+
+

नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्क नतिर्ने विद्यार्थी कक्षाबाट निकालिए

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १८:०१

१५ पुस, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको छ । बुधबार शुल्क नुबझाउने विद्यार्थीलाई कक्षा कोठाबाट निकालेको कलेज प्रशासनले बिहीबार विद्यार्थीलाई गेटबाटै प्रवेश नदिएको हो ।

नोबेल मेडिकल कलेज काङ्ग्रेस नेता सुनील शर्माले सञ्चालन गर्दै आएका छन् । गेटमै रोकेकामा विद्यार्थीले विरोध गरेपछि छलफलका लागि पाँच जना अभिभावकलाई भने प्रवेश दिइएको थियो । अभिभावक र कलेज प्रशासनबीचको छलफल विना निष्कर्ष टुङ्गिएको एक विद्यार्थीले बताए ।

पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले एक वर्षको साढे तीन लाख भन्दा बढी अतिरिक्त रकम माग गरेको छ । पुस ११ गतेदेखि अतिरिक्त शुल्क बुझाउने विद्यार्थी मात्रै अध्ययन गरिरहेका छन् । कलेजमा ९६ विद्यार्थी भर्ना भएका छन् ।

तीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्ति पाएका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थी अध्ययन गरिरहेका छन् । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीले भने प्रवेश नपाएको विद्यार्थीहरुले गुनासो गरे ।

कलेजले अतिरिक्त शुल्क मागेपछि अभिभावक र विद्यार्थीले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका थिए । स्थानीय प्रशासनले अतिरिक्त शुल्क नलिन निर्देशन दिएपनि अटेर गर्दै कलेज प्रशासनले विद्यार्थीलाई रोकेको हो ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यकाबाहिरको मेडिकल कलेजमा ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकेको छ । नोवेलले आयोगले तोकेको भन्दाबाहेक इन्टर्नसीप, होस्टल (अनिवार्य) र रजिस्टेशनलगायत शीर्षकमा अतिरिक्त शुल्क मागिरहेको अभिभावकको गुनासो छ ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले अभिभावकसँग सम्झौता भएका विद्यार्थीलाई मात्र पठनपाठनमा सहभागी गराएको बताए । होस्टल र शुल्कका विषयमा देखिएको विवाद समाधानका लागि छलफल भइरहेको बताए ।

‘कलेज सञ्चालकले ठूलो लगानी होस्टलमा गरेका छन्, विश्वविद्यालयले पनि होस्टल अनिवार्यको नियम बनाएको छ,’ उनले भने, ‘होस्टलको विषयलाई समस्या बनाउन आवश्यक छैन ।’ कलेजले होस्टलको एउटा कोठाको शुल्क १२ हजार रुपैयाँ तोकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?