सार्वजनिक यातायातमा दुई सिट आरक्षण हुने र ५० प्रतिशत भाडामा छूट हुनेछ भनिएको छ । यी सबै प्रयोजनका लागि ज्येष्ठ नागरिकलाई राज्यले परिचयपत्र उपलब्ध गराउनेछ ।

ज्येष्ठ नागरिकका सुविधा

हाल राज्यले ज्येष्ठ नागरिकलाई मासिक रु.४ हजार भत्ता दिएको छ । यो राज्यले तोकेको न्यूनतम पारिश्रमिक रु.१५ हजार बराबर हुनुपर्छ । तत्कालका लागि उमेरका आधारमा ७० देखि ७९ वर्ष समूहलाई रु.५ हजार, ८० देखि ८९ वर्ष समूहलाई रु.१० हजार, ९० देखि ९९ वर्ष समूहलाई रु.२५ हजार र १०० वर्ष र सो माथिकालाई मासिक रु.५० हजार दिनुपर्छ । यसरी सय वर्ष माथिकाको संख्या केवल ३५०० छ ।

हाल राज्यले एक लाख पि्रमियम सहितको स्वास्थ्य बीमा गरिदिएको छ, यसलाई क्रमशः रु.५ लाख र रु.१० लाखमा वृद्धि गर्नुपर्छ । हाल राज्यले अल्जाइमर पीडित ज्येष्ठ नागरिकको औषधि उपचार खर्च बापत मासिक रु.५ हजार दिने व्यवस्था गरेको छ, यसमा पूरै उपचार निःशुल्क हुनुपर्छ ।

हाल काठमाडौंको गोठाटारमा अस्पतालको सुविधा सहित ५०० क्षमताको ज्येष्ठ नागरिक आवास निर्माण गर्ने घोषणा भएको छ, यस्तो कार्यक्रम सातै वटा प्रदेशका लागि घोषणा गर्नुपर्छ ।

प्रदेश र स्थानीय सरकारको पहल

प्रदेश-१ ले ९० वर्ष माथिका लागि वाषिर्क रु.५ हजार सम्मान स्वरुप प्रदान गर्दै आएको छ । प्रदेश-२ ले प्रत्येक जिल्लामा वृद्धाश्रम निर्माण गर्दैछ । वागमती प्रदेशले युवा स्वयंसेवकबाट ज्येष्ठ नागरिकको स्याहारसुसार गराउने सोच लिएको छ । गण्डकी प्रदेश ठूला वृद्धाश्रममा सुसारेको दरबन्दी सृजना गर्न प्रतिबद्ध छ । लुम्बिनी प्रदेशले ८४ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई घरमै स्वास्थ्य सेवा दिइआएको छ । कणर्ाली प्रदेशमा मनमोहन ज्येष्ठ नागरिक कार्यक्रम संचालनमा छ । सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रम लागू छ । यसरी प्रत्येक प्रदेशले लागू गरेको असल अभ्यासलाई अन्य सबै प्रदेश सरकारहरूले अनुसरण गर्नुपर्छ ।

केही स्थानीय तहहरूले पनि ज्येष्ठ नागरिकलाई घर वा अस्पतालमा पुगेर भत्ता दिने, विदुर भत्ता दिने, ज्याकेट,थर्मस, सिरक, ब्ल्याङ्केट र सम्मान पत्र बाँड्ने, निःशुल्क यातायातको परिचय पत्र दिने, निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने र ज्येष्ठ नागरिकबाट सडक उद्घाटन गराउने जस्ता अनुकरणीय काम गरिआएका छन् । यी सत्प्रयासहरूलाई फराकिलो तुल्याउनुपर्छ ।

स्वास्थ्य सेवा

पाको उमेर आवश्यक पर्ने स्वास्थ्य सेवा नै हो । यसर्थ, सबै अस्पतालमा जेरियाटि्रक वार्डको स्थापना गर्नुका साथै सबै स्वास्थ्यकर्मी र नर्सलाई अनिवार्य रूपमा ज्येष्ठ नागरिकको स्याहार गर्ने तालीम दिनुपर्छ । यसैगरी, ज्येष्ठ नागरिकलाई वाषिर्क रूपमा मल्टी भिटामिन र क्याल्सियम चक्की नियमित वितरण गर्नुका अतिरिक्त वर्षेनि एण्टी फ्लू भ्याक्सिन निःशुल्क दिनुपर्छ ।

