
१४ पुस, काठमाडौं। युएईमा एसीसी यू १९ एसिया कप खेलेर नेपाली यू १९ क्रिकेट टिम स्वदेश फर्किएको छ । समूह चरणको तीनवटै खेलमा पराजित भएको नेपाली टोली बुधबार नेपाल आइपुगेको हो ।
टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले एअरपोर्टमा स्वागत गरेका थिए । टेष्ट राष्ट्रहरुलाई आश्चर्यचकित पार्दै नकआउट चरण पुग्ने लक्ष्य राखेपनि नेपाल जितविहिन बनेको छ । समूह बी मा रहेको नेपाल बंगलादेश, श्रीलंका र कुवेतसंग पराजित भएको थियो ।
यसअघि नेपाल कुवेतसंग हारेको थिएन । तर यस पटक भने कुवेतसंग पनि पराजित हुँदा नेपालले एक खेल पनि जित्न सकेन ।
यू१९ लेभलमा विश्वकप समेत खेलेर शनसनी मच्चाएको नेपाल पछिल्लो समय भने प्रदर्शन खस्किएको छ । सन् २०१७ मा भएको यू १९ एसिया कपमा भारतलाई समेत हराएर सेमिफाइनल पुगेको नेपाल त्यसयता समूह चरण पार गर्न सकेको छैन ।
युएईमा नेपाल बंगलादेशसंग १५४ रनले पराजित हुँदा श्रीलंकासंग ६० रनले पराजित भएको थियो । यस्तै अन्तिम खेलमा कुवेत विरुद्ध पूरै ५० ओभर ब्याटिङ गर्न नसकेको नेपाल १ विकेटले पराजित भएको थियो ।
कुवेतका कप्तान मिट भाबसार एक्लैले ओपनिङ गर्दै अविजित १७५ रन बनाउँदा नेपालले दिएको २४० रनको लक्ष्य ९ विकेट गुमाएर पूरा गरेको थियो ।
प्रतिक्रिया 4