+
+
विचार :

के महाधिवेशनले विचारधारा वा वाद जन्माउँछ ?

चर्को स्वरले डंका पिट्दैमा कसैले पत्याउँदैन, समाजवाद आउँदैन । वस्तु र व्यवहारमा प्रकट नहुने विचार दर्शन मूलतः आदर्शवाद हो । विचार नीतिमा, नीति योजना–कार्यक्रममा र योजना कार्यक्रम सबैभन्दा पहिला नेता–कार्यकर्ताको जीवनशैली र व्यवहारमा प्रकट हुनुपर्छ ।

बिदुर खड्का बिदुर खड्का
२०७८ पुष १६ गते ११:११

पार्टीको महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनले कुनै नयाँ विचारधारा वा वादको जन्म गराउँदैन, गरेको अहिलेसम्मको इतिहास पनि छैन । विचारको विकासमा त्यसले एउटा इँट्टा पक्कै थपघट गर्न सक्छ । मार्क्सवाद र अन्य सबै विचार सिद्धान्तहरू कुनै सम्मेलन वा महाधिवेशनबाट जन्मिएका होइनन् ।

त्यसको विकासका लागि पार गर्नुपर्ने अलग्गै विविध आयाम छन् । दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा मौजूदा सिद्धान्तभन्दा फरक र नयाँ विषय अन्वेषण गरी त्यो प्रयोगबाट सिद्ध भई आम रूपमा स्वीकार गरिएपछि त्यो विचारधारा वा वादको रूपमा स्वीकृत हुन्छ । त्यसमा संसारलाई हेर्ने, बुझ्ने र बदल्ने नयाँ विश्व दृष्टिकोणहरू हुन्छन् ।

संसारका धेरै देशमा समाजवादी क्रान्ति गर्नुछ । त्यसका लागि तिनै देशका अन्तरविरोध र सापेक्षतामा नेता र जनताको योगदान रहन्छ । त्यसै अनुरूपको नयाँ तरिकाहरू अवलम्बन गरिनुपर्ने हुन्छ । तर हरेक देशमा त्यहाँको सापेक्षता प्रयोग गरिएको नयाँ तरिकाहरूकै आधारमा वाद वा विचारधारा जन्माउँदै जाने भन्ने हुँदैन ।

महाधिवेशनहरूले हामीले मार्क्सवादको वैचारिक धरातलमा उभिएर सम्पादन गरेका कामको समीक्षा र आगामी कार्यदिशाको लागि मार्गनिर्देशन भने अवश्यै गर्छ, गर्नुपर्छ । यसमा मार्क्सवादकै आधारभूमिका खुट्टा टेकेर नयाँ आइडियाहरूको विकास पक्कै गर्न सकिन्छ । त्यो महाधिवेशनको हलले व्यापक छलफल गरेर परिमार्जन गरेपछि कार्यक्रमको रूपमा कार्यान्वयनमा जाने हो । त्यसैले माओवादी केन्द्रको चालू महाधिवेशनबाट विचारधारा वा वाद केही पनि जन्मिनेवाला छैन । जन्मिन्छ भन्नु भ्रमको खेती हो, नाङ्गो दलाली हो र जन्मिने अपेक्षा राख्नु भ्रम मात्रै हो ।

मार्क्सवादी पद्धतिबाट समाजको रूपान्तरण र विकासका लागि गरिने राजनीतिक कार्य सम्पन्न गर्नका लागि यो खालको आर्थिक, सामाजिक राजनीतिक अन्तरविरोध र अवस्था रहेको देशमा यो–यो गरेपछि समग्र मानवमुक्तिको दिशामा अग्रसर हुने समाजवादी सामाजिक संरचनामा पुगिन्छ भन्ने गोरेटो मार्क्सवादले खनिदिएको छ । त्यसलाई देश, काल र परिस्थिति अनुसार कति फराकिलोे बनाउँदा आफ्नो देशमा आन्दोलन र परिवर्तनको कार्यभार पूरा गर्न सकिन्छ, त्यही गर्ने हो ।

