+
+

स्टुडियोदेखि स्टेजसम्म व्यस्त मेलिना

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १४:५४

१४ पुस, काठमाडौं । यतिबेला देशका विभिन्न जिल्लामा मेला-महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । कोभिड–१९ को प्रभाव कम हुँदै गएपछि करिब दुई वर्षपछि भएका मेला-महोत्सवले कलाकारहरुलाई व्यस्त बनाएको छ । यस्तै व्यस्तमध्येमा पर्छिन् लोकप्रिय गायिका मेलिना राई ।

उसो त स्टेज कार्यक्रम नहुँदा पनि उनी प्रायःजसो रेकर्डिङमा व्यस्त हुन्थिन् । स्टेज कार्यक्रम शुरु भएसँगै उनको व्यस्तता थप बढेको हो । ‘अहिले स्टेज कार्यक्रमहरु राम्रै संख्यामा हुन थालेका छन् । त्यसकारण व्यस्तता बढेको छ,’ मेलिना सुनाउँछिन् ।

कोरोनाको दोस्रो लहरपछि इण्डियाको दार्जिलिङ पुगेर सांगीतिक प्रस्तुति दिइन् । यस अवधिमा झापा, चितवन, सप्तरी, सिमरा, दाङ, नवलपुर हुँदै इलामसम्म पुगेर प्रस्तुति दिएर उनी मंगलबार मात्रै काठमाडौं फर्किएकी छन् ।  स्टेज कार्यक्रममा व्यस्त हुँदा रेकर्डिङ गर्नुपर्ने गीतको संख्या बढ्दै जान्छ । कोरोनाअघि पनि स्टेज कार्यक्रममा व्यस्त हुँदा रेकर्डिङ गर्नुपर्ने गीतहरुको थुप्रो लाग्थ्यो । त्यसकारण उनले स्टेजबाट फुर्सद पाउनासाथ दिनमै ६ वटासम्म गीत रेकर्ड गर्थिन् ।

‘अहिले फेरि त्यस्तै हुन थालेको छ । रेकर्डिङ गर्नुपर्ने गीतहरु थुप्रै छन्,’ मेलिनाले भनिन्, ‘बुधबार र बिहीबार रेकर्डिङ गरेर फेरि कार्यक्रमको सिलसिलामा इण्डिया जानुछ ।’

न्यु इयर इभ र जनवरी फस्टमा उनको भारतमा सांगीतिक प्रस्तुति हुनेछ भने त्यहाँबाट फर्किएपछि देशभित्रै पूर्वदेखि पश्चिमसम्मका केही कार्यक्रममा मेलिना व्यस्त हुनेछिन् । माघका लागि पनि उनका केही कार्यक्रम तय भइसकेका छन् । पोखरा, बर्दिया लगायतका स्थानमा कार्यक्रम तय भइसकेको उनले बताइन् ।

देशभित्र विभिन्न व्यवसायी संघ–संस्थाले मेला–महोत्सव तथा सांगीतिक कार्यक्रमहरु आयोजना गरिरहेका छन् । ती कार्यक्रममा दर्शकहको उपस्थिति पनि बाक्लो हुने गरेको मेलिना सुनाउँछिन् ।

‘म पुगेका मेला–महोत्सव तथा सांगीतिक कार्यक्रममा दर्शकको उपस्थिति एकदमै बाक्लो पाएकी छु । लामो समय सांगीतिक कार्यक्रम नहुँदा दर्शकहरु बोर हुनुभएको हुनाले हुनसक्छ मेला महोत्सवमा पुग्दा दर्शकहरुलाई एकदमै उत्साहित पाउँछु,’ मेलिना भन्छिन्, ‘दर्शकको उपस्थितिले आयोजकहरु पनि एकदमै खुशी भएको पाएँ ।’

दुई वर्षअघिसम्म स्टेज कार्यक्रमको जति चाप हुन्थ्यो, त्यति नै नभएपनि भएका कार्यक्रमको माहोल हेर्दा आफू एकदमै उत्साहित रहेको मेलिना बताउँछिन् । अहिलेको माहोल हेर्दा अब स्टेज कार्यक्रम राम्रै संख्यामा हुने मेलिनाको अपेक्षा छ । विदेशका लागि भने पहिलेजस्तो माहोल नबनेको उनले बताइन् । चार महिनापछि अप्रिलदेखि जुलाईसम्म जापान, अमेरिका र युरोपका विभिन्न देशमा उनको सांगीतिक टुर तय भएको छ । उनले भनिन्, ‘कोरोनाको नयाँ भेरियन्ट फैलिएन र लकडाउन भएन भने जान पाइएला । हेरौं के हुन्छ ।’

स्टेजमा मेलिनाले गाउन नछुटाउने गीत हुन् ‘कुटुमा कुटु’, ‘नाच फिरिरी’, ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’ लगायत । पछिल्लो समय ‘तातो गोली’, ‘माया बिरानी’लगायतका गीत पनि नछुटाई गाउने मेलिनाले बताइन् । स्टेजमा सबैभन्दा धेरै ‘वान्स मोर’ आउने गीत चाहिँ कुन हो ? प्रश्नमा मेलिनाले भनिन्, ‘पहिले ‘कुटुमा कुटु’मा एकदमै धेरै वान्स मोर हुन्थ्यो । अहिले मेरो प्रस्तुति सकिन लाग्दा वान्स मोर आइहाल्छ । एउटा गीतमा भन्दा पनि प्रस्तुतिका लागि वान्स मोर गरिरहनुहुन्छ ।’ आफूले गाएका गीतलाई मात्र नभएर स्टेजमा पनि आफूले एकदमै धेरै माया पाउने गरेको मेलिना बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?