ज्येष्ठ नागरिकलाई सरकारी र सामुदायिक अस्पतालमा निःशुल्क सेवा तथा निजी अस्पतालमा कम्तीमा ५० प्रतिशत छूटमा सेवा पाउने व्यवस्था हुनुपर्छ । ज्येष्ठ नागरिकले निःशुल्क एम्बुलेन्स सेवा पाउनुपर्छ । उहाँहरूलाई प्रायःजसो, प्रेसर, सुगर, कोलेस्ट्रोल, दम, मुटु रोग विरुद्ध सेवन गर्ने औषधिहरूलाई जेनेरिक औषधि उत्पादन गर्ने व्यवस्था मिलाई मूल्यमा कम्तीमा २५ प्रतिशत छूट दिने प्रबन्ध हुनुपर्छ ।

ज्येष्ठ नागरिक कल्याण कोष

बैंक तथा वित्तीय संस्थाले संचालन गर्नुपर्ने सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमको निर्देशिकामा ज्येष्ठ नागरिकको हितमा सबै प्रकारको कार्यक्रम संचालन गर्न पाउने प्रबन्ध गर्नुपर्छ ।

बैंकमा खाता खोलेका र स्वर्गवासी भई हकवालाले दाबी नगरेको रकम, यस्तै बैंकको लकरमा रहेको सुनचाँदी, लामो समयदेखि बैंकको खाता संचालनमा नआएको स्वदेशी र विदेशी नागरिकको रकम, कतिपय बीमितको मृत्यु भई हकवालाको दाबी नपरी थन्किएको रकम, कर्मचारी संचयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषहरूमा बचतकर्ताको मृत्यु भई हकवालाहरूले दाबी नगरेको रकम लगायतलाई भारतमा सन् २०१६ मा अर्थमन्त्री अरुण जेट्लीले प्रस्तुत गरेको विशेष कानून झैं ऐन निर्माण गरी यस्ता रकमबाट ज्येष्ठ नागरिक कोष खडा गर्न नेपाल राष्ट्र बैंकले पहल गर्नुपर्छ ।

आगामी गोरेटो

ज्येष्ठ नागरिक सम्बन्धी दीर्घकालीन, मध्यकालीन र तत्कालीन योजना निर्माण गरी लागू गर्नुपर्छ । राज्यका भौतिक संरचनाहरू ज्येष्ठ नागरिकमैत्री हुनुपर्छ । स्कूल र कलेजको पाठ्य सामग्रीमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने विषय समावेश गर्नुपर्छ । ज्येष्ठ नागरिक मध्येबाट अनुकरणीय काम गर्ने कम्तीमा १० जनालाई वर्षेनि रु.१० लाखका दरले पुरस्कृत गर्नुपर्छ । ज्येष्ठ नागरिकको पीरमर्का सुन्न हेल्प लाइन, परामर्श सेवा र पुनस्र्थापना केन्द्रहरू स्थापना गर्नुपर्छ ।

यसैगरी, राज्यका विभिन्न समितिको गठन गर्दा, उच्चस्तरीय भ्रमण दलको प्रतिनिधिमण्डल चयन गर्दा, राष्ट्रिय सभामा सदस्य मनोनयन गर्दा सक्षम ज्येष्ठ नागरिकको प्रतिनिधित्वलाई अनिवार्य गर्नुपर्छ । गैरसरकारी संस्था, निजी क्षेत्र र दातृ समुदायले पनि ज्येष्ठ नागरिकको पक्षमा कार्यक्रमहरू संचालन गर्ने प्रबन्ध मिलाउनुपर्छ । तीनै तहका सरकारबाट आवश्यक संख्यामा वृद्धाश्रम, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक बाटिका/पार्क, एकीकृत आरोग्य आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, ज्येष्ठ नागरिक चौतारो, ज्येष्ठ नागरिक ग्राम लगायतका पूर्वाधारमा लगानी गर्नुपर्छ । अन्तरपुस्ता ज्ञान र सीप हस्तान्तरणका लागि विशेष कार्यक्रम घोषणा गर्नुपर्छ ।

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको उपयोग गर्न उहाँहरूको प्रोफाइल तयार गर्नुपर्छ । अन्त्यमा, आज पुस ११ गतेको ज्येष्ठ नागरिक दिवसको पवित्र दिनमा समस्त ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घजीवन र खुशीका लागि शुभकामना व्यक्त गर्दछु ।

लेखकको बारेमा
कृष्णहरि बास्कोटा

कृष्णहरि बास्कोटा सूचना आयोगका पूर्वप्रमुख आयुक्त हुन् । त्यसअघि नेपाल सरकारका सचिव रहेका उनले अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको जिम्मेवारी निभाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?