आठ लेनको बाटो बनाएर तीव्र गतिमा दौडिनुपर्ने युगमा मार्क्सले उहिल्यै कोरिदिएको खाल्डाखुल्डी सहितको गोरेटोलाई हुबहु राखेर त्यही बाटोबाट गोरुगाडा चढेर अमेरिका जाने जस्तो जडसूत्रमा अल्झिन जरूरी पनि छैन । मूल गोरेटो मार्क्सवाद हो, त्यसलाई आवश्यकता अनुसार समृद्ध बनाउने कार्यभार हरेक युगका समाजवादी आन्दोलन र परिवर्तनका अनुयायीको काँधमा रहन्छ । नेपालको परिप्रेक्ष्यमा नेपाली समाज सुहाउँदो राष्ट्रिय समृद्धिको ढोका उघार्न सक्ने कार्यदिशा निर्माण र कार्यान्वयनलाई सफल बनाउन सक्ने ढंगले मार्क्सवादको उन्नत प्रयोग र विकास आवश्यक छ ।

अहिलेसम्म नेपाली समाज र विश्व वामपन्थी आन्दोलनमा मार्क्सवादको नयाँ–नयाँ प्रयोगबाट विकास गरिएका नयाँ–नयाँ तरिका र संश्लेषणहरूको आधारमा नेपालमा मार्क्सवादको प्रयोग र विकासबारे धारणा बनाउन जरूरी छ । त्यसले निर्दिष्ट गरेको पद्धतिलाई नेपाली समाजवादी यात्राको आन्दोलनमा मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गर्ने हो । वाद वा विचारधारा भन्ने कुरा एउटा पार्टीको महाधिवेशनमा अध्यक्षले दुई–चार दिन लगाएर लेखेको प्रतिवेदनमाथि आफूखुशी केही मान्छे भेला पारेर, वाचन गरेर त्यसको आधारमा केही मिनेट कुरा राख्न लगाएर निष्कर्षमा पुग्न सकिने विषय होइन ।

त्यसका लागि मिहिन अध्ययन, प्रयोगहरूको समीक्षा, विश्लेषण र संश्लेषणको आवश्यकता पर्छ । कमसेकम ६ महीना अगाडिदेखि सामग्रीहरू संकलन, सम्पादन र विश्लेषणका लागि एउटा टीम बनाएर काम गर्नुपर्छ । इतिहासको गम्भीर समीक्षा सहित आगामी दिनमा संसारलाई मार्गनिर्देश गर्न सक्ने सही विचार र राजनीतिक कार्यदिशा यो हुन सक्छ भन्ने एउटा अवधारणापत्र मस्यौदा गर्न लगाउनुपर्छ । त्यसलाई मूल नेतृत्वको टीम र खासगरी अध्यक्षले गहन ढंगले अध्ययन गरेर आवश्यक परिमार्जन सहित तल्लो कमिटीबाट चुनिएर गएका प्रतिनिधिहरूमाझ महाधिवेशनमा छलफलको लागि प्रस्तुत गर्नुपर्छ । अध्यक्षले हलमा प्रस्तुत गर्नुभन्दा कमसेकम एक हप्ताअघि प्रतिनिधिहरूको इमेलमा मस्यौदा प्रतिवेदन पठाउँदा मात्रै प्रतिनिधिहरू त्यो प्रतिवेदन अध्ययन र परिमार्जन गर्नका लागि आवश्यक सुझाव दिन सक्ने अवस्था रहन्छ । एकैदिनमा फरर्र पढिएको प्रतिवेदनमाथि लगत्तै सुझाव राख्ने काम भनेको बिरालो बाँधेर श्राद्ध गरे जस्तै हो ।

हरेक कम्युनिष्ट पार्टीका अध्यक्षहरूलाई मार्क्स, लेनिन वा माओकै हाराहारीमा राखेर महान् विचारक, संगठक र अद्वितीय कमाण्डरको पगरी गुताइन्छ । आन्दोलनको नेतृत्व गरिरहेको पार्टीको मूल नेता यस्तै भैदिए धेरै राम्रो कुरा हो । यो अपेक्षा राख्नु गलत होइन । तर एकै पटकमा एउटै व्यक्ति विचारक, संगठक र आन्दोलनको कमाण्डर बन्ने हैसियत नराख्न पनि सक्छ । त्यो तीनै चिज एउटै व्यक्तिमा भएको मान्छे पाइएन भन्दैमा आन्दोलनको पहलकदमी नै नलिने त ? भन्दा त्यसो पनि होइन । आन्दोलनमा फरक–फरक नेताले यी फरक भूमिका निर्वाह गर्न सक्छन् । अहिले प्रचण्डले बेलाबेलामा बाबुराम र किरणलाई सम्झनुले यसको पुष्टि हुन्छ ।

