+
+

बालबालिकाको वृद्धिविकासः निर्जीव खेलौनाले खेल्न सक्छ सजीव भूमिका

नुनुता राई नुनुता राई
२०७८ पुष १६ गते ९:४२

१६ पुस, काठमाडौं । खेलौना निर्जीव हुन्छन् । स्वार्थैस्वार्थको संसारमा कहिलेकाँही यस्तो लाग्छ– सजीव मित्रहरू भन्दा त्यही निर्जीव खेलौना असल साथी बन्न सक्छन् । भनाइ नै छ– ‘कम्तिमा खेलौनाले जीवित मान्छेले जस्तो धोका दिँदैन र मुटु टुक्र्याउँदैन ।’

यी भनाइहरू बालबालिकाको जीवनमा अझ बढी लागू हुन्छ । मनोविद्हरूका अनुसार बालबालिकाको चौतर्फी विकासको लागि खेलौनासँगको खेल अत्यधिक महत्वपूर्ण हुन्छ । साना बालबालिकाले गुडिया, भाँडाकुटी लगायतका खेलौनासँग खेल्ने खेल उनीहरूको शारीरिक र मानसिक विकासको लागि जरुरी रहेको मनोविद्हरू बताउँछन् ।

बालबालिकाले खेल्ने खेलहरूले उनीहरूको शारीरिक तथा मानसिक विकास मात्रै नभएर संवेगात्मक र भाषिक विकास, सामाजिकीकरण लगायतका कुरामा प्रभाव पार्ने मनोविद् गोपाल ढकाल बताउँछन् । ‘बालबालिकाले खेल्ने खेलबाट निर्णय गर्ने क्षमता, भाषिक सामाजिकीकरण, मेलमिलाप, सहकार्य जस्ता कुराहरू सिकिरहेका हुन्छन्,’ मनोविद् ढकाल भन्छन्, ‘त्यसैले बालबालिकाको लागि खेलौना जरुरी छ ।’

नेपालमा सिकाइको लागि पाठ्यक्रमलाई मात्रै महत्व दिने गरिन्छ । तर बालबालिकाले खेलको माध्यमबाटै धेरै कुरा सिकिरहेका हुने मनोविद् ढकालको भनाइ छ । ५/६ वर्षका बालबालिकाहरूमा ठूलो उमेरका मानिसको जस्तै मानसिक विकास भइसकेको हुन्छ । जीवनमा आवश्यक पर्ने सीपहरू उनीहरूले यही उमेरदेखि सिक्न थाल्छन् ।

बालबालिका खेलौनासँग रम्छन् । खाना पकाउने, अफिस जाने, डाक्टर, नर्स, प्रहरी, ड्राइभर, आमाबुवा आदिको भूमिकामा खेलौनालाई खडा गरेर उनीहरु खेलिरहेका हुन्छन् । परिवार, समाजमा उनीहरूको भूमिका कस्तो हुने भनेर बुझ्ने मात्र होइन, त्यही अनुसारको चरित्र पनि निभाइरहेका हुन्छन् । यस्ता चरित्र मार्फत् बालबालिकाले भविष्यमा आउन सक्ने जिम्मेवारीहरू अनुकरण गरिरहेका हुन्छन् ।

मनोविद् ढकाल अगाडि भन्छन्, ‘घर, समाजमा देखिरहेका चरित्रहरू खेल मार्फत् निभाइरहेका हुन्छन् । उनीहरूले थप सिर्जनात्मक शैलीमा आफ्नो भूमिका निर्वाह गरिरहेको देख्न सकिन्छ । यसले उनीहरूको सिर्जनशील क्षमता विकास भइरहेको हुन्छ ।’

खेलले बालबालिकाको चौतर्फी विकासको लागि महत्वपूर्ण भूमिका हुने भएकोले उनीहरूलाई खेल्न प्रेरित गरेर यसका लागि पर्याप्त समय दिनुपर्ने उनको बुझाई छ ।

बालबालिका अत्यन्तै कल्पनाशील हुन्छन् । उनीहरू एउटा लट्ठी भेट्यो भने पनि गाडी, हवाइजहाज बनाएर खेलिरहेका हुन्छन् । एउटा सानो टुक्रा वस्तुमा पनि उनीहरू रमाउन सक्छन् । अभिभावकले बालबालिका रुचीको विषयमा ध्यान दिँदै उनीहरुले खेलिरहेको बेला सोधेका प्रश्नहरुको सकारात्मक तरिकाले जवाफ दिनुपर्छ ।

बालबालिकालाई खेलौना दिँदा सफा गरेर दिनुपर्छ । विशेष गरेर गुडिया, गाडी लगायतका बालबालिका लागि बनाइएका यस्ता सामग्रीहरूमा रसायन हुनसक्ने र बालबालिकाले कुनै पनि समय मुखमा पनि लगाउन सक्ने जोखिमलाई अभिभावकले ख्याल गर्नुपर्छ ।

मानसिक तथा मनोवैज्ञानिक उपचारमा ‘प्ले थेरापी’

मनोविद् ढकाल बच्चाका मानसिक तथा मनोवैज्ञानिक समस्या हल गर्न पनि खेल सहयोगी बन्ने बताउँछन् । ‘बच्चा कसरी खेलिरहेको छ भन्ने कुराले उसमा रहेको मनोवैज्ञानिक समस्याहरू थाहा पाउन सकिन्छ,’ उनी भन्छन्, ‘त्यसैले यसको उपचारमा ‘प्ले थेरापी’ विधि अपनाइने गरिएको छ ।’

