+
+

जो माओवादी महाधिवेशनमा बाबुआमाको अनुहार खोजिरहेका छन्

जनयुद्धमा परिवार गुमाएका युवाको नेताको कथा

रोयल आचार्य रोयल आचार्य
२०७८ पुष १४ गते १९:३२

१४ पुस, काठमाडौं । महान शहीद लाल सलाम ! भन्दै स्टेजमा गीत गुञ्जिदै थियो । नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन शत्रमा गाइएका गीतले धेरै नेता कार्यकर्तालाई सशस्त्र युद्धकै बेला सम्झाइरहेको थियो ।

माओवादीका प्रतिनिधिहरु क्रान्तिको धुनमा जुरुक्कै उचालिँदा ३५ वर्षीय युवक विनोद कटुवाल भने भाव विह्वल भए । स्पिकरमा गीत बज्दै गर्दा उनले पटक पटक आफ्ना बाबुआमा सम्झिए ।

पार्टीको उदयपुर जिल्ला अध्यक्ष कटुवाल माओवादीको महाधिवेशन प्रतिनिधि हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलमा उनी सक्रिय सहभागी छन् । युद्धका क्रममा भोगेका सास्ती, बुवा आमा गुमाउनुपरेको पीडा र ज्यान जोगाउन घरबाट विस्थापित हुनुपरेको घटना उनले यो महाधिवेशनको क्रममा पनि सम्झिरहेका छन् ।

‘धेरै याद गरेँ, सम्झिँदा भक्कानिएँ’ विनोद भन्छन्, ‘मेरो परिवारले क्रान्तिका निम्ति ज्यान गुमायो, धेरै राजनीतिक परिवर्तनहरु भयो तर अझै क्रान्तिका बाँकी अभिभारा पूरा गर्न मैले अध्यक्षको प्रतिवेदनमा अलि बढी चासो दिएको छु ।’

माओवादी केन्द्रको महाधिवेशनमा विनोद कटुवाल

जनयुद्धमा परिवार गुमाए

२०५५ सालमा बाबु मोहन कटुवालको हत्या हुँदा विनोद १२ वर्षका थिए । बाबुको हत्याको ४ वर्षपछि उनकी आमाको पनि हत्या भयो । ‘बुबालाई प्रहरीले २०५५ कात्तिक १२ गते चिम्टाघारी भन्ने ठाउँमा बर्बरापूर्वक हत्या गरेको खबर पायौं, विनोदले भने, ‘त्यसपछि हाम्रो अविभावक आमा हुनुहुन्थ्यो, रात दिन राज्य सत्ताको दुःख भोगेरै भए पनि आमाको काखमा बस्न पाउछौं भन्ने थियो । तर त्यो पनि सहेन ।’

२०५९ चैतमा सेनाको गिरफ्तारीमा परेकी गंगाकुमारी कटुवाल पछि मारिइन् । ‘बुवाको हत्या पछि आमा डिप्रेसनको शिकार हुनुहन्थ्यो, राज्य हामीमाथि क्रुर भइरह्यो’ उनी भन्छन् ।

अहिले माओवादीको महाधिवेशनमा भेला भएका माओवादी प्रतिनिधिहरु देख्दा उनी बाबु र आमाको अनुहार सम्झन्छन् । ‘मेरो पनि बुवा आमा भइदिए कति माया पाउँथे होला’ विनोद चिन्तित देखिन्छन् ।

विनोदका बाबु मोहन गाउँमा अन्यायविरुद्ध आवाज उठाउँथे । हजुरबुबाको नामको जग्गा जमिन स्थानीय धनाढ्यले कब्जा गरेपछि बुवाले त्यसको कडा विरोध गरेपछि आँखाको तारो बनेको विनोद बताउँछन् ।

बाबु र आमा दुबै गुमाएपछि दाजु केदार, विनोद र उनकी बहिनी टुहुरासँगै बेसहारा भए । बहिनीलाई गाउँकै आफन्तले सहारा दिए । केदार भूमिगत भए भने विनोद छिमेकी गाउँमा गाउँलेका गाईवस्तु चराउने, गोठालो जाने काम गर्न थाले ।

‘प्रहरी गाउँ आउन थालेको खबरले असाध्यै डर लाग्थ्यो, मोहन कटुवालको छोरा भनेर मारिहाल्छन् जस्तो अवस्था थियो’ उनी सम्झन्छन्, ‘प्रहरी आएको खबर पाउनासाथ म कहिले बाख्राको खोरमा त कहिले कुन खोल्सामा लुक्न पुग्थे, सानै भए पनि मनमा धेरै त्रास थियो ।’