लेनिन कुशल संगठनकर्ता थिए । उनी उच्चकोटिका नीतिनिर्माता पनि थिए । राजनीतिक आन्दोलन परिचालनका हिसाबले उनी उत्कृष्ट रणनीतिकार पनि थिए । उनले आन्दोलनको मोड र त्यसका लागि आवश्यक संगठनको स्वरुप र परिचालनका तरिकाहरू विकास र कार्यान्वयन गरे । स्टालिनले त्यसलाई लेनिनवादको रूपमा स्थापित गरिदिए । माओले चीनमा आन्दोलनको नयाँ स्वरूपको विकास गरे, कुशल कमाण्डरको भूमिका निर्वाह गरे । तर उनलाई पनि वाद जोडेर देवत्वकरण गर्ने कोशिश गरियो । यो अनुयायीहरूको अगाध प्रेम हो वा अन्धोभक्ति ? जे भए पनि नेतृत्वलाई देवत्वकरण गर्न खोज्नु मार्क्सवादी विश्वदृष्टि अनुसार गलत नै हुन्छ । त्यसको निरन्तरतामा जुन्छे विचारधारा, गोञ्जालो विचारधारा हुँदै नेपालमा आइपुग्दा प्रचण्डपथसम्म भन्न भ्याइएको छ । स्वयं प्रचण्डलाई यसमा कत्तिको रुचि छ, त्यो उनले भन्ने कुरा हो । तर नेपाली माओवादी अनुयायीहरू प्रचण्ड विचारधारा हुँदै वादसम्म लेख्न अधीर रहेको यो महाधिवेशनमा प्रतिनिधिहरूको व्यक्त रिपोर्टिङबाट स्पष्ट भयो । यो सामन्तवादी चिन्तन, संस्कार र चरित्रको नाङ्गो स्वरूप हो । मार्क्सवादले विचारको संश्लेषण र केन्द्रीकरणलाई निषेध गरेको छैन भन्दैमा स्थापित नेतृत्वलाई देवत्वकरण गरेर समाप्त पार्ने अधिकार पनि दिएको छैन भन्ने कुरा भुल्नुहुँदैन ।

हामी अहिले देखिरहेका छौं, नेतृत्वले त्रुटि गरिरहेको हुन्छ, तर अन्धसमर्थकहरू ठीक हो अझै धेरै गर्नुपर्छ, यसै गरेपछि महान् भइन्छ भन्दै हुटिङ गरिरहेका हुन्छन् । नेतृत्व त्यतापट्टि फर्किन्छन्; सत्य र धरातल बिर्सिन्छन् । पतनको शुरुआत त्यहींबाट हुन्छ ।

नेतृत्वलाई देवत्वकरण होइन, असल नेताकै रूपमा काम गर्न दिनुपर्छ भन्नेलाई नेतृत्व विकासक्रममै रोक्ने, बहसको फोरममा प्रवेश गर्नबाटै वञ्चित गर्ने तर नेतृत्वको नाङ्गो दलाली गरिरहेका, जयजयकार गरिरहेका दलाल मानसिकता बोकेकाहरूलाई विभिन्न तिगडमबाजी गरेर रातारात नेतृत्वमा विकास पनि गर्ने र बहसको फोरमहरू यस्तै बुख्याँचाहरूले भरिभराउ गर्नुले कतै नेतृत्वमै आत्मप्रशंसा, देवत्वकरण र शक्तिपूजाको भोक जागृत भएको त होइन भन्ने आशंका पलाएको छ ।

कहाँबाट पलाउँछ ‘देउता’ बन्ने महत्वाकांक्षा ? आफू जन्मे–हुर्केको समाजको प्रभावले नै व्यक्तिमा यो महत्वाकांक्षा पलाउँछ । ज्ञानको समृद्धिले यो सुषुप्त रूपमा लुकेर बसेको हुन्छ । ज्ञानका कारण आएको जागृति र त्यसबाट पालना गर्नुपर्ने स्व–अनुशासनले त्यसलाई मस्तिष्कको पछिल्लो भित्तामा खुम्च्याएको हुन्छ । तर विजयी अवस्थामा, कसैले पनि आफूलाई हल्लाउन नसक्ने अवस्थाको अनुभूतिले त्यो महत्वाकांक्षा मस्तिष्कको अघिल्लो रोहमा आएर सक्रिय भैदिन्छ ।