बालबालिकाले खेलबाट नै आफ्नो भावाना, संवेग, कुण्ठा, निराशा, खुशीहरू व्यक्त गरिरहेका हुन्छन् । त्यसैले बालबालिकाको गतिविधिमा साथ दिँदै अभिभावकले पनि उनीहरूको खेल्ने शैली अवलोकन गर्नुपर्नेमा जोड दिन्छन् मनोविद् ढकाल ।

वयस्क व्यक्तिले जसरी बालबालिकाले आफूलाई लागेको कुरा न खुलस्त कसैलाई भन्न सक्छन् न त समाधान नै गर्न सक्छन् । यस्तो अवस्थामा उनीहरुले खेलको माध्यमबाट आफ्ना भावनाहरु अभिव्यक्त गर्छन् ।

त्यसैले बालबालिकालाई सबल बनाउँदै मानसिक तथा भौतिक विकासमा सकारात्मक प्रभाव पार्न र मनोवैज्ञानिक समस्या समाधान गर्न खेल उपयोगी माध्यम बन्ने उनको बुझाइ छ ।

उमेर अनुसारको खेलौना

बालबालिकालाई उमेर अनुसारको खेल खेल्न प्रेरित गर्नुपर्छ । मनोविद् ढकाल भन्छन्, ‘अभिभावकले बालबालिकाको उमेर अनुसार खेलौना छान्नुपर्छ । खेलसँग हुने जोखिम, दुर्घटनाको बारेमा अभिभावक सचेत हुन जरुरी छ ।’ खेलौना किन्दा बालबालिकाको उमेरसँगै रुचिलाई पनि ख्याल गर्नुपर्नेमा उनको जोड छ ।

बालबालिकालाई खेलौना दिँदा सफा गरेर दिनुपर्छ । विशेष गरेर गुडिया, गाडी लगायतका बालबालिका लागि बनाइएका यस्ता सामग्रीहरूमा रसायन हुनसक्ने र बालबालिकाले कुनै पनि समय मुखमा पनि लगाउन सक्ने जोखिमलाई अभिभावकले ख्याल गर्नुपर्छ ।

गुडियामा हुने रौंहरू नाक, मुख, आँखामा पर्न गई संक्रमण हुन सक्छ भने फलाम जडित खेलौनामा लागेको खिया मुख र चोट लागेको ठाउँमा पर्यो भने जोखिम बढ्न सक्छ । बालबालिका लक्षित साना गाडीहरू खेल्दा समेत दुर्घटना हुनसक्ने भएकोले सुरक्षामा ध्यान दिनुपर्छ ।

सकारात्मक ज्ञान

बालबालिका एकदमै जिज्ञासु स्वभावका हुन्छन् । उनीहरूलाई खेल मार्फत विभिन्न सकारात्मक ज्ञान दिन सकिने मनोविद् ढकाल बताउँछन् ।

नेपाली समाजमा बालिकालाई गुडिया, भाँडाकुँडा दिने र बालकलाई गाडी, बन्दुक दिएर सानैमा फरक व्यवहार गरिन्छ । तर यस्तो व्यवहारले उनीहरूमा महिला र पुरुषको पेशा अथवा जिम्मेवारी नै फरक फरक हो भन्ने मानसिकताको विकास हुनसक्छ ।

त्यसैले अभिभावक सचेत भई महिला र पुरुषको पारीवारिक, सामाजिक जिम्मेवारी समान हुन्छ भनेर सन्देश दिन सकिने ढकालको बुझाइ छ । उनी भन्छन्, ‘भान्साको काम महिला पुरुष दुवैको जिम्मेवारी हो । पारीवारिक अथवा सामाजिक जिम्मेवारी सबैको समान हुन्छ भन्ने बुझाउन ध्यान दिनुपर्छ ।’

बाल्यकालमा सिकेका र सुनेका कुराले बालबालिकाको दिमागमा गहिरो प्रभाव पर्छ । त्यसैले खेलबाट यस्ता सकारात्मक कुराहरू सहज तरिकाले बुझाउन सकिने उनको भनाइ छ ।

स्क्रिनमा खेलिने खेलः असर बढी

अहिलेका बालबालिकाहरू शारीरिक रूपमा खेलिने यस्ता खेलहरूबाट बञ्चित भइरहेका छन् । इन्टरनेटमा सहज पहुँचका कारण मोबाइलमा खेलिने खेलहरूमा बढी आकर्षित भइरहेका छन् ।

त्यसले सकारात्मक भन्दा नकारात्मक असर गरिरहेको मनोविद् ढकालको बुझाइ छ । स्क्रिनमा समय बिताउँदा उनीहरूको शारीरिक गतिविधि कम हुनाले शारीरिक विकासमा असर गरिरहेको हुन्छ । अर्को यस्ता खेलले उनीहरूको स्वभाव एकलकाँटे हुँदै जाने मनोविद् ढकाल बताउँछन् । उनी भन्छन्, ‘स्क्रिनमा खेल्ने बालबालिका अन्र्तमुखी र संकुचित बन्छन् । अप्ठ्यारो पर्दा रिसाउने, झर्किने खालका समस्या देखिन्छ । अहिलेको बालबालिकामा यो समस्या देखिइरहेको छ ।’

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मंसिर) सम्म ३७ करोड ५ लाख ५७ हजारको खेलौना नेपाल भित्रिएको छ । यो गत आर्थिक वर्षको यही अवधिको आयात भन्दा १२ करोड बढी रकम हो । गत आर्थिक वर्षमा साउनदेखि मंसिरसम्म २५ करोड ४९ लाख २१ हजार मूल्य बराबरको खेलौना आयात भएको थियो ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?