चार महिना त्यसरी बित्यो । त्यसपछि भने उनी माओवादीको सम्पर्कमा पुगे । त्यसपछि माओवादीले उदयपुरबाट सिन्धुपाल्चोक पुर्‍यायो ।

ठाउँ छाडे, तर छाडेन दुःखले

माओवादीले सिन्धुपाल्चोकको कुभिन्डेमा उनीहरु एउटा घरमा बस्ने व्यवस्था गर्‍यो । ‘जुन घर अहिलेका सभामुख अग्नि सापकोटा दाजुभाइकै थियो’ विनोद सम्झिन्छन् ।

माओवादी प्रभावित क्षेत्र भएकाले सरकारी सुरक्षाकर्मीबाट डर हुन्थ्यो । सशस्त्र युद्धका क्रममा त्यस गाउँका १६ जनाले ज्यान गुमाएका छन् । विनोदले आश्रय लिएको घरका पनि ३ जनाले ज्यान गुमाएका थिए ।

उनलाई त्यहाँका नेताहरुले सेतीदेवी पञ्चकन्या विद्यालयमा कक्षा पाँचमा भर्ना गरिदिए । उनी त्यहाँ माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को इकाई समितिमा आबद्ध भए । उनलाई अहिलेका सभामुख सापकोटाले संरक्षण गरेका थिए ।

विद्यालय पनि सुरक्षित भने थिएन । ‘दिनहुँजसो प्रहरी आउन थाल्यो म झ्यालबाट भाग्थेँ’ उनी सम्झन्छन्, ‘पढाइ राम्रै भएकाले सापकोटा परिवारले पढाइमै चासो दिएको थियो ।’ तर उनका अनुसार नियमित विद्यालय गएर पढ्ने वातावरण थिएन । ८ कक्षासम्म पढेपछि विनोद पनि माओवादी टोलीसँगै भूमिगत भए । हतियार बोकेका माओवादीहरुले उनलाई घरमै बस भनेर गाली गर्थे, तर उनलाई घरमा बसेर पढ्न मन लागेन ।

उनी माओवादी टोलीमा सामेल भए । ‘पूर्वमा भएका ठूला कारबाही सबैमा संलग्न हुँदै आएँ, धेरै मोर्चामा लडेँ’ विनोद भन्छन्, ‘बुवा आमा गुमाए पनि मैले पाउनुपर्ने संरक्षण सिन्धुपाल्चोकको सापकोटा परिवारबाट पाएको थिएँ ।’

शान्ति प्रक्रियामा आएपछि उदयपुर

पार्टी शान्ति प्रक्रियामा आएपछि विनोद उदयपुर फर्किए । उजाड घरको भौतिक संरचनालाई सम्हालेर त्यहीँ बस्ने र जग्गा जमिनमा खेती गर्न थाले । पार्टीले पनि उनलाई उदयपुर नै भूगोल तोकेर जिम्मेवारी दियो ।

०६४ सालको संविधानसभा निर्वाचनमा नै शहीद परिवारको तर्फबाट उनलाई संविधानसभा सदस्य बनाउने चर्चा थियो । तर पार्टीभित्रै कतिपयले उनी कम उमेरको भनेर कुरा उठाए ।

२०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा भने उदयपुरको क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य उम्मेदवारको आकांक्षी थिए । त्यतिबेला पनि उनले टिकट पाएनन् ।

२०७४ सालमा स्थानीय तहसँगै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअघि उनी माओवादी केन्द्रको जिल्ला कमिटीको संयोजक बने । त्यसबेला उनलाई कटारी नगरपालिकाको मेयरको उम्मेदवार बन्न नेताहरुले सुझाव दिएका थिए, तर उनले प्रदेश सभा सदस्यका लागि दाबी गरेका थिए । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले पछि नाम फिर्ता लिए ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेपाल कम्युनिस्ट पार्टीको उनी जिल्ला अध्यक्ष बने । दुई पार्टी पूर्व अवस्थामा फर्किएपछि माओवादी केन्द्रको जिल्ला अध्यक्षको भूमिकामा छन् ।

२०६२/०६३ को जनआन्दोलन सफल भएपछि माओवादी पनि खुला राजनीतिमा आयो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निकै राम्रो मत ल्याएको माओवादी केन्द्र २०७० सालमै तेस्रो दलमा खुम्चियो ।

प्रचण्डले पार्टी शान्ति प्रक्रियामा आएपछि केही गल्ती भएको स्वीकार गरेका छन् । अब ती कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

पहिचान र समावेशीतालाई मूल मुद्दा बनाएको माओवादीले युवाहरुका लागि पार्टीमा देखाएको उदारता साच्चिकै सम्मान योग्य रहेको विनोद बताउँछन् । अहिले युवा क्लस्टरबाट उनी केन्द्रीय सदस्यको आकांक्षी छन् ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?