धन, राजनीतिक सत्ता र शक्तिको उन्माद अत्यधिक बढेपछि मान्छेलाई देउता बन्ने लालसा जाग्ने रहेछ । किनकि सामन्तवादी समाजले जन्मजात सिकाएको विषय भनेकै सबैभन्दा शक्तिशाली भनेको देउता हो, देउतालाई युगयुग मानिसले पूजा गर्छन् । त्यसैले आफूलाई अमर बनाउन र युगयुग पूजा गराउन शक्तिशाली मानिसमा देउता बन्ने लालसा पलाउँछ । पहिला राजाहरूले आफूलाई भगवान विष्णुको अवतार भन्दै पूजा गर्न लगाए । अहिले त्यो रोग हाम्रा नेताहरूमा पनि पलाएको छ । बेलाबेलामा अन्धभक्त कार्यकर्ताले नेताको कीर्तन गर्दा नेता खुशी हुने र त्यस्ता कार्यकर्तालाई सर्लक्कै कुखुराको पोथीले चल्ला छोपेझैं संरक्षण गर्ने कार्यले यसलाई प्रमाणित गरेको छ । हतार–हतार मार्क्सवाद, लेनिनवाद, माओवाद झैं प्रचण्डवाद वा विचारधारा लेखेर फोटोमा धूप–दीप–नैवेद्य गर्ने रन्कोमा विचारशून्य धुपौरे कार्यकर्ता निरन्तर लागिरहेकै छन्, नेतृत्व त्यो मृगमरीचिकामा फसिरहेकै छ ।

संसार बदल्नु छ भने शुरुआत आफैंबाट गर्नुपर्छ भनेर मार्क्सले भनेको कुरालाई योगी विकासानन्द जस्ता ढोंगीले पनि आत्मसात् गरेर फरक ढंगले प्रयोग गरिरहेको देखिन्छ । तर मार्क्सवादीहरू परिवर्तन अरूको चरित्र र व्यवहारमा खोजिरहेका छन् ।

जसरी विचार र सही उपलब्धिको केन्द्रीकरण नेतृत्वमा गर्न खोजिन्छ, त्यसैगरी असफलता र पार्टीभित्र जन्मिएका गलत संस्कारको केन्द्रीकरण पनि नेतृत्वमै हुन्छ । त्यसको जवाफदेही पनि नेतृत्व नै हुनुपर्छ । नेतृत्वको बोली–व्यवहार, जीवनशैली, संगत, लवाइ–खवाइ, बसाइ, उठाइ, हिंडाइ, हाउभाउ, प्रस्तुति, भेटघाट र उठबस सबै कुराले स्वयम् नेतृत्वको मात्रै नभएर समग्र पार्टीप्रतिको धारणा बन्ने गर्दछ । विचार, सिद्धान्त, नीति, विधि, कार्यदिशा, योजना, आन्दोलन, संगठन सबै कुरालाई नेतृत्वको आचरणसँग जोडेर हेरिन्छ । नेतृत्वको टीम जनताले सहजै पचाउन सक्ने सर्वहारा जनसंस्कृति अपनाएको छ कि भन्ने एउटा, गर्ने अर्कै तर अरूलाई अर्ति मात्रै दिनेखाले छ भने त्यो नेता र उसले नेतृत्व गरेको पार्टीप्रति जनताको हेराइ–बुझाइ नकारात्मक हुन्छ ।

हामी निरन्तर आफूलाई ठीक छौं भनिरहेका छौं तर जनता पत्याइरहेका छैनन् । किनकि उनीहरू हाम्रो बोलीलाई होइन व्यवहारलाई नियालिरहेका छन् । त्यसैले चर्को स्वरले डंका पिट्दैमा कसैले पत्याउँदैन, समाजवाद आउँदैन । वस्तु र व्यवहारमा प्रकट नहुने विचार दर्शन मूलतः आदर्शवाद हो । विचार नीतिमा, नीति योजना–कार्यक्रममा र योजना कार्यक्रम सबैभन्दा पहिला नेता–कार्यकर्ताको जीवनशैली र व्यवहारमा प्रकट हुनुपर्छ ।

त्यसपछि मात्रै त्यो पार्टी सदस्य र जनताको स्तरबाट आत्मसात् गर्न सक्ने विचार, नीति, विधि र कार्यक्रम बन्नेछ । सामन्तवादी संस्कारमा चुर्लुम्म डुबेर व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न गुट–उपगुट बनाउने र त्यसैलाई जयजयकार गर्न लगाउँदैमा समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी पूरा गर्न सकिन्छ भनेर सोच्नु मूर्खता हो । यसै आधारभूमिबाट वाद वा विचारधाराको उद्घोष गरिनु अर्को महामूर्खता हुनेछ ।

(लेखक खड्का माओवादी केन्द्रको वागमती प्रदेश सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?